अध्यादेश नसच्याइए प्राविधिक कर्मचारीहरु आन्दोलनमा उत्रिने

इनेप्लिज २०७५ मंसिर २८ गते १०:३७ मा प्रकाशित

काठमाडौं, २८ मंसिर । सरकाले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले ८ बुँदे धारणा सार्वजनिक गर्दै अध्यादेश नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा प्राविधिक सञ्जाल नेपालले पत्रकार सम्मेलन गरेर कर्मचारी समायोजन अध्यादेश समग्र कर्मचारीको हित विपरित र केही उच्च प्रशासकहरुको हितमा रहेको, रापअनं प्रथमबाट छैठौं तहमा समायोजन हुँदा मात्रै शैक्षिक योग्यता राखिएकोले त्यो हटाउनु पर्ने, तीनवटै तहमा समायोजन भएका कर्मचारीहरु निश्चित मापदण्डका आधारमा तीनै तहमा सरुवा बढुवा हुन पाउनु पर्ने माग गरेको छ ।

तहगत वा श्रेणीगत एकद्वार प्राणाली मार्फत कर्मचारी समायोजन गरिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत संघबाट खटाउने व्यवस्थाले सिनियर कर्मचारी जुनियर कर्मचारीको मातहमा रहेर काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, श्रेणी विहिनदेखि विशिष्ठ श्रेणीका कर्मचारीलाई एकमुष्ठ समायोजन गर्नुपर्ने, पनि सञ्जालले माग राखेको छ ।

प्रदेश प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव जेष्ठताका आधारमा खटाइनुपर्ने, सेवाबाट अलग हुँदा पाउने सेवासुविधा खटिएकै श्रेणी वा तहको हुनुपर्ने लगायतका सुझाव पनि पेस गरेको छ । प्राविधिक सञ्जालका संयोजक रामप्रसाद मेहताले हालै सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितविपरित भएको दाबी गरे ।

प्रतिक्रिया