नेपाली नागरिक ईश्वर श्रेष्ठको मृत्यु उनकै कामदार इन्डियन नागरिकद्दारा हत्या भएको पोल्यान्ड प्रहरीद्दारा पुष्टि

इनेप्लिज २०७५ पुष १८ गते २३:०६ मा प्रकाशित

मित्र लाल पार्दे वारसवा पोल्यान्डबाट

हालै पोल्यान्डमा भएको रेस्टुरेन्ट व्यवसायी ईश्वर श्रेष्ठको मृत्यु उनकै कामदार इन्डियन नागरिकद्दारा हत्या गरिइएको जनाएको छ । शुक्रबार लेगिनोभ क्षेत्रबाट पोल्यान्ड वारसवा प्रहरी मृतक ईश्वर श्रेष्ठ हराएको रिपोर्ट गएपछि पोल्यान्ड प्रहरीले हराउनुको कारण खोजतलास गरेको थियो ।

अर्को दिन बिहान शनिबार पोल्यान्ड प्रहरीले ईश्वर श्रेष्ठको मृत शरीर कारभित्र भेटाउन सफल भएको थियो । उक्त रहस्यमय मृत्युको अनुसन्धानको लागि केही व्यक्तिहरु पक्राउ गरि अन्ततः पोल्यान्ड प्रहरी २ इन्डियन हत्यारा समाउन सफल भएको छ । अन्दाजी २८ वर्ष र २७ वर्षका ती इन्डियनहरुले हत्या गर्नुको कारण कामदार र रेस्टुरेन्ट मालिक बिच भएको आन्तरिक द्वन्द बताइएको छ । उनिहरुको श्रेष्ठलाई मार्ने योजना अगाडि नै बनाएको पनि पोल्यान्ड प्रहरीले पुष्टि गरेको छ ।

ती दुई इन्डियन नागरिकहरुलाई ईश्वर श्रेष्ठको हत्या कसुरमा पोल्यान्डको कानुन अनुसार तत्कालको लागि तीन महिनाको लागि जेलमा लगिइएको छ । अदालती प्रक्रिया र पोल्यान्डको कानुन अनुसार हत्या सम्बन्धि अपराधको प्रकृति हेरेर ८ वर्ष देखि २५ वर्ष सम्म जेल सजाय हुनेछ ।

नेपाली नागरिक ईश्वर श्रेष्ठको हत्याको घटनाले पोल्यान्डमा बिदेशी नागरिकहरुमा एक किसिमको सन्त्रास पनि फैलिएको छ । पोल्यान्डमा नेपाल सरकारको कुट्नैतिक निकाय नहुदा पोल्यान्डमा रहने झन्डै १० हजार नेपालीलाई समस्या पर्दा जर्मनी स्थित बर्लिन दूतावासमा हारगुहार गर्नुपर्ने अवस्था भएको छ । दिनप्रतिदिन पोल्यान्डमा नेपालीहरुको वृद्धि हुदा यहाँ नेपाल हेर्ने आधिकारिक कुटनैतिक निकायको आवश्यकताको महशुश दिन प्रतिदिन हुन थालेको छ ।

फोटो श्रोत वारसवानन्स्टप डट पि एल

प्रतिक्रिया