आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको छः प्रम

इनेप्लिज २०७५ पुष २२ गते ११:४७ मा प्रकाशित

काठमाडौँ, पुस २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालू आवको पाँच महीनामा राजश्व सङ्कलन ३२ प्रतिशत र पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको तथा सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिनुभयो ।

उहाँले सो अवधिमा मूल्य वृद्धि ३ दशमलव ७ प्रतिशत रहेको, वैदेशिक सहायता रु एक खर्ब ६२ अर्ब ७२ करोड प्राप्त भएको, उद्योग व्यवसायमा २५ प्रतिशत लगानी वृद्धि भएको तथा व्यापारघाटा एक दशमलव शून्य पाँच प्रतिशत घटेको पनि जानकारी दिनुभयो ।

आगामी फागुन २१ गतेभित्र सङ्घीयतानुकूल नभएका कानून संशोधन गर्नुपर्नेमध्ये १६५ कानूनमा संशोधन तयार भएको जानकारी दिँदै उहाँले मौलिक हकका कानून बनी कार्यान्वयनमा आएको बताउनुभयो । पशु बीमा कार्यक्रम सम्बन्धित विभागलाई प्रदान गरिएको, प्रधानमन्त्री रोजगारी कार्यक्रम शुरु गरिएको, राष्ट्रपति चुरे कार्यक्रम जारी रहेको र समस्या देखिएका केही परियोजनामा विशेष निगरानी राखिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

द्रुत मार्ग प्रगति उत्साहजनक
द्रुत मार्ग प्रगति उत्साहजनक रहेको बताउँदै उहाँले सम्पूर्ण सूचना एकीकरण गर्ने कार्य भइरहेको, अनुगमनमाथि अनुगमन गर्ने प्रणाली शुरु गरिएको, राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डिजिटल एक्सन रुम स्थापना गर्न लागिएको पनि सुनाउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन सिङ्गो सदनको काम भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय परिचयपत्र विभाग नयाँ स्थापना भएको छ । यसै वर्ष धेरै नेपालीलाई परिचयपत्र दिइनेछ । पचहत्तर वर्ष नाघेकालाई रु १०० दिई शुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रमले गुणात्मक फड्को मारेको छ ।

श्रमजीवी पत्रकारको पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरिएको, जनकपुर र वीरगञ्जबाट श्रम स्वीकृति दिन शुरु गरिएको, सुरक्षित र एकीकृत नागरिक आवास कार्यक्रम ल्याइएको तथा १७ हजार घर जनता आवास कार्यक्रमबाट बनाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकार गठन भएपछि २६ हजार नयाँ ग्राहकलाई विद्युत् वितरण गरिएको छ । यही पुस १९ गते नदी सफाइका लागि बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माणको शिलान्यास भएको जानकारीसमेत उहाँले दिनुभयो ।

कोदारी राजमार्ग आागामी वैशाखदेखि सञ्चालनमा ल्याइने प्रधामन्त्री ओलीको भनाइ थियो । रेलको सपना पूरा गर्न रसुवागढी– काठमाडौँ, काठमाडौँ– लुम्बिनी र वीरगञ्ज –काठमाडौँको सम्भाव्यता अध्ययन हुँदै गरेको बताउँदै उहाँले आगामी २०७६ साल वैशाखसम्म नेपालको आफ्नो भूउपग्रह बनाउने तयारी गरिएको जानकारी दिनुभयो ।

यातायात प्राधिकरण गठन गरिँदै
उहाँले भन्नुभयो, “भूकम्पपछिको पुनःनिर्माणमा तीन लाख ३८ हजार १४७ घर बनेका छन् । सत्र वटा तुइन यसै वर्ष हटाइने कार्यक्रम छ । उच्चस्तरीय शिक्षा आयोगले काम अन्तिम चरणमा पु¥याएको छ । आगामी वर्षसम्म नेपाललाई पूर्ण साक्षरता बनाउन विशेष कार्यक्रम ल्याइँदैछ । यातायात क्षेत्रको एकाधिकार अन्त्य भएकाले प्राधिकरण गठन गरी व्यवस्थापनको तयारी शुरु भएको छ । ”

अपराध न्यूनीकरण गर्न ९६ प्रतिशत सफलता प्राप्त भएको प्रधानमन्त्री ओलीको जिकिर थियो । सुन तस्करीमा संलग्न ४६ जना पक्राउ परेको, कोलकातामा समातिएको ३३ किलो सुनको अनुसन्धान भइरहेको तथा लामो समयदेखि फरार रहेका ७३२ जना पक्राउ परेको जानकारी उहाँले दिनुभयो ।
प्रतिपक्षलाई रचनात्मक बन्न आग्रह
राष्ट्रपति निवासका सम्बन्धमा शुरु गरिएको विवाद गणतन्त्रमाथिकै आक्रमण भएको उहाँले बताउनुभयो । “सांसदलाई अपमान गर्नुका पछाडिको उद्देश्य प्रणालीप्रतिको हमला हो, प्रणालीमा आँच आए लोकतन्त्र खतरामा पर्छ, प्रतिपक्षलाई सकारात्मक र रचनात्मक बन्न आग्रह गर्छु, सरकारको नीतिमा भेदभाव हुनु उचित हुन्न, यसप्रति म सजग छु,” उहाँले भन्नुभयो । उहाँले प्रमुख प्रतिपक्षीले कर्मचारी समायोजन अध्यादेश कर्मचारी वृत्तिविकासमा अवरोध गरेको बारे बताउँदै भन्नुभयो, “पानीलाई धमिलो पार्ने र माछा मार्ने रहर नगर्दा नै बेस होला ।” प्रतिक्रियात्मक नभई रचनात्मक बन्न पनि उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकको विकास निर्माण र राष्ट्रिय गौरवका आयोजनाका प्रगति विवरण प्रस्तुत गर्दै भन्नुभयो, “पछिल्लो समय मैले अनौठो अनुभूति गरेको छुु, खोई काम गरेको भन्ने प्रश्न उठ्छ, मुलुकको विकास गर्नुछ, अब पनि नगरे कहिले गर्ने, हामीले नगरे कहिले गर्ने, जनताले बहुमतको सरकार दिएको छ, म कुनै तर्कमा अल्झन चाहन्न, रङ्गीबिरङ्गी प्रश्नलाई सम्बोधन गर्नुभन्दा पनि बजेट कार्यक्रमको समीक्षामा चर्चा गर्न चाहन्छु ”, उहाँले भन्नुभयो ।

तर्कवितर्क, र वादविवादमा रुचि नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विकासनिर्माणमा अघि बढ्न सबैलाई आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई रचनात्मक र प्रभावकारी भई आर्थिक विकासमा ऐक्यबद्ध भई अघि बढ्न पनि आग्रह गर्नुभयो ।
रासस

प्रतिक्रिया