आइतबार, साउन २२ २०७९
काठमाडौं २१:२१
वासिङटन डिसी 11:36

हस्तकला नगरी लोकप्रिय हुँदै

इनेप्लिज २०७५ पुष १ गते ११:३७ मा प्रकाशित

काठमाडौँ, पुस १ गते । विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५औंँ कला नगरीका रूपमा घोषणा गरेपछि स्थानीय हस्तकलाको जगेर्नामा विभिन्न व्यापारिक सङ्घसंस्था सक्रिय भएका छन् ।

ललितपुर जिल्लालाई कला नगरी (क्राफ्ट सिटी) घोषणा गरिएको उपलक्ष्यमा स्थानीय कला, सम्पदाको संरक्षणमा उनीहरु क्रियाशील भएका हुन् । त्यस क्षेत्रमा भएका प्राचीन, मौलिक र परम्परागत कला विकास भएका आधारमा विश्व कला परिषद्ले उक्त शहरलाई कला नगरी घोषणा गरेको हो । नेपाल हस्तकला महासङ्घले गत शुक्रबार आफ्नो ४६औँ वार्षिकोत्सव तथा सातौँ हस्तकला दिवससमेत उक्त नगरीमा गरिएको छ ।

सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लका पालामा पाटन दरबार १६ र १७औँ शताब्दीमा निर्माण भएको हो । ललितपुर–२० स्थित पेमबहाल पोखरी १२औँ शताब्दीको उपलब्धि हो । उक्त पोखरी राजारजौटाले नभएर राक्षसले निर्माण गरेको विश्वास गरिएको छ । स्थानीय सुन्धारा र कृष्ण मन्दिर प्राचीन कला तथा कौशलबाट निर्माण गरिएको अर्को महत्वपूर्ण सम्पदास्थल हो । तीन सय वर्षदेखि चलेको खड्गजात्रा २४ वर्षदेखि रोकिएकामा गत असोजमा पुनः सञ्चालन गरिएको थियो ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको गृहनगर भएको यस क्षेत्रमा बहुमूल्य अमूर्त संस्कृति तथा कौशलपूर्ण हातबाट सिर्जित कलात्मक वस्तु, कुम्भेश्वर मन्दिर, स–साना चैत्यलगायत सम्पदा छन् । महानगरपालिका क्षेत्रभित्र उत्पादन भएका हस्तकलाका वस्तुको गुणस्तरीयता कायम गरी क्राफ्ट नगरीको उत्पादन अङ्कित स्टिकर टाँसी बिक्री गरेमा यहाँका उत्पादनले उच्च मूल्य प्राप्त गर्न सक्ने विश्वास लिइएको छ ।

वाङ्मय शताब्दी पुरुष जोशीले ललितपुर कला नगरीले काठमाडौँ उपत्यका मात्र नभर्र्ई सिङ्गो मुलुकको गौरव बढाएको बताउँदै नेपालको विविध कलाले नै राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताउनुभयो ।

तेस्रो शताब्दीमा मौर्य सम्राट अशोकले बनाउन लगाएका सत्य, त्रेता, द्वापर र कलियुग झल्कने चार स्तूप पाटनमा छन् । त्यसैगरी पाँचाँै शताब्दीमा बनेको हिरण्यवर्ण महाविहार पुरातात्विक महत्वको सम्पदा हो । यसलाई १२औँ शताब्दीमा भाष्करदेवले जीर्णोद्धार गरेको इतिहास पाइन्छ ।

रातो मच्छिन्द्रनाथको जात्रा परम्परा नरेन्द्रदेवले शुरु गरेकामा अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । नगरी घोषणासँगै यस्ता अमूर्त संस्कृति तथा परम्परालाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने चुनौती थपिएको छ ।

महानगरका धेरै स्थानमा विभिन्न खालका हस्तकलाका मुख्य क्षेत्र छन् । काष्ठकला, मूर्तिकला, थान्कालगायत कलामा स्थानीयवासी पुस्तौंँदेखि लाग्दै आएका छन् । पाटनमा टोलैपिच्छे फरक–फरक खालका हस्तकला पाइन्छ ।

परिषद् विश्वभरमा छरिएका प्राचीन कलाको संरक्षण तथा प्रवद्र्धनमा स्थापित संस्था हो । संयुक्त अधिराज्यमा केन्द्रीय कार्यालय रहेको यो परिषद्ले विभिन्न चरणमा अध्ययन गरेर शहरलाई ‘कला नगरी’ घोषणा गर्दै आएको छ । परिषद्का पदाधिकारीले महानगरपालिकाका विभिन्न स्थानमा घुमेर यहाँको मौलिकताका बारेमा अध्ययन गर्नुभएको थियो ।

एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा घादा हिज्जाबी कदामीले गत कात्तिक २८ गते उक्त महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘कला नगरी’ को प्रमाणपत्र दिनुभएको थियो । त्यसपछि त्यस क्षेत्रका विभिन्न सङ्घ संस्थाले दिपावली गरी खुशीयाली गर्दै आएका छन् ।

नगरी घोषणाले ललितपुरका साथसाथै सिङ्गो नेपालको पर्यटन विकासका साथै सांस्कृतिक पर्यटनको प्रवद्र्धन हुने छ । स्थानीय हस्तकला उद्यमीले आफ्ना उत्पादनलाई कसरी गुणस्तरीय र कलात्मक बनाउने भन्नेबारे प्रतिस्पर्धा हुन थालेको नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिनुभयो ।

ललितपुरको दरबार क्षेत्र मात्र विश्व सम्पदा सूचीमा सूचीकृत रहेकामा अब अन्य प्राचीन महत्वका सम्पदा तथा पुरातात्विकस्थललाई पनि विश्व सम्पदामा अङ्कित गर्न वातावरण मिलेको महानगरले जनाएको छ ।

करीब चार लाख जनसङ्ख्या रहेको महानगरपालिकामा ८० प्रतिशत नागरिक हस्तकलामा संलग्न छन् । महानगरले स्थानीय हस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनका लागि विश्वका सरोकार पक्षसँग समेत सहकार्य बढाउने महानगर प्रमुख चिरबाबु महर्जनले बताउनुभयो ।

प्रतिक्रिया