लिभिङ टुगेदर ६ महिनामा दोश्रो संस्करण

इनेप्लिज २०७५ माघ २५ गते २२:४२ मा प्रकाशित

नेपाली साहित्यका चर्चित साहित्यकार गोविन्द गिरी प्रेरणाको ६ महिनाअघि प्रकाशित उपन्यास “लिभिङ टुगेदर” को दोश्रो संस्करण काठमाडौंमा प्रकाशित भएको छ । यो उपन्यासको पहिलो संस्करण जापानको राजधानी टोकियोमा २७ जुलाईमा विमोचन सम्पन्न भएको थियो र काठमाडौंमा ५ अगस्तमा विमोचन सम्पन्न भएको थियो । उपन्यास वीएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो ।

विगत १४ वर्षदेखि अमेरिकाको वाशिंटन डिसी मेट्रो क्षेत्रमा वसोवास गर्दै आएका साहित्यकार गोविन्द गिरी प्रेरणा सर्वाधिक विधामा सिर्जना र प्रकाशन गर्दै आइरहेका छन् । “लिभिङ टुगेदर” साहित्यकार प्रेरणाको छैठौं पुस्तकाकार उपन्यास हो भने चौवीसौं प्रकाशित कृति हो । उनले कविता, कथा, उपन्यास, निवन्ध, व्यङग्य, नियात्रा, समालोचना, अन्तरवार्ता लगायत विधामा कलम चलाउँदै आएका छन् । यो उनको लेखन यात्राको ४०औं वर्ष हो । उनको पहिलो रचना वि.सं. २०३५ सालमा प्रकाशित भएको थियो भने वि.सं. २०४० सालमा पहिलो पुस्तक ” सुतेको समुद्र ” कथा सङ्ग्रह प्रकाशित भएको थियो ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य प्रेरणा अनेसास डिसी मेट्रो च्याप्टरका संस्थापक महासचिव तथा डिसी नेपाल च्याप्टरका पूर्व अध्यक्ष समेत हुन् । हाल उनी अमेरिका नेपाल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षका रुपमा रहेका छन् ।

ईनेप्लिजसँग कुरा गर्दै साहित्यकार प्रेरणाले पाठकहरुले मन पराएर ६ महिनामै दोश्रो संस्करण प्रकाशित हुनु खुशीको कुरा हो भन्दै आफ्नो लेखन यात्रामा ६ महिनामा दोश्रो संस्करण प्रकाशित भएको यो पहिलो घटना हो भन्नु भयो ।

“लिभिङ डुगेदर” उपन्यासमा काठमाडौंमा हाल मौलाईरहेको नयाँ संस्कृति लिभिङ टुगेदरलाई विषय वनाईएको छ ।

प्रतिक्रिया