मामाले दक्षिणा दिन बिर्सिदिदां

सुशील निरौला २०७५ पुष २६ गते १:२७ मा प्रकाशित

सानो उमेरमा मामाघर जाने भन्ने कुराले कसलाई उत्साहित नवनाउला र । जव माईजुले गर्नु हुने माया र मेजमानी ।हिडने वेला मामाले दिनु हुने दक्षिणा। सम्भवत सानामा मावल जान यीनै कुराले अग्रसर गराउँदथ्यो होला सबैलाई ।

शान्तिनगर मेरो मावली, हुन त मेरो मावली चन्द्रगढीमा पनि थियो तर शान्तिनगर मावली जाने भने पछि वढी नै उत्साहित हुने गर्दथियौ ।सायद चन्द्रगढीको मावल सधैं जस्तो जाईन्थ्यो । मावली दाई मेरो दौंतरी पनि भएकोले होला । तर शान्तिनगर जान भने बर्षमा एक दुई पटक मात्र अवसर आँउथ्यो । त्यस्तो अवसर हामी खेर जान दिदैंनथ्यौ ।

खल्तिमा दुई रुपैया भए पछि चन्द्रगढी देखि विर्त्तामोड सम्म र विर्ता देखि धुलावारी सम्मको बस भाडा पुगि हाल्थ्यो । धुलावारीवाट दुई घन्टा हिडेपछि मामाघर पुगिहालिन्थ्यो ।फर्कदा मामाले दिने दक्षिणा हुने नै गर्दथियो ।साथमा पैसा नहुदां दुवागढी ज्यामिरगढीको वाटो हुदै हिडेरै भए पनि जाईन्थ्यो ।

यकिन संझना त छैन तर ८/९ कक्षा पडदा तिरको हुनु पर्दछ । दौतरी दाई र म स्कुल विदाको अवसर पारेर शान्तिनगर जाने भयौ ।धुलावारी सम्म बसमा त्यसपछि हिडेर साँझ मामाघर पुगियो । पुगे पछि माइजुको मेजमानीमा रमाईयो । सायद घडी चरोको तिहुन पाकेको थियो जस्तो लाग्छ ।त्यसका अलावा ध्यु, दुध, दही मोहीको त कुरै भनिरहनु नपर्ने ।

माईजुको बिषेशता के भने जति खेर पुगेको होस र जतिखेर मामाघरवाट हिडने समय परेको होस । दाल भात तरकारी तुरुन्तै तयार भएको हुन्थयो । विहान सवेरै ६ बजे नै हिडदा किन नहोस् भात नखाई हिडेको याद छैन ।

सायद २/३ दिन मावल वसियो होला त्यो पटक । माईजुको मेजमानमा कुनै चुक रहेन ।

अर्को मावली दाई जो पनि हाम्रो दौतरी नै थियो , त्यसले आफु समेत हामीलाई बन्दै गरेको झापा ईलाम राजमार्गको करिव ८/१० कि.मी. ग्राभेल वाटोमा खाली खुट्टा हिडाएर दुख: दिएको थियो । त्यो कथा छुट्टै अरु कुनै दिन उल्लेख गरौला । आजलाई मुल विषय तिर नै लागौ ।

मामाघरको बसाई सकिएर घर चन्द्रगढी फर्कने दिन पनि आयो । विहानै माईजुले खाना तयार गरि सक्नु भएको थियो । खाना खाएर जव हिडने वेला भयो तव वालसुलभ स्वभाव अनुसार मामावाट पाउने दक्षिणाको आश गरिने नै भयो । तर किन के भएर हो अब हामी हिड्यौ भन्दा पनि मामाको कन्तुर खुलेन । चन्द्रगढी पुग्ने खर्च छैन भनेर माग्ने आँट न त मलाई आयो नत दाईलाई नै ।

हामी मामाघरवाट त हिड्यौ तर चन्द्रगढी पुग्ने कसरी? हामीसंग कति पैसा छ भनेर हेर्दा मसंग ७० पैसा रहेछ । दाईसंग त्यस्तै एक रुपैया र चानचुन पैसा । त्यतिले त दुवै जना चन्द्रगढी पुग्न सकिने छाँट थिएन ।

