२६ अर्बपति र विश्वका ५० प्रतिसत मानिसको सम्पत्ति बराबर

यादवराज जोशी २०७५ माघ ७ गते २३:४१ मा प्रकाशित

विश्वका २६ अर्बपतिसंग विश्वका ५० प्रतिसत आममानिससंग भएजति सम्पत्ति रहेको गैरसरकारी संस्था अक्सफामले जनाएको छ । ति अर्बपतिसंग १४ खर्ब अमेरिकी डलर सम्पत्ति रहेको सोमबार सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । विश्वको ५० प्रतिसत जनसंख्या भनेको  तीन अर्ब ८० करोड हो ।

विश्वमा दुईहजार दुईसय आठ अर्बपति छन् । उनीहरुको सम्पत्ति प्रतिदिन दुई अर्ब ५० करोड अमेरिकी डलरको हिसाबले बढीरहेको छ । सन् २०१८ मा विश्वका अर्बपतिले नौसय अर्ब अमेरिकी डलर कमाएका थिए । बिगत एक दशकमा अर्बपतिको संख्या दोब्बर भएको छ ।

विश्वका यि अर्बपतिमा अमेरिकनको संख्या उल्लेख्य छ । अमेजनका जेफ बेजोस, माईक्रोसफ्टका बिल गेट्स, बर्कसायर हाथवेका वारेन बफेट, फेसबुकका मार्क जुकेरबर्ग चार अमेरिकीको सम्पत्ति तीनसय ५७ अर्ब छ ।

विश्व आर्थिक मञ्चको बैठक स्विटजरल्याण्डमा सार्वजनिक उक्त प्रतिवेदनले विश्वमा धनी र गरिबबीच आडल बन्दै गएको देखाएको छ । सरकारले आममानिसलाई विभिन्न कर लगाउने र धनी उधोगपतिलाई करमा छुट दिदाँ खाडल बढदै गएको हो ।

अक्सफामले अर्बपतिलाई थप एक प्रतिसत कर लगाउदाँ वर्षमा चारसय १८ अर्ब अमेरिकी डलर प्राप्त गर्न सकिने जनाएको छ । उक्त रकम ३० लाख बालबालिकालाई शिक्षा र स्वास्थ्य प्रयाप्त हुन्छ ।

विश्वका सबैभन्दा धनी अमेजनका जेफ बेजोसको सम्पत्तिको केवल एकप्रतिसत मात्र इथियोपियाको स्वास्थ्य बजेट छ । इथियोपियाको जनसंख्या १० करोड ५० लाख छ । विश्वमा प्रत्येक दिन स्वाथ्य सुविधा नपाएर १० हजार मानिसको मृत्यु हुने गर्दछ ।

सन् २०१७ मा ४३ प्रतिसत जनसंख्याको कुल सम्पत्ति बराबर विश्वका टप अर्बपतिसंगको सम्पत्ति थियो ।यो संख्या गतवर्षको तुलनामा सात प्रतिसतले बढेको हो । सन् २०१७ र २०१८ मा प्रत्येक दुई दिनमा एक अर्बपति थपिएका थिए ।

स्रोतः एजेन्सीहरु
तस्वीरः एपी

प्रतिक्रिया