साइनिङ्ग वल्र्ड कम्पासन एवार्ड न्यौपानेलाई

इनेप्लिज २०७५ पुष १४ गते १५:२२ मा प्रकाशित

काठमाडौं, पुस १४ । पशुपति वनकालीमा नन्दि सेवा आश्रम सञ्चालन गर्दै आएका रामबहादुर न्यौपाने (गोपाल) यस वर्षको साइनिङ्ग वल्र्ड कम्पासन एवार्डद्वारा पुरस्कृत हुनुभएको छ । सुप्रिम् मास्टर इन्टरनेशनल एशोसियसनले शनिवार ललितपुरको खुमलटारमा गरेको एक कार्यक्रममा रामबहादुर न्यौपानेलाई एवार्डको साथमा सो संस्थाकी सञ्चालिका सुप्रिम् मास्टर चिङ्हाईले पठाउनु भएको तीस हजार अमेरिकी डलरको चेक मास्टरका अनुयायीहरूको तर्फबाट नेपाल भेगन एशोसियसनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने र मिरा खनालले हस्तान्तरण गर्नुभएको थियो ।

रामबहादुरले छाडा छोडिएका गाई गोरु तथा बाच्छा बाच्छीलाई आश्रय दिन काठमाडौंको पशुपतिक्षेत्रको वनकालीमा नन्दि आश्रम सञ्चालन गर्दै आउनु भएको छ । काठमाडौं लगायतका शहर एवं गाऊवस्तिमा गाई धनिले दुध दिँदासम्म दुहुने र दुध दिन छाडेपछि गाईलाई सडकमा लगेर छोडिदिने, आफूले धेरै दुध पाउन दुधेबाच्छोलाई पनि सडकमा छोडिदिने गर्ने गरेको पाइएको छ । यसरी छोडिनेमा बाच्छीको तुलनामा बाच्छा बढी हुन्छन् र पछि ती बढेर ठूला हुने गरेका छन् । छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीको कारणले सडकमा ट्राफिक जाम हुने, दुर्घटना हुने गरेका छन् । सवारीसाधनले ढक्कर दिने र ती गाईगोरु तथा बाच्छाबाच्छी घाइते हुने, बिरामी हुने जस्ता धेरै समस्या हुने गरेको पाइन्छ ।

छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीलाई बस्न खान र औषधोपचारको व्यवस्था मिलाउने कामलाई आफ्नो साधना बनाएका रामबहादुर न्यौपानेको उदाहरणीय कार्यको मुल्याङ्कन गर्दै उनलाई पुरस्कृत गरिएको आयोजकले पुरस्कार पत्रमा उल्लेख गरेका छन् । ठूलो कष्ट उठाएर डेढसय जति गाई गोरु र बाच्छाबाच्छीलाई घाँस पराल, औषधि उपचार लगायतका आवश्यकता पूरा गर्न उनको टिम तथा समितिलाई धौधौ परिनै रहन्छ । वर्षको तीन करोडको खर्च रहेको बताइन्छ । सहयोग जुटाएर खर्च पुर्याउनु सहज छैन नै । रामबहादुरको यस प्रकारको कार्यको जति तारिफ गरेपनि कमै हुने देखिन्छ नै । पुरस्कार मात्रैको कुरा होइन मास्टर चिङ्हाईको आर्शिवाद पाउनु नै सबैभन्दा ठूलो कुरा हो । नेपालमा जजसले उहाँको आर्शिवाद पाउन सफल हुनुभएको छ उहाँहरूको उन्नति प्रगति हुँदै गएको छ, कार्यक्रममा आफ्नो मन्तव्य राख्दै बरिष्ट प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेल (मानसाग्नि) ले बताउनु भयो ।

