निवन्धकार शङ्कर लामिछानेका रचनालाई युवामाझ लैजानुपर्ने

इनेप्लिज २०७५ माघ १० गते २२:३७ मा प्रकाशित

काठमाडौँ, १० माघ गते । साहित्यकार शङ्कर लामिछानेका रचनालाई युवामाझ लैजानुपर्ने इतिहासविद् एवं साहित्यकारले बताउनुभएको छ । लामिछानेको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आज आयोजित ‘युवा हेराइमा शङ्कर’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताहरूले लामिछानेका रचनाहरू ५० वर्षपछिका युवालाई समेत मिल्ने भएकाले उहाँका रचना युवामाझ लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा इतिहासविद् डा. सुरेन्द्र केसीले लामिछानेका कृतिलाई विश्वभर पु¥याउनका लागि अङ्ग्रेजीमा अनुवाद गर्नुपर्ने बताउनुभयो । शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले लामिछानेको व्यक्तित्व र उनका रचनालाई युवा निबन्धकारहरूमाझ लैजान सक्नुपर्ने बताउनुभयो । निबन्धकार युवराज नयाँघरेले अहिलेका निबन्धमा उहाँले लेखेका चिन्तनभन्दा नयाँ कुरा अहिलेसम्म नेपाली साहित्यमा नआएको जिकिर गर्नुभयो ।

लामिछानेले हृदय र मस्तिष्क दुवैलाई छोएर लेख्ने गरेको साहित्यकार रामप्रसाद पन्तले बताउनुभयो । साहित्यकार पवन आलोकले लामिछानेका रचनाले आफ्नोकालका मात्र नभई ५० वर्षपछिका युवालाई समेत मार्गदर्शन दिने खालका भएको उल्लेख गर्नुभयो ।

समालोचक ज्ञानु अधिकारीले आफूले लेख्नुभन्दा पहिले उहाँका कृति पढ्नुपर्ने बताउँदै त्यसले युवा लेखकलाई उर्जा दिने बताउनुभयो । कार्यक्रममा लामिछानेकी श्रीमती रत्ना गुरुङले लामिछानेको विरासतलाई जोगाउनुपर्ने जिम्मा युवा साहित्यकारहरूको बाँधमा आएको बताउनुभयो । शङ्कर लामिछानेको जन्म विसं १९८४ चैत ५ गते काठमाडौँमा भएको हो । वि.सं. २०३२ साल माघ १० गते उहाँको निधन भएको थियो । उहाँका ‘एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ र ‘विम्ब प्रतिविम्ब’ निवन्ध सङ्ग्रह, गौथलीको गुँड कथासङ्ग्रह, ‘गोधुली संसार’ लगायत कृति प्रकाशित छन् ।

प्रतिक्रिया