भ्रस्टः व्यक्ति कि समाज

यादवराज जोशी २०७५ पुष २१ गते ०:३७ मा प्रकाशित

विगत केही महिनादेखि भ्रस्टाचारका दजनौं खबर सुनेपछि मनमा खुल्दुली लग्यो, किन जताततै भ्रस्टाचार ? के नेपालमा इमान्दार कर्तव्यनिस्ट मानिस छैनन् ? किन इमान्दार

ठानिएका व्यक्ति पदमा पुगेपछि वा अवशर पाएपछि भ्रस्ट भैहाल्छन् ? यि प्रस्नको उत्तर त्यत्ति सजिलो छैन किनकीः यो कुरा हाम्रो संस्कार, समाज र व्यवहारसंग जोडिएको छ । एकातिर व्यक्तिमा आफ्नो वैयक्तिक चरित्र हुन्छ र अर्कोतिर संस्कार र समाजले समाजिक चरित्र बनाइरहेको हुन्छ । यि चरित्रहरु आपसमा मिल्छन, छुट्टिन्छन र झगडा पनि गर्छन । त्यसैले समाजमा इमान जमानको भद्र व्यक्ति पनि भेटिन्छ र लुच्चा फटाहा पनि । यो व्यक्तिगत चरित्र निर्माणको कुरा भयो ।

मैले यहाँ कुरा गर्न लागेको व्यक्ति नभई समाज हो । नेपालीमा एउटा आहान प्रचलित छ, कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धी । हो म यहि कुण्डको कुरा गर्न गैरहेको छु, भ्रस्टः व्यक्ति कि समाज? माथिको आहानबाटै सुरु गरु, नेपाली समाज एउटा कुण्ड हो । यो कुण्डको पानीको एउटा स्वाद छ अर्थात चरित्र छ । समग्र समाज कुण्ड भएपछि त्यो कुण्डको पानी क ख ग घ सबैले खान्छन् ।

समग्र समाज कुण्ड भएपछि त्यो कुण्डको पानी क ख ग घ सबैले खान्छन् ।

त्यो पानीमा भएको आईरन, म्यग्नेसियम, जिंक जे जस्ता तत्व छन सबैले ग्रहण गर्छन । अनि एउटै कुण्डको पानी खानेमा एकै किसीमको विकास हुन्छ । एकै किसिमको चरित्र निर्माण हुन्छ ।

अब हाम्रो समाजको चरित्र एउटै छ । ति तत्व र कुण्ड लाक्षणिक हुन । अर्थात कुण्ड समाज हो र तत्व चरित्र । अब समाजमा ति तत्वलाई रुपान्तरण गरौ । कुनै तत्व इमान होला कुनै बेईमान, कनै धनी होला त कुनै गरिब । यि तत्व चरित्रबीच समाजमा अन्तरद्वन्द्व सधै छ । समाजले बेईमान, गरिबलाई राम्रो मान्दैन । यो ठिकै पनि हो । बेईमानी र गरिबी कतैपनि राम्रो होईन । मानिस इमान, जमान, सम्पन्न हुनुपर्छ । यस्तो मान्छे कसरी बन्ने ? मानिसको व्यहार उसको वैयक्तिक र समाजिक सामर्थबाट निर्माण हुन्छ । के हाम्रो समाजमा यस्तो सामर्थ छ ?

समाजमा सकारात्मक र नकारात्मक दुवै सामर्थ हुन्छ । मूख्यकुरा कुन सामर्थले समाजलाई निर्देशत गरेको छ भन्ने महत्वपूर्ण हो । यहाँ हाम्रो संस्कारका कुरा गरौ । हामी कसैलाई आशिष दिदाँ ठूलो मान्छे भए भन्छौ । धेरै पढनु भन्छौ । अब कुरा गरौ ठूला मान्छे कुन हुन । हामीले देखेका ठूला मान्छे तिनै हुन जो समाजका सामन्त हुन, जो छिर्के लाउदै पदमा पुगे, जो जनताको भावनासंग खेले, जो पदमा पुगे । अब ठूलो मान्छे बन्न सिक्ने को संग? अरु विकल्प छैन तिनै मानिससंग जसलाई पहिले भ्रस्ट भन्यौ तर तिनकै पदचिन्ह पच्छायौं ।

हामीले नैतिकताका दृस्तान्त किताबमा पढ्यौ । समाजमा देखेनौ । समाजका भ्रस्ट काका, मामा, तल्लाघरे, पल्लाघरे । आफ्नो वरीपरी तिनैको दवदवा अनि किन पछाडी नलाग्नु ? हाम्रा रोलमोडल कस्ता थिए वा छन् हामीले पुनरावलोकन गरेनौ । रातारात करोडपति बन्नेलाई हामीले चिन्यौ तर प्रस्न गरेनौ । आश्वासनपछि आश्वासनको भारी बोक्दा पनि एक आखर बोलेनौ । यहाँ पैसा ठूलो भो । पद ठूलो भो । पैसा कसरी कमियो, पदमा कसरी पुगियो गौड भो । हाम्रो समाजले यसलाई पचायो, स्वीकार गर्यो । अर्थात समाज कै मति भ्रस्ट भो ।

हाम्रो समाज दिग्भ्रमित छ । के ठिक के बेठिक छुट्टाउन सक्दैन । दिग्भ्रमित गर्ने काम कसले गरे भन्ने बारेमा खोज हुन सक्छ । तर यो निस्चित हो, समाजले ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सकेन । ठिक र बेठिक कामको आधारमा नभई राजनीतिक आस्था र पहुँचका आधारमा निर्धारण हुन थाल्यो । बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मति । यहाँ ब्वाँसा राजा भए, अनि हाम्रा आदर्श ।

