सोमबार, असार २ २०७६
काठमाडौं १६:२७
वासिङटन डिसी 06:42

प्रेस विज्ञप्ति-विपिन कार्कीको अभिनय रहेको पछिल्लो फिल्म गोपीको पोस्टर बुधबार रिलिज भएको छ ।

इनेप्लिज २०७५ मंसिर २६ गते २२:३७ मा प्रकाशित

विपिन कार्कीको अभिनय रहेको पछिल्लो फिल्म गोपीको पोस्टर बुधबार रिलिज भएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ ।आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित गोपीमा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ । फिल्म आगामी माघ १८ मा रिलिज हुने तय भइसकेको छ ।

पोस्टरको डिजाइन टौवा क्रियसनका विजय बस्यालले गरेका हुन् । एकैप्रकारको पोस्टर आइरहेका बेला फरक र मौलिक पोस्टर डिजाइन गर्न पाएकोमा बस्याल सन्तुष्ट छन् । उनी भन्छन्, ‘मलाई धेरैपछि मन परेको पोस्टर हो यो ।’

विपिनको सडक दुर्घटनाका कारण फिल्मको पोस्टर निर्धारित समयभन्दा पछाडि रिलिज गरिएको हो । विपिनलाई यसै हप्ता गाईफार्ममा लगेर फोटो सुट गरिएपछि मात्र पोस्टर तयार पार्न सकिएको निर्देशक लामाले बताए । उनले थपे, पोस्टरको कलर कम्बिनेसन र कलाकारहरुको भाव मलाई चित्त बुझेको छ ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।

फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया