प्राडा केसीलाई काठमाडौँ लगियो

इनेप्लिज २०७५ माघ ४ गते १२:१३ मा प्रकाशित

भद्रपुर, ४ माघ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान काठमाडौँ लगिएको छ ।

प्राडा केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई बताउनुभयो ।

यसैगरी सोही चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्नेलगायत मागसहित इलाममै विगत आठ दिनअघि आमरण अनशन बस्न शुरु गर्नुभएका विद्यार्थी विजय थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएकाले आजै लैजाने तयारी भइरहेको बताइएको छ ।

गए राति प्राडा केसीेसँगै अर्को एम्बुलेन्समा राखेर थापालाई पनि काठमाडौँ लैजान झापा ल्याइएकामा चन्द्रगढी विमानस्थल ल्याइपु¥याएपछि प्राडा केसीको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएकाले तत्कालै उहाँलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।

प्राडा केसीको स्वास्थ्य अवस्थाका कारण थापालाई पनि एउटै हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी सम्भव हुन सकेन । आज बिहान ३ बजेतिर झापा ल्याइएको अनशनरत थापालाई भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको छ ।

उहाँलाई पनि काठमाडौँ लैजानका लागि हेलिकोप्टर बिहान १० बजेतिर आउने झापाका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । अनशनरत थापालाई हाल प्राडा केसीको उपचार भइरहेको काठमाडौँस्थित शिक्षण अस्पताल नै लगिने थापाका निकट सहयोगी पुष्प भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया