घाँटीभरि भएका राता दागहरू

इनेप्लिज २०७५ माघ २० गते १४:४१ मा प्रकाशित

अर्जुन थापा,

प्रायः शोभा जहाँ गए पनि मलाई साथ नै लिएर जान्थी । कलेजमा हामी मिलेको देखेर सबैले दिदीबहिनी नै भन्थेँ । उनी तराईबाट थिइन् भने म काठमाडौँबासी । म कामको खोजीमा थिएँ । शोभा पहिल्यैदेखि खोइ कहाँ काम गर्थी ।

उनी खुल्ला मिजासकी, सबैसँग बोल्नुपर्ने थियो । कलेजमा पनि केटीहरूभन्दा केटाहरू नै उनीसँग बढी मिल्थे । सधैँ रमाइलो गर्नुपर्ने । पार्टी, पिकनिक तथा केही प्रोग्राम भयो कि उनकै नाम पहिला निस्कन्थ्यो । सायद त्यसैले पनि उनलाई यस्ता कार्यक्रममा कसैले छुटाउँदैनथे । तर म परेँ ठीक विपरीत । खोइ कसरी शोभा र मेरी दोस्ती भयो, मलाई पनि अचम्म लाग्छ । सबैलाई हँसाइराख्नुपर्ने मान्छे । हाम्रो तीन वर्षको दोस्तीमा मैले कहिल्यै शोभालाई अँध्यारो अनुहार पारेको देखेकी थिइनँ ।

उनी मलाई भन्ने गर्थी, “मलाई यी प्रेमस्रेममा त्यति विश्वास लाग्दैन र बिहेपछि पति मान्नु, छोराछोरीहरूलाई आफ्नो मानेर होमिनु मेरा लागि यो सबै असह्य हुन्छ । म त्यसो गर्न सक्दिनँ ।”

म उनको कुरा सुनिरहन्थेँ ।

“दुई दिनको जिन्दगीलाई खुलेर आफूले चाहेअनुसार जिउन पाउनुपर्छ । अरूले मेरो विचारलाई विरोध गर्लान्, तर मलाई यी समाजको सोचाइ, अरूलाई हेर्ने दृष्टिकोणमाथि घृणा लाग्छ । मलाई ती सब गर्न मन लाग्छ जुन समाजबाट वञ्चित छन् ।”

मैले उनको कुरा बुझिराखेको हुँदैनथेँ ।

छोराछोरीमा गरिने भेदभावप्रति सधैँ विरोध गर्थी । जे गर्दा पनि पहिला नै तोकिदिएको हुन्छ कि यो काम छोरा मान्छेको हो भनेर । “आफूलाई मन परिराखेको मान्छेलाई किन छाती ठोकेर हामी आइ लभ यु भन्न सक्दैनौँ ? किन केटाले भन्छ कि भनेर कुरी बस्नुपर्ने ? जसरी पुरुष सानो, खिरिली, कलकलाउँदी अझ भर्जिन पत्नी चाहन्छन्, त्यसै गरी नारीहरू पनि कलकलाउँदो, बलिष्ठ र कमलो स्वाद नै चाहन्छन् । सेक्स दुवैलाई चाहिने कुरा भए तापनि अझै किन पत्नी लोग्नेकै बाटो कुर्नुपर्ने यो समाजमा ? लोग्ने स्खलित भएपछि मुन्टो फर्काएर सुत्दा किन अझै आफ्नो सन्तुष्टि नभएको भन्न सक्दैनन् पत्नीहरू ? यौनको उपभोग गर्ने तर चर्चा गर्न हिच्किचाउने हाम्रो दरिद्र मानसिकता कहिलेसम्म ? कालो सुट र टाई लगाएर आफूलाई पढेलेखेका ठानेर ठूलाठूला नारीको उत्थान कुरा गर्दै हिँड्न तर बेलुका घर गएर हरेक कुरामा तल पार्ने ती पुरुषहरूप्रति घृणा लाग्छ मलाई ।” शोभा धाराप्रवाह भनिरहन्छे ।

“किन पुरुष सधैँ माथि, सेक्सदेखि हरेक कुरामा, किन पुरुष माथि ?”

मलाई शोभाका यस्तो कुरा सुनेर कहिलेकाहीँ डर पनि लागेर आउँथ्यो । यसले कुनै न कुनै दिन केही उपद्रो गर्छे भनेर । शोभा उसकोमा भन्दा मेरोमा धेरै बस्थी । घरमा पनि सबैले माया गर्थे । बुबालाई पनि तास खेल्नुपर्ने र शोभालाई पनि । उनीहरू घन्टौँ तासमा व्यस्त हुन्थे ।

“तिमीलाई थाहा छ । शोभाका डेरामा साँझपख प्रायः एउटा पुरुष देखा पर्छ । अनि रातितिर फर्कन्छ ।” शोभाकै घरछेउ बस्ने साथीले मलाई सुनाई ।

के अचम्म, शोभाको डेरामा परपुरुष । कति पटक उसकोमा बस्ने गरी गएकी छु तर कोही आएको देखेकी छैन मैले त ! सायद उसको घरबाट कोही आएका होलान् । बेकारमा अरूको खोजीनिती जस्तो लाग्यो मलाई ।