भलै संविधानमा राष्ट्रिय जनावर उल्लेख भएपनि नेपाल सरकार र नेपालीको लागि गोवंश ठूलो बोझको विषय भएको देखिन थालेको छ । राज्यकै संयन्त्रको मिलेमतोमा गाईगोरु कटानीको लागि विदेशतर्फ तस्करी हुने गरेको देखिइरहेको छ । लक्ष्मीस्वरूपा गौमाताको संज्ञाले समेत पुकार गरिने गोवंशलाई सिध्याउन पाए हाईसुख हुन्थ्यो भन्ने मनोविज्ञान राज्यको पनि रहेको बुझिन्छ । नेपाल सरकार र नेपाली नागरिकको यस्तो संकिर्ण एवं दरिद्री मानसिकताको स्थिति भइरहेको अवस्थामा विदेशदेखि यहाँका गोवंशको संरक्षणको लागि यसरी सहयोग आउनुले नेपाल सरकार र सम्बन्धित नागरिकको लागि ठूलो जवाफ भने दिएको छ ।

सुप्रिम मास्टर चिङ्हाई विश्व प्रसिद्ध आध्यात्मिक गुरु हुनुहुन्छ । उहाँले आफ्नो शिष्य ग्रहण गर्ने जोकोहीलाई पनि सबै प्राणीप्रति दया, करुणा गर्न, प्राणी हिंसा नगर्न र पूर्ण साकाहारी आहार एवं सात्विक जीवन यापन गर्न मार्गदर्शन गर्नु हुन्छ । मूलतः उहाँ ताइवानको भए पनि विश्वका विभिन्न स्थानमा रहेर ध्यान साधना गर्ने र गराउने गर्नु हुन्छ । उहाँको सुप्रिम मास्टर टेलिभिजन नामको अनलाई टेलिभिजन छ । सोमार्फत उहाँले आफ्नो मार्गदर्शन उपदेश प्रवचन निरन्तर गरिरहनु हुन्छ ।

मास्टर चिङ्हाईले यो एवार्ड एवं पुरस्कार कसैको सिफारिसमा नभएर आफ्नो ध्यानदृष्टिबाट तय गर्ने गर्नु हुन्छ । बहत्तर सालको भूकम्पलगायतका दैवी विपत्ति आदिमा मास्टर चिङ्हाईले उल्लेखनीय सहयोग गर्दै आउनु भएको छ । यसै गरी वागिश्वरी गौशाला देवघाट चितवन, रामजानकी गौशाला कोहलपुरलाई पनि यहाँका आफ्ना अनुयायीमार्फत आर्थिक सहयोग गर्नु भएको छ । उहाँले गर्ने सहयोग कसैसँग उठाएर नभएर आफै आर्जन गरेको रकमबाट गर्नुहुन्छ । विश्वका कुनै पनि स्थानमा उहाँले सहयोग गर्ने गर्नु भएको छ । आफ्ना अनुयायीहरूलाई फल्नो ठाऊँमा यस्तो भएको छ त्यो ठाऊँमा गएर यो सहयोग गर्नु अथवा पुर्याउनु भनी निर्देशन आएपछि अनिबल्ल उहाँका अनुयायीहरू निर्देशन बमोजिम आफ्नो गुरुले पठाएको सहयोग लिएर सोधखोज गर्दै सम्बन्धित स्थान र व्यक्तिसम्म पुग्ने गरेको उहाँका नेपाल स्थित अनुयायी अमृत कार्की, विष्णुप्रसाद न्यौपाने, डा. मोहन खरेल, विक्रम गुरुङ्गलगायतहरू बताउनु हुन्छ ।

सुप्रिम मास्टर इन्टरनेशनल एशोसियसनले प्रदान गर्ने साइनिङ्ग वल्र्ड कम्पासन एवार्ड नेपालीको लागि यो तेस्रो हो । प्रथम एवार्ड समता शिक्षा सदनका उत्तम संजेल र दोस्रो एवार्ड माइती नेपालकी अनुराधा कोईरालाले प्राप्त गर्नु भएको थियो ।

कार्यक्रममा डा. गोविन्द टण्डन, डा. नारायणी राणा, वैद्यराज दीपक सुवेदीलगायतले आआफ्नो अभिव्यक्ति राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन बरिष्ट प्रो.डा. मोहन खरेलले गर्नु भएको थियो ।

प्रतिक्रिया