चौका दाउको फस्ट लुक्स

इनेप्लिज २०७५ पुष ८ गते १२:४३ मा प्रकाशित

यही २७ पुषबाट देशब्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘चौका दाउ’को फस्ट लुक्सको रुपमा तीन ओटा पोष्टर रिलिज गरिएको छ । एक साता अघि रिलिज गरिएको ट्रेलरले राम्रो चर्चा पाएपछि निर्माण पक्षले आईतबार पोष्टर रिलिज गरेको हो ।

मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । यो चालचित्रको पोष्टरमा मुख्य कलाकारहरुलाई उनीहरुको चरित्रमा उतारिएको छ । ३० बाई ४० को दुई मध्य एउटा पोष्टरमा सिनेमाका चार जुवाडे रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्त जुवा हारेपछि नाँगै गाडीमा घर फर्किएको देखाईएको छ । जसमा कलाकार सोनिका केसीलाई मदिराको सुराही सहित प्रस्तुत गरिएको छ ।

३० बाई ४० को अर्को पोष्टरमा रबिन्द्र झलाई मधेसी, सन्तोष पन्तलाई शिख, तैयव शाहलाई मुस्लिम र विल्सन बिक्रम राईलाई हिमाली भेषमा उतारिएको छ । यही पोष्टरमा यी चारजना अभिनेत्री वर्षा राउतसँग केन्द्रित भएको वर्षाको तस्बिरले जनाउँछ । साथै अभिनेता अजश्र ढुँगाना, निर्मल शर्मा, योगी विकाशानन्द, शिवशँकर रिजाल (जोगिन्दर पानवाला)लाई पनि समेटिएको छ । अर्को सिक्स सिटरको पोष्टरमा पनि यी सबै कलाकारलाई समेटिएको छ ।

चौका दाउका परिकल्पनाकार एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटा हुन् । साँढे चार दशकदेखि आफु चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको उनले बताएका छन् । चौका दाउ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ ।

अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन् । सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्मलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ ।

चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतको अभिनय छ ।

प्रतिक्रिया