नेशनल मुभमेण्ट र नागरिक समाजले पृथ्वी जयन्ती मनायो पृथ्वी नारायणलाई नमाने अरु कसलाई मान्ने ?: पाण्डे

इनेप्लिज २०७५ पुष २७ गते २२:५९ मा प्रकाशित


काठमाडौं पुस २७ । देश विदेशका विभिन्न ठाऊँमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौंको बुढानिलकण्ठमा नेशनल मुभमेण्ट र नागरिक समाजको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर श्री उद्धव खरेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।

प्रमुख आतिथिको वक्तव्य दिँदै नगर प्रमुख खरेलले पृथ्वीनारायण शाहले बाइसेचौबीसे राज्यलाई एकिकरण गरेर नेपाल नबनाइदिएको भए अहिले हामीले नेपाली भन्न पाउँथ्यनौ । कसैले भने पनि नभने पनि हामीले पृथ्वीनारायण शाहलाई भुल्दैनौं, उहाँको योगदानको कारणनै हामी अहिले गर्वका साथमा नेपाली हुन पाएका हौं भन्नु भएको छ । ईतिहास भुल्न नहुने कुरामा उहाँको जोड् थियो । पृथ्वी नारायणका दिव्योपदेशहरू हामीले मनन् गर्नुपर्छ त्यसले भावी पुस्तालाई पनि मार्गदर्शन गर्न मद्दत मिल्छ मेयर खरेलको धारणा थियो ।

नेशनल मुभमेण्टका अभियन्ता पदमराज पाण्डेले नेपालीले पृथ्वीनारायण शाहलाई विर्सने हो भने नेपालमा सम्झन लायक अरु कोही पनि नभएको बताए । यदि अन्य व्यक्तिहरूलाई सम्झनु पर्छ भने त्यहाँ सबैभन्दा पहिला पृथ्वीनारायण शाहलाई सम्झनुपर्छ, पाण्डेको धारणा थियो । विश्वभर वीर गोरखालीको पहिचानले नेपाली चिनिनुको पछाडि पृथ्वीनारायण शाहको देन रहेको, चारजात छत्तिस्वर्णको साझा फूलवारी भन्ने उहाँको दिव्योपदेश जस्तो समावेशी नीति अरु कुनै नभएको पाण्डेको भनाई थियो ।

सशस्त्र प्रहरीका पूर्व एआइजी रोहित थापाले पृथ्वीनारायणले एकिकरण गरेको नेपाल अहिलेको भन्दा विशाल थियो, उनले देशको एकिकरण मात्रै गरेका होइनन् कि सधै एकिकृत रहिरहोस् भन्ने हेतुले दिव्योपदेश पनि दिएर छोड्नु भएको हो । देश बिगार्ने भनेको घुस लिने र दिने दुबै हुन् यिनको त जिऊ नै लिए पनि पाप लागन्या छैन भन्ने उहाँको उपदेशलाई जनताले चरितार्थ गर्न पर्ने बेला आएको बताउनु भयो । कार्यक्रममा विश्वजित देउजालगायतले मन्तव्य तथा कविता वाचन गरेका थिए ।

सरकार एवं मन्त्रीकै पक्षबाट भ्रष्टाचार मौलाएर जाने, देशमा हत्याहिंसा, बलात्कार जस्ता घटना दिनानुदिन बढ्दै जाने भइरहेको स्थितिमा पृथ्वीनारायण शाहको जन्मजयन्तीको सन्दर्भ जुट्न जाँदा धेरैले उनको दिव्योपदेशको साथमा उनलाई सम्झना गरे । भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अत्याचार, गुण्डागर्दी जस्ता कामलाई पेशा बनाएको सरकार तथा राजनीतिक क्षेत्रले पृथ्वी नारायणको जयन्ती तथा दिव्योपदेशलाई वेवास्ता गरे पनि नागरिकको तर्फबाट भने आस्था बढ्न थालेको पाइएको छ ।

प्रतिक्रिया