शुक्रबार, माघ ७ २०७८
काठमाडौं २०:२८
वासिङटन डिसी 09:43

युएईद्वारा नेपालसामु २५५ रनको लक्ष्य, ब्याटिङको तयारीमा नेपाल

इनेप्लिज २०७५ माघ १४ गते १२:१५ मा प्रकाशित

काठमाडौँ, १४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) ले २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आईसीसी एकेडेमी ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५४ रन बनाएको हो । खेलमा नेपालका करण केसीले व्यक्तिगत दोस्रो विकेट लिएका थिए ।

करणले सीपी रिजवानलाई पवेलियनको बाटो देखाएका हुन् । यसअघि छैटौं ओभरमा करणले चिराग सुरीलाई विकेटकिपर विनोद भन्डारीमार्फत क्याच गरेका थिए । करणबाहेक नेपालका कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी १–१ विकेट लिएका छन् ।

खराब सुरुवात गरेको युएईका मध्येक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो ।

पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले २ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङस खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।

आजको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाल जित निकाल्दै ऐतिहासिक सफलता पाउने योजनामा छ ।

नेपालले आज युएईलाई हराए पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्दै इतिहास लेख्नेछ । अघिल्ला दुई खेल सकिदा नेपाल र युएईबीचको सिरिज १-१ को बराबरीमा रहेको छ ।

अन्तिम खेल जित्ने टोलीले सिरिज आफ्नो पोल्टामा बनाउनेछ । एकदिवसीय सिरिजपछि नेपालले घरेलु टोलीसंग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

प्रतिक्रिया