निर्मला पन्त प्रकरण : ३४ प्रहरीमाथि कारवाहीको तयारी

इनेप्लिज २०७५ मंसिर २७ गते २२:५२ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीया कोशोरी निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा संलग्न ३४ जना प्रहरीमाथि कारवाही हुने भएको छ ।

एआईजी धिरु बस्न्यात नेतृत्वको छानविन समितिले अनुसन्धानमा जोडिएका ३४ जना प्रहरीमाथि कारवाहीको सिफारिस गर्न लागेको स्रोतले जनाएको छ । घटना अनुसन्धानमा लापरवाही गरेको, प्रमाण सुरक्षित राख्न नसकेको भन्दै उनीहरुमाथि कारवाही गर्न लागिएको हो ।

समितिले झण्डै ३ महिना लामो अध्ययन, अनुसन्धान गरेको थियो । अध्ययन, अनुसन्धानकै आधारमा समितिले केही दिनमै आईजीपी सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुुझाउने तयारी गरेको छ । प्रतिवेदनमा सबै प्रहरीको बयान समेटिएको छ ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा जोडिएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् भने अन्य ६ जना प्रहरी निलम्बनमा छन् । बस्न्यात नेतृत्वको टोलीले प्रतिवेदनमा एसपी विष्टदेखि निलम्बनमा परेका सबै र बाँकी कारबाहीको सिफारिसमा पर्न लागेका २६ जनाको भूमिकाबारे उल्लेख गरेको छ ।

तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा बलात्कार गरी हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । घटना भएको ४ महिना बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।

हत्यामा संलग्नताको आशंकामा काठमाडौंमै राखेर भीमदत्तनगर–१८ का विशाल चौधरी र प्रदीप रावलमाथि अनुसन्धान जारी छ । उनीहरुको डिएनए रिपोर्ट आइसकेको छैन ।

प्रतिक्रिया