जीवन सोचे जस्तो सरल रेखामा नहिड्ने रहेछ – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७५ माघ ३ गते १०:११ मा प्रकाशित

जीवनको परिभाषा अनेक हुन सक्छन् र जीवनका भोगाई पनि हरेकका आ-आफ्नै छन् । वास्तवमा सतहमा देखिने जीवन र वास्तविक व्यवहारिक जीवन अलग हुने हुन्छ । आज यस्तै जीवनको भोगाई र अनुभवको संक्षिप्त चर्चा गर्न यो स्तम्भकार उपस्थित भएको छ ।

संभवत कतिपयलाई अग्रिम जानकारी हुनसक्छ मेरो व्यक्तीगत जीवन र अमेरिकाको मेरा भोगाई बारे किनकी मैले निरन्तर करिव २ बर्ष धाराप्रवाह यस्ता कुराहरु आलेख एवं फेसवुक स्टाटस मार्फत अपडेट गरेको छु तर करिव एक बर्ष जति भयो म आलेख लेखनबाट केही टाढा भएको छु जसका आफ्नै कारणहरु छन् जसबारे उल्लेख गर्नु सान्दर्भिक नहोला । जे होस्, म एक खुल्ला किताव हुँ जसबारे जसले पनि सहजै पढ्न सक्छ र पढेको पनि छ ।

हो म यो सपनाको देश अमेरिका आएको करिब १० बर्ष हुन थाल्यो र यहाँ आए देखि मेरा दिनहरु सबैको जस्तो सहज बनेनन् र अझै बन्न सकेका छैनन् । म नेपाल देखि ढाड दुख्ने समस्याबाट ग्रस्तनै थिए, झन् यता आए पछि शुरुमै ओरलाण्डो फ्लोरिडामा बेभरेज स्टोरमा ठुलठुला कन्टेनर( Keg)मा बियर सप्लाई गर्नु पर्ने ठाउँमा करिब ६ महिना काम गर्नु पर्दा झनै पुरानो ढाड दुख्ने बीमार बढ्यो । त्यसो त गाडीको लाईसेन्स लिएकै ४ दिन पछि भएको भयंकर दुर्घटना, स्टोरमा भएको लुटेराको आक्रमण आदी कारणले गर्दा बाल्टिमोर मेरिल्याण्डमा फ्लोरिडाको ९ महिने बसाई लगतै बसाईसराई गरे । अनि शुरु भयो फेरि रात्रीकालिन ग्याँस स्टेशनको काम, त्यहाँ पनि रातको समयमा स्टोरमा बाहिरबाट लुटपाट गर्न प्रयास गर्दै ग्याँसस्टेशनको काउण्टर पछाडी तोडफोड भएपछि केही समय काम नगरि बसेर अर्को ग्याँस स्टेशनमा काम गर्ने क्रममै एकदिन रात्री भएको भयभीत हुने गाडी दुर्घटनाबाट झण्डै झण्डै ज्यान जोगाउन सफल भएको अवस्था र त्यो दुर्घटना पछि निम्तिएको घटनाक्रम अनि त्यसको परिणाम बारे यहाँ उल्लेख गरेर संभव छैन जुन अत्यान्तै पीडादायक एवं मानसिक तनाव दिने किसिमको थियो जसलाई म सार्वजनिक गर्न चाहिन ।

त्यस पछि पनि निरन्तर रातमै ग्याँस स्टेशनको काम गरेर ढाड दुखाई सहेर करिव ३ बर्ष पछि (नेपालबाट अमेरिका आएको ) नेपाल गएर चेकअप गर्दा ढाडमा नशा च्यापिएका कुरा जानकारीमा आएको र लेजरथेरापी उपचार विधी समेत करिव ३ महिना जति गरेर अमेरिका फर्के । अमेरिका फर्कै लगतै ढाड दुख्ने क्रम जारीनै रह्ये र करिब एक बर्ष पछि परिवार नेपालबाट आएपछि काम पनि परिवर्तन भयो अर्को ग्याँस स्टेशनमा (दिउँसोको काम) र पहिला भन्दा केही बढी काममा खटिनु पर्ने भयो अनि कुलर भर्ने देखि अरु थप सरसफाईका काम गर्नु पर्ने साथै स्टोर पनि व्यस्त भईरहने कारण थप ढाडको दुखाई बढ्यो । त्यतिबेला हेल्थ ईन्सुरेन्स भएको कारण डाक्टरलाई देखाएर उपचार गर्न थाले, जाँचपडताल अनि फिजियोथेरापी, ईनेजेक्शन लगाउने काम भयो तर यसबाट कुनै राहत महशुष भएन बरु अझै ढाड तथा दुवै खुट्टा निकै दुख्न थाल्यो र जतिसुकै पेनकिलर खाँदा समेत नभएपछि बाध्य भएर सेप्टेम्बर २०१५ मा ढाडको सर्जरी गरे । यद्दपी यो सर्जरीबाट कुनै फाईदा भएन अर्थात् ढाडको दुखाईका साथै दायाँ खुट्टामा दुखाई एवं पैतला लाटो हुने झमझमाउने, निकै भारी हुने, हलचल गर्न समस्या आउने भयो । त्यसपछि अरु थप डाक्टरको सेकेण्ड ओपिनियन लिने काम गरे र अन्तमा पुन: अक्टूबर २०१७ मा ढाडको सर्जरी गरे, यी दुवै सर्जरी लम्बर फ्युजन सर्जरी थिए जसमा ढाड भित्र स्पाईनल कर्डमा ८ वटा स्क्रु जडान गरेर डिस्कमा फ्युज गर्ने काम भएको छ ।

