घरबारविहिनको नाममा ठगी

यादवराज जोशी २०७५ पुष ११ गते ११:४१ मा प्रकाशित

घरबारविहिनको नाममा गो फण्ड मीले खाता खोलेर जम्मा गरिएको चारलाख अमेरिकी डलर रकम गो फण्ड मीले दाताहरुलाई फिर्ता गर्ने भएको छ । न्यूजर्सीको बुर्लिड.टन काउन्टीका अधिकारीले उक्त गो फण्ड मी खाता मानिसलाई ठग्ने अभिप्रायले खोलिएको पत्ता लगाएपछि गो फण्ड मीले एक विज्ञप्ति प्रकाशित गरी उक्त खाताबाट दातालाई रकम फिर्ता गरिने बताएको हो ।

घरबारविहिन ३५ वर्षिय जोनी बालबिटलाई देखाएर २८ वर्षीया केट म्येक्लोर र उनका प्रेमी ३९ वर्षिय मार्क डिअमिकोले गो फण्ड मीमा खाता खोलेका थिए । न्यूजर्सीको बुर्लिड.टन काउन्टीका वकिल स्कट कोफिनाका अनुसार, म्येलोरले आफ्ना प्रेमीसंग मिलेर ठगी योजना बनाएको हामीले पत्ता लगायौ । उनीहरुले सन् २०१७ को नोभेम्बरमा गो फण्ड मीबाट चारलाख जम्मा गरेका थिए ।

गो फण्ड मीले दातालाई आफुले रकम फिर्ता गर्ने र म्येक्लोर र डिअमिकोबाट उक्त रकम सोधभर्ना गर्न कानुनी बाटो लिने बताएको छ । बुर्लिड.टन काउन्टीका वकिलको कार्यालयले अनुसन्धानको क्रममा म्येक्लोरले आफ्नो योजनाको बारेमा पठाएको टेक्स्ट म्यासेजबाट यो ठगीको रहस्योदघाटन भएको हो ।

बालबिट, म्येक्लोर र डिअमिका मिलेर काल्पनिक कथा बनाएर मानिसलाई ठगि गरेका थिए । घरबारविहिनलाई सहयोग गर्ने काम भएन, सबै पेसा उनीहरुले बाडेर लिए, वकिल कोफिनाले भने । उनले यो मुद्दा अदालतमा लिएर जाने पनि बताए ।

गो फण्ड मीमा यस्ता ठगीका घटना निकै कम हुने गो फण्ड मीका प्रवक्ता बबी ह्वाईटथ्रोनले बताए । हामी दातालाई तत्काल पैसा फिर्ता गर्छौ र अभियुक्तहरु बालबिट, म्येक्लोर र डिअमिकाबाट उक्त पैसा भराउने छौ, यनले भने ।

प्रतिक्रिया