विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण

इनेप्लिज २०७५ पुष २३ गते ७:५४ मा प्रकाशित

बनेपा, पुस २३ गते । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीमा रहेको विद्याविकास प्राथमिक विद्यालयलाई आइतबार एक कार्यक्रमका बीच भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ ।

२०७२ वैशाखमा गएको भूकम्पले विद्यालयको पाँच कोठे भवनमा क्षति पु¥याएपछि जीर्ण भवनमा नै अध्ययन अध्यापन हुँदै आइरहेको थियो । भवनमा क्षति पु¥याएपछि पुनःनिर्माणको लागि विद्यालयले गरेको आग्रहमा हिमाली गाउँ संरक्षण नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कूल रु ३५ लाख २२ हजार १५२ लागतमा भवन निर्माण गरी हस्तान्तरण गरिएको हो ।

पाँच कोठा रहेको सो विद्यालयको भवन आइतबार रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले उद्घाटन गर्नुभएको हो ।

हिमाली गाउँसंरक्षण नेपालका अध्यक्ष नीरध्वज लामाले बनाएर हस्तान्तर गरेको विद्यालयको भवन संरक्षण गर्ने दायित्व विद्यालय व्यवस्थापन समिति र अभिभावकको भएको बताउनुभयो । “भवन बनाएर मात्रै हुँदैन, विद्यार्थीलाई नियमित उपस्थित गराएर गुणस्तर शिक्षा शिक्षण गर्नुपर्ने कर्तव्य शिक्षकको हो ।” लामाले भन्नुभयो, “त्यसको लागि अभिभावकको पनि आफ्नो बालबालिका विद्यालय नियमित गएको छ छैन हेर्ने जिम्मा पनि हो, त्यसलाई पनि यहाँहरूले पूरा गर्नुहोला ।” विद्यालयको भवन निर्माण गर्न जर्मनी संस्था हिमालयन परियोजनाको सहयोग रहेको छ ।

विद्यालय व्यवस्था समितिका अध्यक्ष च्याङबा लामाले समस्यामा रहेको विद्यालयलाई भवन निर्माण गरी बालबालिकालाई सुविधासम्पन्न भवनमा पढ्न पाउने वातावरण बनाएकोमा खुशी व्यक्त गर्नुभयो ।

शिशु कक्षादेखि कक्षा ५ सम्म अध्यापन हुने सो विद्यालयमा बालविकास सहयोगी कार्यकर्ता एक जना, प्रावि राहत शिक्षक दुई जना र निजी स्रोतबाट एक जना गरी चार जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर लामाले बताउनुभयो ।

सो संस्थाले यसअघि सिसाखानीको भूमेस्थान माविको लागि दुई तले आठ कोठे शिक्षक आवशीय भवन र भूकम्पले क्षतिग्रस्त गणेश आधारभूत विद्यालयको लागि सात कोठे विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ । रासस

प्रतिक्रिया