नेपालको तीव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक : प्रधानमन्त्री

इनेप्लिज २०७५ माघ १४ गते ११:०७ मा प्रकाशित

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तीव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताएका छन् । चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर–कलंकी सडक हस्तान्तरण कार्यक्रममा सोमबार बोल्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना पुरा गर्नका लगि छिेमकी देशरुबाट बहुआयामिक रुपमा सहयोग लिनु परेको उल्लेख गरे ।

‘नेपालको विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनशायका साथ सहयोग गरेको छ । यसको म प्रशंसा गर्न चाहन्छु’, प्रधानमन्त्री ओलीले भने । हरेकदिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारलाई ढिलो गर्ने छुट नभएको टिप्पणी गरे ।

तीब्र विकासका लागि अवरोधको रुपमा रहेका ऐन, कानुन, नियम वा अन्यप्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । ‘तीव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस् । आवश्यकताअनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला’, ओलीले भने ।

 

प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध मानवीय मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको स्पष्ट पारे । ‘हाम्रो सम्बन्ध प्राचिन काल देखि हो । प्राकृतिक रुपमा हो । साँस्कृतिक रुपमा पनि हो’, उनले भने ।

नेपालका लागि चीनका राजदूत हु यांकीले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गरिन् ।

प्रतिक्रिया