मंगलबार, असार ३ २०७६
काठमाडौं ०८:३०
वासिङटन डिसी 22:45

सीमा पर्खाल बजेट पारित नभए फेडरल सटडाउन

यादव राज जोशी २०७५ पुष २ गते १:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका मेक्सिको सीमा पर्खाल लगाउन आवश्यक रकम विनियोजन नभए फेडरल सटडाउन हुने बताएका छन् । ट्रम्पले उक्त कुरा विगत पाँच दिनदेखि विभिन्न कार्यक्रममा बताउदै आएका छन् । ट्रम्प सरकारले अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउन पाँच बिलियन अमेरिकी डलर बजेट माग गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त भनाई धम्की मात्र नभएको ह्वाईट हाउसका सल्लाहकार स्टेफेन मिलरले आईतबार बताएका छन् । टेलिभिजन च्यानल सिबिएसको कार्यक्रम फेस अफ द नेसनलाई दिएको अन्तर्वार्तामा मिलरले उक्त कुरा बताएका हुन । अमेरिका मेक्सिको सीमा पर्खालको विषयमा सहमति नजुटेपछि अहिले संघिय बजेट पारित हुन सकेको छैन । फेडरल सटडाउन भएमा संघिय सरकारमा काम गर्ने सुरक्षा र अत्यावश्यक सेवा बाहेकका कर्मचारीलाई बिदा दिइनेछ ।

सल्लाहकार मिलरले अमेरिका मेक्सिको सीमा पर्खाल लगाउन आवश्यक रकम विनियोजन गर्ने विधेयकमा यो साता पारित नभए शुक्रबारदेखि संघिय (फेडरल) सरकारको सबै कामकारबाही बन्द हुने बताएका हुन । सिबिएसको फेस अफ द नेसनमा मिलरले भने, “ह्वाईट हाउस बजेट पारित गर्न अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउने विषयमा थप परामर्श गर्न आवश्यक ठान्दैन । अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउने बजेट पारित नभए संघिय सरकार शुक्रबारदेखि बन्द हुन्छ ।”

अमेरिका मेक्सिको पर्खाल अमेरिकाको राष्ट्रिय सावभौमताको मुद्दा भएको मिलरले बताए, यो नितान्त मौलिक मुद्दा हो । यो मुद्दा अमेरिका स्वतन्त्र राष्ट्र रहने वा नरहनेसंग जोडिएको छ । गैरुकानुनी अमप्रवासी रोकेर अमेरिकाको कामकाजी वर्गका लागि रोजगारी सुनिस्चित गर्नुछ । ह्वाईट हाउस अमेरिका मेक्सिको पर्खाल नीति कुनै पनि अवस्थामा पास होस भन्ने चाहन्छ, उनले भने ।

यसअघि दक्षिण अमेरिकी राष्ट्रहरुबाट अमेरिका प्रवेश गरेका युवालाई बसोबास अनुमति दिने नीति डिफर्ड एक्सन फर चाईल्डहुड एराइभल्स (डाका) मा सहमति नजुटेपछि वर्तमान राष्ट्रपति ट्रम्पको कार्यकालमा यसै वर्ष जनवरी २० देखि २२ सम्म फेडरल सटडाउन भएको थियो ।

अहिले सीमा पर्खाल सम्वन्धमा संसदमा छलफल चलिरहेको छ । डेमोक्र्याट थप दुईसाताका लागि संघीय बजेट व्यवस्थापन गर्दै सीमा पर्खालसम्वन्धमा निर्णय लिन उचित हुने बताउदै आएका छन् भने राष्ट्रपति ट्रम्प यस्तो व्यवस्था गर्न नसकिने बताउदै आएका छन् । पर्खाल निर्माणका लागि विनियोजन गरिएको पाँच बिलियन रकम बजेटबाट हटाएमा सजिलै बजेट पास हुने डेमोक्र्याटिक पार्टीले जनाएको छ ।

सिएनएनसंग आईतबार बिहान कुरा गर्दै डेमोक्र्याट पार्टीका प्रभावशाली नेता चक सुमरले कुनैपनि हालतमा अमेरिका मेक्सिको सीमा पर्खालको पक्षमा डेमोक्र्याटिक पार्टीले मत नदिने बताएका छन् । राष्ट्रपति ट्रम्पलाई थाहा छ,, पर्खालको पक्षमा आवश्यक भोट खस्दैन, उनले भने ।

स्रोतः अलजजिरा (तस्वीर)

प्रतिक्रिया