जनशक्ति अभावले अत्याधुनिक ‘मौसमी राडार’ सञ्चालनमा आउन सकेन

इनेप्लिज २०७५ माघ ४ गते १२:२२ मा प्रकाशित

सुर्खेत, ४ माघ । जनशक्ति अभावका कारण अत्याधुनिक प्रविधिको मौसमको पूर्वसूचना दिने राडार सञ्चालनमा आउन सकेको छैन । विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागले वीरेन्द्रनगर–१४ स्थित रातानाङला डाँडामा नेपालमै पहिलो मौसमी राडार स्थापना गरिएको हो । नमूनाका रूपमा नेपालमा पहिलोपटक निर्माण गरिएको सो अत्याधुनिक प्रविधिको राडारमा पर्दछ । राडार ११७ फिट अग्लो छ ।

जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले सङ्घीय संरचनाअनुसार वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयलाई कोहलपुर सारेपछि राडारको भविष्य पनि अन्यौलमा परेको बताइएको छ । मौसमविद्का अनुसार राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्नेछ ।

अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशनले विश्व बैंकको रु १७ करोड लागतमा नेपालको मौसम तथा जलसम्बन्धी अवलोकन कार्य प्रर्णालीलाई अत्याधुनिक एवं सुविधासम्पन्न बनाउन राडार स्थापना गरेको हो । राडारले प्रदेश पाँच, कर्णाली र सुदूपश्चिम प्रदेशको ३०० किलोमिटर दूरीसम्मको मौसमको पूर्वअवस्था बारे जानकारी दिनेछ । कम्पनीका नेपाल साझेदार स्टक–टू काठमाडौँका प्रतिनिधि ईश्वर गिरीले कर्मचारी र सुरक्षाको अभाव रहेको गुनासो पोख्नुभयो ।

नेपाल सरकारले दक्ष जनशक्ति र कार्यालयको व्यवस्थापनमा ढिलाइ गर्दा हाल निर्माण कम्पनीले नै अमेरिकामा मौसमी सूचना सङ्कलन गरिरहेको छ । दक्ष जनशक्तिसहित कम्तीमा ११ कर्मचारी आवश्यक पर्ने मौसमविद् बताउँछन् ।

विभागले अहिलेसम्म राडारको मुख्य केन्द्र कहाँ राख्ने टुङ्गो लगाउन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक समेत रहनुभएका मन्त्रालयका सहसचिव डा ऋषिराम शर्मा महँगा उपकरण र अत्याधुनिक प्रविधि जडान गरिएकाले यसको सदुपयोगका लागि ढिलाइ गर्न नहुने बताउनुहुन्छ ।

राडारले दिने सूचना छिटो ग्रहण गर्न कोहलपुरभन्दा सुर्खेतमै कार्यालय राख्न उपयुक्त हुने उहाँको भनाइ छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का प्राज्ञ डा मदनलाल श्रेष्ठ राडारबाट हवाई दुर्घटना न्यूनीकरणमा समेत मद्दत पुग्ने बताउनुहुन्छ ।

“मौसमसम्बन्धी सम्पूर्ण गतिविधि राडारले दिन्छ नै, हवाई दुर्घटना रोक्न पनि यसको महत्व उत्तिकै छ”, डा श्रेष्ठले भन्नुभयो, “उदाहरणका लागि जुम्ला र सुर्खेतमा मौसम सफा छ, तर हवाई मार्गका बीचमा के–कस्तो मौसम छ भन्नेबारे विमानस्थलको टावरलाई थाहा हुँदैन, यस्तो अवस्थामा सूचना लिने यही राडारबाट हो, यसले हवाई मार्गका बीचमा कहाँ कति बादल छ रु वा वर्षा के भइरहेको छ ? भन्ने स्पष्ट जानकारी दिन्छ ।”

सरकारले उदयपुरको उदयपुरगढी र पाल्पाको रिब्दिकोटमा पनि यस्तै प्रकारको मौसमी राडार राख्ने प्रक्रिया अघि बढाइसकेको छ । यहाँ निर्माण गरिएको राडार समुन्द्री सतहबाट दुई हजार २४४ मिटर उचाइमा अवस्थित छ ।

प्रतिक्रिया