यहाँ ब्वाँसा राजा भए, अनि हाम्रा आदर्श ।

यिनै आदर्शलाई पच्छाउदै गयौ । हामी दिग्भ्रमीत भयो । ठूला मान्छे वास्तवमा ठूला हुन होईनन भन्ने विवेक समाजमा हरायो । जसरी पनि ठूलो हुने, धनी हुने संस्कार बन्दै गयो ।

अहिले हामीसंग भ्रस्टाचार रोक्ने र भएमा कारवाही गर्ने संयन्त्र छ । कानुन पनि छ । म कानुनको कुरा पछि गर्नेछु । अहिले कुरा गरौ हाम्रो रितीथिती । तपाईहरुले चलचित्र कति हेर्नु हुन्छ ? र कति हेक्का गर्नु भएको छ, हाम्रा मुखिया, जिम्मावाल । यि चलचित्रका खलनायक पात्र हुन अनि हाम्रो समाजका ठूला मान्छे । समाजको जड यसैमा अडेको छ । अहिले ति पात्र छैनन् । नयाँ पात्रको उदय भएको छ गाउँदेखि केन्द्रसम्म ।

मैले भन्नु पर्दैन । केवल एकपटक हाम्रा ठूलाठालु हेर्नुस । काठमाडौं मै आँखा लगाउनु नि आवश्यक छैन । तपाई वडा, गाउँ, नगर र जिल्ला जहाँसम्म आँखा पुर्याउन सक्नु हुन्छ, त्यहाँ पुर्याउनु होस । तपाईले ठूला ठानेका वा ठूला बनाएका यि पात्र वास्तव मै नायक हुन? तपाई उनीहरुलाई नायक मान्न तयार हुनुहुन्न । तर, तपाईले नै उनीहरुलाई नायक बनाउनु भयो, अर्थात ठूलो मान्छे बनाउनु भयो । हो यहि कुरा मैले गरेको । हाम्रो समाजले यस्ता ठूला जन्माइ रहेको छ जसलाई व्यक्तिगतरुपमा ठूला मान्नु हुन्न तर विरोध पनि गर्नु हुन्न ।

समाजले ठूला बनाए झै, भ्रस्ट पनि बनाएको छ । समाजले तिन्लाई सहर्ष स्वीकार गर्छ, जसले पैसा र पद कमाए ।

समाजले तिन्लाई सहर्ष स्वीकार गर्छ, जसले पैसा र पद कमाए

नैतिकता र अनैतिकताको प्रस्न गर्दैन । पद र पैसामा सम्पूर्ण समाज नतमस्तक हुन्छ । व्यक्तिगतरुपमा कसैले बिरोध गर्लान तर समाज मौन बस्छ । बिरोधको स्वर सुन्दैन । किनकीः हाम्रो समाज नै भ्रस्ट छ । अर्को शव्दमा भनु भने समाजले नराम्रो कामको विरोध नगरेर बढावा दिइरहेको छ । समाजले व्यक्तिगत चरित्र निर्माण गर्छ । भनिन्छ नि संगत गुनाको फल । हो हाम्रो समाज भ्रस्ट छ र हामी भ्रस्ट छौ ।

अब कानुनका कुरा गरौ । कानुनको काम समाजलाई सभ्य बनाउन हो । सभ्य भन्नाले नैतिक इमान्दार । जब समाज नै भ्रस्ट छ, कानुन पनि भ्रस्ट नै हुन्छ । अर्थात अनेकन छिद्र हुन्छन वा बनाइन्छन केवल केवल भ्रस्ट चोख्याउन । तपाई हामीले कानुन कार्यान्वयन र न्यायनिरुपण निकायको काम त देखेका छौ । कैयन भ्रस्ट चोखिएका छन् । यसो किन भयो त ? कानुन कार्यान्वयन गर्ने अर्को ग्रहका मानिस होईनन ।

कानुन कार्यान्वयन गर्ने अर्को ग्रहका मानिस होईनन

यहि समाजका उपज हुन । यिनले पनि ति भ्रस्टलाई ठूला मानेका छन् । तसर्थ ठूलालाई दण्ड दिन सक्दैनन् । मात्र केही अपवाद छन् । अपवाद जहाँ नि हुन्छ, जस्तो हाम्रो भ्रस्ट समाजमा केही अपवाद छन् ।

कुरा जहाँको त्यहि रह्यो कि? अवश्य छैन । हामीले व्यक्तिलाई भ्रस्ट मानेका छौ । हामी हम्मेसी तयार छैनौ समाजलाई भ्रस्ट मान्न । तपाई, म र उ भ्रस्ट हुँ भन्न । किनकीः हाम्रो समाजले त तिनलाई ठूला मान्छे मानेको छ । यसरी हाम्रो समाजले हामीलाई भ्रस्ट बनाएको छ । हाम्रो सोचलाई प्रदुषित गरेको छ । यस अर्थमा हाम्रो समाज नै भ्रस्ट छ । समाजको शुद्धिकरण नगरी अर्थात भ्रस्टलाई ठूलो मान्ने संस्कार नत्यागी भ्रस्टाचारबाट मुक्ती सम्भव छैन ।

अर्को कुरा, व्यवहार परिवर्तन ठूलो चुनौती हो तर व्यक्तिलाई परिवर्तन गर्न सजिलो छ । समाज नै परिवर्तन निकै कठिन । समाजले भ्रस्ट र भ्रस्टारचारलाई स्वीकारेको वर्तमान अवस्थामा परिवर्तन कठिन छ । परिवर्तन ढिलो हुन्छ । तर असम्भव भने छैन । कथित ठूलालाई भ्रस्ट भन्ने आँट गरौं । भ्रस्टलाई ठूला मान्ने कुसंस्कार छाडौं ।

प्रतिक्रिया