यति गर्दा समेत अझै मेरो ढाडको समस्या ठिक नभएर झन् उल्टो ढाड र खुट्टामा समस्या बढेको छ । यस बीचमा २/३ पटक सानातिना गाडी दुर्घटना पनि नभएका होईनन् तर यिनै कारणबाट झन् समस्या आए नआएको पत्तो चलेन । यद्दपी आजकल निकै समस्या बढि रहेको छ, बिशेषगरि दायाँ खुट्टा निकै कमजोर भएको छ, दुखाई निकै बढि छ तर बिडम्बना डाक्टरकोमा देखाउँदा खासै संवेदनशील भएर सही उपचार गर्न लागेको देखिदैन । त्यसो त अहिले झनै हेल्थ ईन्सुरेन्स पनि परिवर्तन भएका कारण पहिला सर्जरी गर्ने डाक्टर सामु उपचार गर्न जान पाएको छैन । आजै मात्र नयाँ ईन्सुरेन्स अन्तर्गत उपचार गर्न गएको स्पाईनल सर्जन मेरिल्याण्डमा नभएको र डि.सी. मा जानु पर्ने भनि प्राईमेरी डाक्टरले रिफर गर्यो किनकी उनीहरुको अस्पताल नेटवर्क बाहिरको डाक्टरलाई देखाउन नमिल्ने र मेरिल्याण्डमा न्युरोसर्जन उक्त ईन्सुरेन्स कम्पनीको नभएको डाक्टर बताई रहेको थियो । यो सुन्दा मलाई अचम्म पनि लागीरहेको थियो, यति धेरै उपभोक्ताले उपयोग गर्ने हेल्थ ईन्सुरेन्स कम्पनी अनि यति ठुला ठुला अस्पतालमा जाबो एउटै पनि स्पाईनल न्युरो सर्जन नहुनु कति सम्मको नमिल्दो कुरा होला ? अन्तत: मैले चुपचाप डि.सी. एरियाकै डाक्टरको नाम, ठेगना र अस्पतालको नाम, फोन नंबर भएको पर्ची बोकेर फर्के, अरु उपाय देखिन हाललाई ।

यी माथीको संक्षिप्त कथा भित्र धेरै व्यथा छन् जसलाई बर्णन गरेर यो सानो आलेखमा संभव छैन तर केही कुरा उल्लेख नगरे यो आलेख लेखनको औचित्य पनि नहुने हुँदा केही कुरा उल्लेख गर्नु आवस्यक ठाने । पहिलो कुरा त म ३ बर्ष भन्दा बढि काम नगरि बसेको छु र मैले अशक्त लगायतको कुनै सुविधा पाउन सकेको छैन । एकपटक “सोसियल सेकुरिटी “ कार्यालयमा अशक्त भत्ता( डिसाबिलिटी बेनिफिट) सुविधाको लागी आवेदन दिएको थिए तर आवेदन खारेज भयो अर्थात् approve भएन । किन भएन, के कुरा पुगेन वा कुन दायरा पुग्नु पर्ने जानकारी भएन । अरुनै ठाउँमा आवेदन दिनु पर्ने थियो की यसबारे मलाई जानकारी छैन र कसैबाट यसो गर भनेर पनि सुझाव पाईन । धेरैजसो स्थानीय नेपाली समुदाय, संघसंस्थाहरुलाई मेरो अवस्थाबारे जानकारी नभएको होईन तर कतैबाट यसो यसो गर सरकारी सुविधा मिल्छ भनेर कसैले मलाई सुझाव दिएका छैनन् । म अहिले सम्म नितान्त मेरो श्रीमतीको पाखुराको भरमा दैनिकी चलाई रहेको छु । सायद मेरो भगवान भनेकै प्रदेशमा उनै हुन् किनकी उनी बेगर म एक कदम चल्न सक्ने स्थिति छैन । हुनत पहिलो पल्ट सर्जरी हुँदा म निकै आत्तिएर फेसवुकमा सहयोगको लागी अपील गरे अनि मलाई नजिकबाट चिन्नेहरुबाट सहयोग पनि पाए जुन सहयोग मलाई एकातर्फ राहत भयो अर्को तर्फ परिवारजन अनि आफन्तहरुबाट म तिरस्कृत हुने माध्यम पनि बन्यो ।

