किन बन्नसकिरहेको छैन समाज सभ्य?

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७५ पुष २१ गते ०:३२ मा प्रकाशित

“शास्ति च त्रायते च। शिष्यते अनेन”

अर्थात जुन शिक्षाले मानिसलाई अनुशासन सिकाउछ, मार्गदर्शन गर्छ, अन्तरआत्मालाई सही निर्देशित गर्छ, त्यसलाई शास्त्र भनिन्छ।

तर धर्मको सन्दर्भमा ‘शास्त्र’ ऋृषिमुनि आदिले बनाएको प्राचीन ग्रंथ जसले पाप र धर्मको पहिचान गरी अनुचित काम गर्नबाट मानिसलाई निषेधित गर्छ। त्यसलाई नै शास्त्र भनिन्छ।

मैले यहा जोड्न खोजेको शास्त्र ,”समाजशास्त्र” हो। करीब पन्ध्र बीस वर्ष पहिले नेपाल समाजशास्त्र करीबकरीब राष्ट्रीय पढाई जस्तो नै भएको थियो, जोकोही पनि समाजशास्त्रमा स्नातकोत्तर गर्न लालायित हुन्थे। त्यत्तिधेरै समाजशास्त्री उत्पादन गरेको समाज किन पटक्कै सभ्य बन्न सकेन? मेरो चासोको विषय पनि यही हो।

समाज भनेको व्यक्तिहरुको जमात हो र शिक्षित व्यक्तिहरुको जमात बढिरहदा पनि सभ्यता अझै खट्किएको छ हाम्रो समाजमा। प्रसंग रवि लामिछानेको सम्बन्धविच्छेद, वैवाहिक सम्बन्ध टुट्नु कुनै ठट्टा होइन तर पनि सम्बन्ध टुट्ने गर्छन। सम्बन्ध टुट्नुमा एकपक्षको मात्र दोष हुदैन तर समाजले कुरा सुनिदिन्छ, त्यस पक्षको जसले आफुलाई कमजोर देखाएर सहानुभूति बटुल्न खोज्छ।

कुनै पनि व्यक्ति चाहे रवि लामिछाने हुन वा राजा ज्ञानेन्द्र, कसैको पनि व्यक्तिगत मामिलालाई सामाजिक बहसको विषय बनाउनु सभ्य समाजको पहिचान होइन, यो कुरा सबैलाई राम्रोसंग थाहा छ, तैपनि अर्का चियोचर्चा गर्न कोही पछि पर्दैनन्।

किन यति धेरै वकालत गर्छौ हामी अरुको व्यक्तिगत विषयमा? किन दिदैनौ हामी कुनै पनि व्यक्तिलाई स्वतन्त्र भएर बांच्ने अधिकार? अरुको व्यक्तिगत विषयमा बहस गरेर अरुलाई मानसिक तनाव दिनु अनुशासनहीनता मात्र होइन एक किसिमको अपराध हो। हामी पाप र धर्मको कुरा गर्छौ, पाप पखाल्न पुजा, ध्यान, जप अनि यज्ञ गर्छौ, भाकल गर्छौ, मन्दिर जान्छौ, तर जब सम्म अरुको सम्मान गर्न सिक्दैनौ तब यो सब नौटंकी हो।

वैवाहिक सम्बन्ध होस या प्रेम सम्बन्ध होस्सु, मधुर सम्बन्ध हुनु सार्है राम्रो हो तर मनै नमिलेपछि, समस्याको समाधान नै नभएपछि छुट्टिन्छन जोडीहरु। प्रेम वा वैवाहिक सम्बन्ध सामान्य चलिरहदा त्यहा मायाको लेखाजोखा हुन्छ तर जब सम्बन्ध टुट्छ त्यसपछि लेनदेनको कारोबारीको लडाई शुरु हुन्छ र यो कारोबारमा उचाल्ने पछार्ने र ताली बजाउने काममा सरीक हुने व्यक्ति त्यही नै हुन्छ जो आफुलाई सभ्य भन्न रुचाउछ।

निःशुल्क परामर्शदाताहरुको लाइन लाग्छ। त्यो लडाई यसरी शुरु हुन्छ मानौ सम्बन्ध विच्छेद गरिएका जोडीहरु विवाहको लागी बन्धक बसेका थिए। यही लेनदेनको कारोबार नमिले सम्बन्ध विच्छेदका मुद्दाहरु लामो समयसम्म लम्बिने गरेको छ। प्रेम सम्बन्ध पनि कुरा नमिलेपछि बलात्कारका मुद्दामा परिणत भएका उदाहरण थुप्रै छन। के ठीक र के बेठीक भनेर छुट्टाउन प्रहरी र अदालत हुदाहुदै कानुन र फैसलाको जिम्मा लिनु के सभ्य नागरिकको दायित्व होला र?

 

प्रतिक्रिया