टिम्माई बगरवाट दुईटा वाटा छुटृिईन्थे । एउटा सिधै धुलावारी जान्थ्यो अर्को अय्यावारी ।म सिधैं धुलावारी जाउँ भन्ने । दाई चैं अय्यावारी तिरवाट जाउँ । आज अय्यावारी मै बसेर भोली चन्द्रगढी जाने उपाय निकालौला भन्न थालो । मलाई अय्यावारी बस्ने मन थिएन । वरु धुलावारी पुगेर केही नलागे दाजुको घर (ठुलो वुवाको छोरा)मा बसेर भोलिपल्ट विहानै ज्यामिरगढीको वाटो हिडेर जाने मन वनाए । अन्त्यमा अय्यावारी हुदै जाने र दाईलाई त्यहाँ छोडेर म धुलावारी तिर लाग्ने भनेर अय्यावारी तिर लाग्यौ ।
धुलावारी वाट विर्ता सम्म भाड़ा ८५ पैसा (विध्धार्थी सहुलियतमा ) लाग्दथियो । मसंग ७० पैसा मात्र भएकोले दाईले १५ पैसा दियो । जसले मलाई विर्तासम्म पुग्ने बसभाडा पुग्ने थियो ।अझै पनि चन्द्रगढी पुग्ने अनिश्चितता नै थियो ।

अय्यावारीमा दाईलाई छोडेर म लुखुरलुखुर धुलावारी तिर लागे ।धुलावारी बजारवाट बसस्टप तिर लाग्दै थिए । कतै वाट आवाज़ आयो । ए भान्जा कता हिडेको ? फर्केर हेरेको त अर्का मामा चिया दोकानमा चिया खादै हुनुहुदोरहेछ ।

चन्द्रगढी जान लागेको मैले भने ।

मलाई पनि लाने हो त? मामाले सोध्नु भयो । फिस्स हाँसे मात्र । मन मनै भने आफु जान त पुग्ने बसभाडा छैन । यीनलाई कसरी लानु ।

म पनि चन्द्रगढी जान लागेको संगै जानु पर्छ । बस यहाँ एकछिन भनेर चिया खाजा खुवाउनु भयो ।
त्यसपछि मामासंगै रिक्सा चडेर बसस्टप तिर लागियो । बस भिड़ थियो । मामा अलिक पछाडी म अलिक अगाडी पटृी थिए । मनमा डर लागिराखेको थियो । कन्डक्टरले भाडा मागो भने के गर्ने । एक जनालाई विर्तासम्म पुग्ने मात्र भाडा आफुसंग छ। तर कन्डक्टरले मसंग माग्नु भन्दा पहिले नै मामाले हामी दुई जनाको भनेर भाडा तिर्नु भयो । त्यसपछि ममा अलिकति साहस आयो । अब विर्तावाट त चन्द्रगढी पुग्न चाहिने पैसा मसंग छदैथियो । तर त्यो पनि मैले तिर्नु परेन ।

उता हामी हिडेको १० मिनेट पछि नै मामालाई आफुले दक्षिणा दिन बिर्सिएको याद भएछ । तुरुन्त हामीलाई दिनु भनेर कसैलाई दौडाउनु भएछ । उ पनि टिम्माईको वगर सम्म आएछ । हामी त्यहांवाट अगाडी बढीसकेका थियौ । उ धुलावारी कि अय्यावारी कता गए भन्ने दुविधामा वगर वाटै फर्किएछ ।

त्यो घटनाले मलाई एउटा राम्रो शिक्षा दियो । अरुको आशमा कहिल्लै नहिडनु । त्यो शिक्षाको अनुशरण आज सम्म पनि गरिरहेको छु । जसले मलाई जीवनमा कहिल्लै पनि फेरी त्यस्तो परिस्थितिको सामना गर्नु परेन ।

प्रतिक्रिया