तसर्थ पछिल्लो समय दोस्रो पटक सर्जरी हुँदा मेरा नजिकका मित्रहरुबाट सहयोग उठाउन पहल गर्दा मैले ईन्कार गरिदिए । मलाई आजकल एउटा मात्र चिन्ता छ, के साँच्चिकै मेरो उपचार संभव छैन ? वा संभव भएर पनि उचित डाक्टर सम्म पुग्न सकिरहेको छैन ? अनि के म अशक्तको दायरामा पर्दिन ? वा पर्छु भने कहाँबाट सुविधा पाउँछु किनकी काम गरुन्जेलसम्म मैले राज्यलाई कर तिरेको छु र यही देशको नागरिकता समेत मुटुमा मु्ड्की ठोकेर लिएको छु । अव तमाम कथा, व्यथा कता सुनाउने ?

यसैले मैले पटक पटक लेखे नेपाली संघसंस्थाको नाममा “ सूचना केन्द्र स्थापना गर” र नेपालीजनलाई विदेशमा आवश्यक सही सूचना देउ जुन तिम्रो दुईचार डलर सहयोग भन्दा महत्वपूर्ण हुन्छ भनेर तर यसलाई कहिकतैबाट सम्बोधन भएन किनकी उनीहरुलाई के थाहाँ सर्वसाधारणलाई पर्ने अनेक पीडाहरु के कस्ता छन् भनेर । यसैले आजकल म कुनै सामाजिक संघसंस्थामा यसो हुनुपर्यो, यसो गर्दा राम्रो हुने थियो भनेर लेख्न र बोल्न छोडे किनकी सर्वसाधारणको बोलीलाई घाममा सुकाउने प्रवृति यताको मात्र नभएर नेपाल देखिकै चलन हो । हामी एक देशबाट अर्को देश त पाईला सार्यौ तर व्यवहार र सोच भने पुरानै बोकेर हिड्यौ । अत: सामाजिक सेवा गर्ने हो र सर्वसाधरणको सारथी बन्ने हो भने सर्वसाधारणको समस्यासँग घुलमिल भएर समाधानको मार्ग देखाउन लागी परौ किनकी समाजसेवा कठिन कर्म हो र अपजस आउने क्षेत्र पनि हो । तसर्थ अपजस सहेर पनि सर्वसाधारणको समस्या र घाउँमा मलम, पट्टी लगाउन सक्ने सामार्थ्य हुनेहरु अगाडी आउ, तिमीहरुमा दम्भ हैन सहयोगको भावना हुनसके तिमीहरुलाई सर्वसाधारणले भगवान सरह स्मरण गर्ने छन् नत्र चुपचाप बस सर्वसाधरण जसोतसो आ-आफ्नै ढंगबाट लड्दैपड्दै विदेशीभुमिमा अघि बढ्ने छन् ।

अन्तमा म जस्ता हजारौको पीडा आ-आफ्नै होलान् कति बाहिर आएका होलान् कतिपय आफैमा सिमित होलान्, जे होस्- नेपाली संघसंस्था यस्ता बनुन् जसमा सर्वसाधारणले हरेक समस्या बारे समाधानको बाटो खोज्न सहयोगी माध्यम बनाउन सकुन् । हामीलाई भाषण र खादा हैन पीडामा बचन र विश्वासको मलम चाहिएको छ । प्रदेशमा समेत गाउँघरको छिमेकीको सरह भरोसा र अभिभावकत्व गर्न सक्ने सामाजिक संघसंस्था चाहिएको छ । सबैको जय होस् !

प्रतिक्रिया