नेपाल-अमेरिका सात दशक लामो कुटनैतिक सम्बन्ध

सन्तोष खडेरी २०७५ पुष २ गते २२:११ मा प्रकाशित

नेपालले आफ्ना दक्षिणी र उत्तरी भूगोलका दुई छिमेकी भन्दा पहिले र बेलायत पश्चात् दौत्य सम्बन्ध स्थापित गरेको दोश्रो मुलुक हो संयुक्त राज्य अमेरिका। दोश्रो बिश्वयुद्दको अन्त्य पश्चात् नेपालका तत्कालीन राणा शासकले नेपालको वैदेशिक सम्बन्धलाई तत्कालीन परिस्थिति बमोजिम विस्तार गर्न संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गर्ने र अन्य पस्चिमा राष्ट्रहरु संग सम्बन्ध विस्तार गर्ने रणनीति बमोजिम त्यतिबेलाको उदाउँदो महाशक्ती अमेरिका संग सन् १९४७ मा दौत्य सम्बन्ध स्थापित गरेको हो। बेलायतका लागि नेपाली आवासीय राजदूत केशरशमशेर जवराले अमेरिका पुगेर तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानलाई आफ्नो ओहदाको प्रमाण बुझाएका थिए भने यता नेपालमा भने दिल्ली स्थित राजदूत हेनरीले नेपालमा आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए। सन् १९५९ मा अमेरिकाले नेपालमा आफ्नो दूतावास स्थापना गर्नुपूर्व दिल्ली स्थिति दूतावासले नै नेपाल हेर्दथ्यो। उता नेपालले समेत वासिङ्टनडिसीमा नेपाली दूतावास सन् १९५८ फेबु्रअरिमा स्थापना गरेको हो।

नेपाल-अमेरिका दौत्य सम्बन्ध स्थापित भए यता नेपालबाट दुई राष्ट्रप्रमुखहरु राजा महेन्द्र र राजा बिरेन्द्रले अमेरिकाको औपचारिक राजकीय भ्रमण गरेका छन् भने त्यस्तै पहिलो जननिर्वाचित प्रधानमन्त्री बि.पि. कोईराला , पंचायती ब्यबस्थाका अन्तरिम सरकारका अध्यक्ष डा. तुलसी गिरी र प्रधानमन्त्री शेर बहादुर देउवाले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिहरु संग औपचारिक भेटबार्ता गरेका छन् ।अमेरिकाबाट हाल सम्म एकपटक उपराष्ट्रपति स्पाईरो एग्न्यु र परराष्ट्रमन्त्री कोलेन पावेलले नेपालको औपचारिक उच्चस्तरीय भ्रमण गरेका छन् भने पूर्व राष्ट्रपति जिम्मी कार्टर , पूर्व परराष्ट्रमन्त्री हेनरी किसिन्जर सहित तत्कालीन प्रथम महिला हिलारी क्लिन्टनले नेपालको भ्रमण गरेका थिए।

अमेरिकाले सन् १९५१ बाट नै आफ्नो युएस एड मार्फत नेपालको सामाजिक आर्थिक बिकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणका लागि सहयोग गर्दै आईरहेको छ भने अमेरिकी सरकारले पिसकोर कार्यक्रम अन्तर्गत पठाएका दक्ष स्वयंसेवकहरुबाट नेपालले विभिन्न क्षेत्रमा साझा सहकार्य गर्दै अनुभव आदानप्रदान गरि नेपाली जनशक्तिलाई दक्ष समेत बनाउँदै लगेको हो।

पछिल्लो समयमा नेपालको प्रजातान्त्रिक व्यवस्थालाई बलियो बनाउन, नेपालको शान्ति तथा समृद्धिका पक्षमा विभिन्न प्रकारका सहयोग गर्दै आएको छ । नेपालको राजनीतिक स्थायित्व,

आर्थिक सामाजिक बिकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणका लागि सहयोग गर्ने नीति अमेरिकाले अबलम्बन गरिरहेको छ त्यस्तै भुकम्प पस्चातको पुनर्निर्माणमा अमेरिकाले सहयोग गरिहेको छ । साथै गतबर्ष मात्र नेपालको सडक परियोजनाको विकास र विद्युतीय प्रसारण लाईन निर्माणका लागि मिलिनियम च्यालेन्ज परियोजना अन्तरगत ५० लाख अमेरिकी डलर बराबरको सहयोग प्रदान गरेको छ।

नेपालले अन्तर्राष्टिय शान्ति स्थापनाका लागि खेलेको भूमिकाका अमेरिकाले प्रसंशा गर्दै आईरहेको छ । नेपाल र अमेरिकाबीच लगानी सम्झौता समेत भएको छ । नेपालमा अमेरिकाबाट कृषिजन्य सामाग्री, एयरक्राफ्ट, मेडिकल तथा मेसिनरी सामाग्री आयात हुने गरेको छ भने अमेरिकमा गलैंचा, तयारी पोशाक, हस्तकला र गहना जाने गरेको छ । अमेरिका र नेपाल विभिन्न संस्थामा सदस्यका रुपमा समेत रहेका छन । संयुक्त राष्टसंघ, अन्तर्राष्टिय मुद्रा कोष, विश्व बैंक र विश्व व्यापार संगठनका अमेरिका तथा नेपाल सदस्य राष्ट हुन ।

द्वीपक्षीय उच्चस्तरीय भ्रमणहरु।

१) राजा महेन्द्रले आफ्नो पहिलो अमेरिकाको राजकीय भ्रमण सन् १९६० को अप्रिल २७ मा गरेका थिए जहाँ वासिङ्टनमा उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति आईजनआवरले स्वागत गरेका थिए भने अप्रिल २८ मा समग्र दक्षिण एशियाबाट पहिलो राष्ट्राध्यक्षका रुपमा उनले अमेरिकाको संयुक्त संसदलाई सम्बोधन गरेका थिए।

२) तत्कालीन राजा महेन्द्रले संयुक्त राज्य अमेरिकाको दोश्रो राजकीय भ्रमण सन् १९६७ को अक्टोबर ३० देखि डिसेम्बर ०३ सम्म गरेका थिए जहाँ उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति लिण्डे बि जोन्सनले स्वागत गरेका थिए। उक्त भ्रमणका क्रममा उनले अलस्का राज्यमा पुगि सिकार समेत खेलेका थिए।

३) सन् १९६० मा पहिलो जननिर्वाचित प्रधानमन्त्री बि.पि. कोईरालाले ईट हाउसमा तत्कालीन अमेरिकी राष्ट्रपति आईजनआवर संग भेटवार्ता गरेका थिए।

३) सन् १९६३ मा पंचायती ब्यबस्थाका अन्तरिम सरकारका अध्यक्ष डा. तुलसी गिरीले ह्वाईट हाउसमा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडी संग भेटवार्ता गरेका थिए।

४) सन् १९७० जनवरीमा तत्कालीन अमेरिकी उपराष्ट्रपति स्पाईरो एग्न्युले नेपालको औपचारिक भ्रमण गरि तत्कालीन राजा महेन्द्र र तत्कालीन प्रधानमन्त्री किर्तिनिधी बिष्ट संग भेट गरेका थिए।

५) सन् २००० मा तत्कालीन अमेरिकी परराष्ट्रमन्त्री कोलेन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए।

६) सन् २००२ मा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले ह्वाईट हाउसमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस संग औपचारिक भेटवार्ता गरेका थिए।

प्रतिक्रिया