नेकपाको स्थायी कमिटी शनिबार

इनेप्लिज २०७५ मंसिर २८ गते ९:४६ मा प्रकाशित

काठमाडौँ, मङ्सिर २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले जानकारी गराउनुभयो ।

बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने उहाँले जानकारी गराउनुभयो ।

यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो ।

स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन । शनिबार बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पु¥याउनेछ ।   (रासस)

प्रतिक्रिया