“हरेक कुरा मलाई सुनाउने शोभा, लभ नै गरेकी भए पनि मलाई त भन्नुपर्ने हो ।” मनमा एक प्रकारको कस्तोकस्तो खुल्दुली भइ नै राख्यो । “जेसुकै होस् भोलि सोधेर यो मन हल्का पार्छु ।”

“तिम्रोमा साँझसाँझ एउटा पुरुष देखा पर्छ भन्ने बजारमा व्यापक हल्ला चल्न थालेको छ नि !” म ठट्यौली पारामा सोध्छु ।
ऊ मरीमरी हाँस्छे । लाग्छ, उसलाई मेरो कुरा मानौँ केही होइन ।

“लुकीलुकी लभ गर्न थाल्यौँ जस्तो लाग्यो ।” म फेरि पनि हाँसेर नै भन्छु ।

“लभ, अरू कसले, मैले ? तिमी कुन प्रेमको कुरा गर्दै छौ ? फगत एक रातका लागि अगणित स्वार्थी चौताराहरू बनाउने र भत्काउने प्रेम ? लभ भनेको भ्रम मात्र हो । यौटा पागलपन । म यो भ्रमलाई च्यापेर यो छातीलाई चाल्नो बनाउन चाहन्न । मैले कसैलाई प्रेम गर्नु भनेको मात्र वसन्त फूलमा भमरा बस्नुभन्दा अरू केही होइन ।” ऊ फेरि हाँस्छे ।

कति विकृत छन् उनका प्रेमप्रति सोचाइहरू । कत्राकत्रा किताबहरू लेखिएका छन्, प्रेमलाई लिएर । लैला मजनु, हिर और राँझा, रोमियो एन्ड जुलियट, के फगत यौनका लागि त्याग गरेका थिए त ? अरूको के कुरा मेरा आफ्नै बाबुआमा नै छन्, उदाहरण लिनलाई । कति माया प्रेम छ अझै पनि ।

“तिमीलाई मेरा कुरा चित्त बुझ्दैनन् होला । मान्छेहरू जुन प्रेमका कुरा गर्छन् । केटाहरू गुलाफ बोकेर आइ लभ यु भन्दै हिँड्छन् । त्यो प्रेम होइन, इमोसन मात्र हो ।” शोभाको मोबाइलमा मेसेज आउँछ ।
ऊ एकछिन मेसेजको रिप्लाई दिएपछि ।

“यो जो इमोसन छ, त्यसका लागि मात्र दुई जना उमेरदार विपरीतलिङ्गी चाहियो र रात चाहियो ।”

“राति ज्यादै रमाइलो भयो जस्तो छ नि !” भन्दै शोभाको घाँटीभरि भएको टोकेको रातो दाग (लभ बाइट) देखाउँदै विवेकले भन्यो ।
विवेक हामी दुईकै कलेजको साथी थियो ।

शोभा झन् “कतिओटा रहेछ भन त ।” भन्दै देखाउन थाली ।

बरु मलाई लाज लागिराखेको थियो । हुन त यस्ता दाग पहिला मैले पनि नदेखेको त होइन, शोभाको घाँटीमा तर यही हो भनेर भन्न सकिराखेको थिइनँ । तर आजको घाँटीभरि भएकोले प्रस्ट भएको थियो ।

“राति बोक्सो आएर टोकिदिएछ ।” मज्जाले हाँस्न थाली शोभा र बाँकी सबै जना ।

“नानू, नानू तेरो बाबा अझै आउनुभएको छैन, फोन पनि लाग्दैन ।” भन्दै मेरो रुममा आमा आउनुहुन्छ ।

“काम प¥यो होला बेकारमा तपाईं पनि ।” भन्दै फोन थिच्न थाल्छु । घडीमा आठ बजिसकेको हुन्छ । बिस्तारै धडकनको गति बढ्न थाल्छ । बाबाको साथीहरूलाई फोन गरेर बुझ्न थाल्छु । मनमा अनेकौँ शङ्काहरू खेल्न थाल्छ । अब घरमै बसेर कुरा खेलाउनुको सट्टा शोभालाई लिएर बाबालाई खोज्नुप¥यो भनेर शोभाकोमा निस्कन्छु ।

लगभग सडक खाली हुँदै गएको थियो । अरू बेलाभन्दा आज स्कुटरको एक्सिलेटर ज्यादा बटारेर होला दस मिनेटमै पुगेछु ।

शोभाको कोठाको बत्ती बलेको देखेर, अझै सुतेकी रहेनछे जस्तो लाग्छ । ढोकाको चुकुल नलगाएको देखेर कस्तो केटी होली एक्लै, त्यसमा राति हुँदा पनि ढोका बन्द नगरेकी होली, भन्दै म सोझै भित्र पस्छु ।

बेडरुमबाट शोभाको स्वाँस्वाँ गरेको आवाज प्रस्ट सुनिराखेको थियो । नजिकै गएँ, अनि देखेँ— त्यहाँ मेरो बाबा र शोभा नग्न अवस्थामा । त्यही शोभाको रातो दाग भएको ठाउँमा अझ गाढा बनाइराख्ने प्रयासरत हुनुहुन्थ्यो बाबा ।

“म समाजले नपचाएको कुरा गर्न मन पराउने मान्छे ।” शोभाले भनेको कुरा सम्झँदै घर फर्कन्छु ।

प्रतिक्रिया