पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधन

इनेप्लिज २०७५ पुष ३ गते ४:०५ मा प्रकाशित

काठमाडौं, ३ पुस । पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो ।

कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको निनध भएको परिवारजनले जानकारी दिएका छन् ।

२०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए । पछि यिनी प्रधानमन्त्री पनि बनाइए ।

यसअघि उनी नेपाली कांग्रेसको सरकारमा परराष्ट्र मन्त्री थिए । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन सुरु गरेपछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए ।

नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया