राष्ट्रियसभा बैठकमा कांग्रेस सांसदको अवरोध

इनेप्लिज २०७५ माघ ७ गते १०:११ मा प्रकाशित

 काठमाडौँ, ७ माघ । नेपाली काङ्ग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको बताइन्छ ।

राष्ट्रियसभाको आजको बैठक शुरु हुने बित्तिकै नेपाली काङ्ग्रेसका सांसदहरू आआफ्ना आसनबाट उठेर विरोध जनाउनुभयो । विरोधका बीचमा काङ्ग्रेसका सांसद सरिता प्रसाईंले आफ्ना नेताका स्मृतिमा स्थापित ती दुई अस्पताल सञ्चालन गर्न किन सरकारले कुनै निर्णय नगरेको ? भनी प्रश्न गर्नुभयो ।

उहाँले नेपालको शान्ति प्रक्रिया, गणतन्त्र तथा नयाँ संविधान जारी गर्न गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले गर्नुभएको योगदानलाई कहीँ कतैबाट भुल्न नहुनेमा जोड दिँदै आफ्नो मागका बारेमा सरकारले सदनसमक्ष धारणा सार्वजानिक गर्न माग गर्नुभयो ।

यसपछि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल खारेज गर्ने निर्णय नभएको सदनलाई जानकारी दिनुभयो ।

उहाँले देशका विभिन्न नौ वटा अस्पताललाई सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको सदनलाई जानकारी दिनुभयो । नेपाली काङ्ग्रेसका सांसद सुरेन्द्र पाण्डेले विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गर्ने सरकारले नेकाका नेताका नाममा स्थापित भएका अस्पताल सञ्चालन गर्न किन निर्णय नभएको हो ? भनी प्रश्न गर्नुभयो ।

नेकपाका सांसद रामनारायण विडारीले प्रतिपक्ष उठ्ने र सत्ता पक्ष बस्ने यो कहाँको संसदीय परम्परा हो ? भन्ने प्रश्न गर्दै के कारणले बैठक अवरुद्ध भयो भनी प्रश्न गर्नुभयो । सोही पार्टीका डा विमला पौडेलले आगामी दिनमा सदनले धेरै विधेयक पारित गर्नुपर्ने अवस्था रहेकाले सदन अवरुद्ध नगर्न आग्रह गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नेपाली काङ्ग्रेसका सांसदलाई आआफ्नो स्थानमा आसन ग्रहण गर्न पटकपटक आग्रह गर्नुभएको थियो । आसन ग्रहण नगरेपछि उहाँले बैठक आजै आधा घण्टामा लागि स्थगित गर्नुभयो ।

प्रतिक्रिया