ट्रान्सपरेन्सी इन्टरनेशनल भन्छ-नेपालमा भ्रष्टाचार बढ्याे

इनेप्लिज २०७५ माघ १५ गते ११:३६ मा प्रकाशित

काठमाडौँ, १५ माघ । विश्वभर भ्रष्टाचारको अवस्था सूचकांक प्रकाशित गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) ले नेपालमा गत वर्षभन्दा भ्रष्टाचार बढेको तथ्य सार्वजनिक गरेको छ।

नेपाल गतवर्ष सुशासनको अवस्थामा १२२ औं स्थानमा थियो। यो वर्ष खस्किएर १२४ औं स्थानमा झरेको छ। ट्रान्सपरेन्सी प्रतिवेदनअनुसार नेपाल सन् २०१७ र २०१८ भन्दा भ्रष्ट मुलुकको सूचीमा परेको हो।

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालसहितका मुलुकमा भ्रष्टाचार विरुद्धको अभियानमा संलग्नलाई असफल बनाउने प्रयासलाई प्रमुख चुनौती मानेको छ। ‘राजनीतिक स्थिरतापछि पनि सुधार नदेखिनु दु:खद हो,’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले भने, ‘राजनीतिक स्थायित्वपछि अब सरकारको पहिलो प्राथमिकता सुशासन हुनुपर्छ।’

सन् २०१८ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले गत वर्ष झैँ ३१ अंक पाएको छ। दक्षिण एसियामा भुटान २५ औं, भारत ७८औं, श्रीलङ्का ८९ औं, पाकिस्तान ११७ औं, मालदिभ्स र नेपाल १२४ औं, बंगलादेश १४९ औं, अफगानिस्तान १७२औं स्थानमा छन्। यो सूचीको चीन ८७ औं स्थानमा परेको छ।

नागरिक र सेवाग्राहीले व्यक्त गर्ने अवधारणका आधारमा तय गरिने भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इण्डेक्स–सीपीआई) सन् २०१८ मा नेपालका लागि ६ वटा संस्थाहरुले तय गरेका हुन्। विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाईट, बर्टेल्सम्यान फाउण्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) यसपटकको सर्वेक्षणमा सहभागी थिए

प्रतिक्रिया