मालपोत कार्यालयमा ५० प्रतिशत कर्मचारी अभाव

इनेप्लिज २०७५ माघ २६ गते ११:५२ मा प्रकाशित

नवलपरासी, २६ माघ । पश्चिम नवलपरासीको परासीमा रहेको जिल्ला मालपोत कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा असर परेको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राहीको काम समयमै गर्न कठिन भएकोे कार्यालयका निमित्त प्रमुख ईश्वरचन्द्र अर्याल बताउनुहुन्छ ।

कार्यालयमा कर्मचारी अभाव हुँदा सेवाग्राहीले समय–समयमा गुनासो गर्दै आएका उहाँको भनाइ छ । कार्यालयबाट जग्गाको नामसारी, दाखिल–खारेजी, संशोधन, कित्ताकाट, अंशबण्डा, रजिष्ट्रेशनलगायत काम हुने गर्दछ । हाल कार्यालयमा प्रमुख मालपोत अधिकृतसहित करीब १६ कर्मचारी लामो समयदेखि छैनन् ।

कार्यालयमा कूल ३२ कर्मचारीको दरबन्दी रहेकामा अहिले प्रमुख मालपोत अधिकृत रिक्त छ । यसैगरी चार अधिकृतको दरबन्दी रहेकामा एक, आठ सुब्बामध्ये चार र १० खरिदारमा सात जना छन् भने लेखा अधिकृतसमेत रिक्त छ ।

जनशक्ति अभामा काम पूर्ण व्यवस्थित हुन नसक्ने, काम बिग्रिने, पूर्णरूपमा प्रमाण हेर्न नसकिने, मिसिललगायत अन्य कागजपत्र हेर्नका लागि समेत निकै समस्या हुने गरेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया