फिक्कलमा कला शिविर सम्पन्न

इनेप्लिज २०७५ माघ ७ गते १२:३२ मा प्रकाशित

फिक्कल (सिन्धुली), माघ ७ गते । ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृङ्खलाको ‘पानोरमा भ्यु’ देख्न सकिने सिन्धुलीको फिक्कल टाकुराको प्रवद्र्धन गरी पर्यटक भित्र्याउने उद्देश्यसहित ‘फिक्कल कला शिविर–२०७५’ हालै सम्पन्न भएको छ ।

फिक्कल गाउँपालिकाद्वारा आयोजित कला शिविरमा कलाकारले गाउँगाउँ घुम्दै सुनकोशी जलयात्रा, जनजीवन, भूदृश्य र फिक्कलबाट देखिने हिमालय शृङ्खलाका २३ चित्रकला तयार पार्नुभएको थियो ।

चित्रकलामा हिमाल पछ्याउँदै आएका कलाकार अंशुराम खाइजु फिक्कलको टाकुरा चढेपछि आश्चर्यचकित हँुदै भन्नुभयो–“एकै ठाउँबाट उभिएर यति धेरै हिमाल देखेको थिइनँ ।”

शुक्रबार सम्पन्न उक्त छ दिने ‘फिक्कल कला शिविर’ मा छ जना कलाकारको सहभागिता रहेको थियो । फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार, कला शिविरमा अंशुराम खाइजु, मङ्गल प्रजापति, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्काको सहभागिता रहेको थियो ।

उपाध्यक्ष सुनुवारले फिक्कलको पर्यटकीय विशेषताको खोजी र प्रवद्र्धन गर्ने उद्देश्यसहित कला शिविर आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले फिक्कलको पर्यटन विकासमा प्याराग्लाइडिङ, जलयात्रा, पूर्वदेखि पश्चिमसम्मका हिमालको दृश्यावलोकन, जडीबुटी र कृषिलाई जोड्दै अगाडि बढ्न सकिने सम्भावना रहेको बताउनुभयो ।

पर्यटन प्रवद्र्धनमा तस्वीर र चित्रकलाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उपाध्यक्ष सुनुवारले भन्नुभयो–“कला शिविरमा तयार भएका चित्रकला र तस्बिरलाई राजधानीसहित देश विदेशमा लगेर प्रदर्शन गर्छौं । फिक्कलको प्रवद्र्धनमा यसले पक्कै सहयोग पुग्ने छ ।”

फिक्कलको पर्यटन प्रवद्र्धनका लागि सात तले ‘भ्यू टावर’ समेत बन्ने क्रममा छ । २०६८ सालबाट निर्माण थालनी भएको टावरलाई गाउँपालिकाकाले दुई वर्षगरी ७० लाख रुपियाँ विनियोजन गरिसकेको छ ।

विश्व प्रसिद्ध फिक्कल विकास संस्थाका अध्यक्ष प्रेम थापाले भन्नुभयो–“अबको छ महिनामा फिक्कलमा सात तले टावर निर्माण सम्पन्न हुन्छ । त्यसपछि हिमाल अझ राम्रोसँग देख्न सकिन्छ ।”

कला शिविरमा तयार पारिएका चित्रकलालाई प्रथम फिक्कल महोत्सव, २०७५ मा प्रदर्शनीका लागि राखिएको छ । महोत्सव यही माघ ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सव संयोजकसमेत रहनुभएका उपाध्यक्ष सुनुवारका अनुसार, समुद्री सतहबाट दुई हजार ३६८ मिटर उचाईमा रहेको फिक्कल टाकुराबाट सगरमाथालगायत हिमशृङ्खलालाई देख्न सकिन्छ ।

 

फिक्कल गाउँपालिका सदस्य चेतबहादुर विश्वकर्माका अनुसार, कला शिविरमा तयार फिक्कल झल्कने चित्रकला महोत्सवमा आकर्षण बनिरहेको छ ।
सगरमाथालाई आमनेसामने देख्न सकिने फिक्कलको पर्यटन प्रवद्र्धनका लागि कला शिविरको आयोजना गरिएको जानकारी दिँदै उपाध्यक्ष सुनुवारले भन्नुभयो–“आकाश खुलेको बेला तराईका भूभाग स्पष्ट देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको लोन्ली भ्यु गज्जबको देखिन्छ ।”

प्रतिक्रिया