मिस नेपालको आयोजकले ज्ञानु राणाको सम्मानमा कार्यक्रम गर्ने

इनेप्लिज २०७५ माघ १६ गते २३:५६ मा प्रकाशित

विगत दुई दशकभन्दा लामो समय अगाडीदेखि मिस नेपाल नामक सौन्दर्य प्रतियोगिता गर्दै आईरहेको दि हिडन ट्रेजरले विगत तीन वर्षदेखि अविरल यात्रा शिर्षकमा भव्य सांगितिक कार्यक्रम पनि आयोजना गर्न थालेको छ भने यसै श्रृंखलालाई जोड्दै यो वर्ष गायिका ज्ञानु राणालाई प्रस्तुत गर्दै नगद एक लाख प्रदान गर्दै सम्मान सहित अबिरल यात्रा कार्यक्रम गर्ने भएको छ । संगीतकार राजु सिंहको परिचालनमा अविरल यात्राको तेस्रो संस्करणमा ज्ञानु राणाका स्वरमा सार्वजनिक भएका अन्दाजी २ सय गीतहरु मध्ये लोकप्रियता पाएका १४ गीतलाई समारोहमा प्रस्तुत गरिदैछ ।

केहि गीत सम्मानित व्यक्तित्व राणाकै स्वरमा गुन्जिने छन् भने केहि गीतमा गायकहरु महेन्द्रप्रेम श्रेष्ठ ,सुरजकुमार थापा र विकासजंग राणाको साथमा गायिकाहरु प्राश्ना शाक्य सरिता शाही र मिना निरौलाको प्रस्तुति रहने छ । माघ २२ गते प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा अर्केस्टा सहित आयोजना हुने यस कार्यक्रमलाई रुसलानले प्रायोजन गर्ने भएको छ ।

स्वर , संगीत र गायनमार्फत नेपाली संगीतमा अटुट योगदान पुर्याएर इतिहास बनाएका स्रष्टाहरुलाई जीवनकालमै सम्मान गर्ने संस्कृतिको विकासका लागि अनि पुराना सर्जकलाई नया‘ पुस्तासंग जोड्ने उद्देश्यवाट अविरल यात्रा आयोजना गरिएको कुरा दि हिडेन ट्रेजरका प्रमुख गोपाल सुन्दरलाल कक्षपतिले बताएका छन् । यसभन्दा अधिका संस्करणमा गीतकार यादब खरेल र संगीतकार दिपक जंगम प्रस्तुत तथा सम्मानित भैसकेका छन् ।

अबिरल यात्रालाई एक विशेष सांगितिक कार्यक्रमको रुपमा प्रस्तुत गरिने भएको छ भने यसपालि अबिरल यात्रामा ज्ञानु राणामा समर्पित सांगितिक प्रस्तुति रहनेछ भने कार्यक्रममा ज्ञानु राणाका गीतहरुलाई मीना निरौला,विकास जङ्ग राणा,महेन्द्र प्रेम श्रेष्ठ,सरिता शाही,सुरजकुमार थापा,प्राश्ना शाक्यलगायतका कलाकारहरुकासाथै ज्ञानु राणा स्वयंले सांगितिक प्रस्तुति पस्कने छन् । यस्तैगरी अबिरल यात्रा सांगितिक कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणाको जीवनका विविध पक्ष समेटेर लेखिएको अशोक सिलवालको “कण्ठमा कृष्ण”पुस्तक पनि सार्वजनिक गरीने कुरा आयोजक संस्थाका अध्यक्ष गोपाल सुन्दर कक्षपतिले बताउनु भएको छ ।

प्रतिक्रिया