राष्ट्र संघको स्थायी प्रतिनिधिमा राईको नाम अनुमोदन

इनेप्लिज २०७५ माघ १४ गते १२:३२ मा प्रकाशित

काठमाडौँ, १४ माघ । संसदीय समितिले संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि नियुक्तीका लागि सरकारले सिफारिस गरेका अमृतबहादुर राईको नाम अनुमोदन गरेको छ।

संसदीय सुनुवाई विशेष समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि सिफारिस राईको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी राईको नाम संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। गत पुस २७ गते बसेको मन्त्रिपरिषद बैठकले राईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि नियुक्त गर्न सिफारिस गरेको थियो।

बैठकमा राईले ठूला राष्ट्रहरुले हतियार खरिदका लागि गर्ने खर्च गरीबि, अभाव र भोकमरी अन्त्यमा प्रयोग गर्न आफूले संयुक्त राष्ट्र संघमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले साना राष्ट्रको पनि ठूला राष्ट्र सरहको सार्वभौम समानताको अधिकार प्राप्तिमा पनि आफूले सक्दो पहल गर्ने योजना पनि अघि सारे।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेका राईलाई राष्ट्रपतिले संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइमा आपत्ति जनाएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा संवैधानिक परिषदले विभिन्न आयोगका अध्यक्षमा सिफारिस भएका व्यक्तिहरूको व्यक्तिगत विवरणसहित सुनुवाइका लागि पत्र पठाएको थियो।

उक्त प्रक्रिया शुरु हुने बित्तिकै समितिमा रहेका कांग्रेस सांसदहरूले पक्रिया विपरीत भएको भन्दै आपत्ति जनाएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेता तथा संवैधानिक परिषद्का सदस्य शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको संवैधानिक परिषदको बैठकले नियुक्तिका लागि सिफारिस गरेको भन्दै आपत्ति जनाएका थिए।

संवैधानिक परिषद्को माघ ६ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेलको नाम सिफारिस गरिएको थियो। त्यसैगरी राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदीलाई सिफारिस गरेको संवैधानिक परिषद्ले मधेसी आयोगमा डा. विजय दत्तको नाम सिफारिस गरेको थियो।

थारू आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीलाई सिफारिस गरिएको थियो भने मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरिएको थियो।

प्रतिक्रिया