देशका मुर्ति जोगाउन नसक्नेले धर्म जोगाउन सक्दैनन् – गगन थापा

इनेप्लिज २०७५ मंसिर २६ गते १३:५५ मा प्रकाशित


राजघाट(मोरङ) २५ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालका मन्दिर भित्र रहेका मुर्ति जोगाउन नसक्नेले धर्म जोगाउन नसक्ने बताएका छन् । उनले धर्म, जात, वर्ग, लिङ्गका आधारमा जनतालाई लडाएर धर्मको रक्षा नहुने बताए ।
थापाले मङ्गलबार मोरङको दुर्गाबारी बजारमा नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिद्वारा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले अब सरकारको आलोचना कांङ्ग्रेसले गर्नु नपर्ने बताए ।

चुनाव जितेर सिंहदरवारको तातो कुर्सीमा बस्ने एक मात्र उदेश्यले नेकपा माओवादी र एमालेबीच एकीकरण भएको थापाले आरोप लगाए । उनले यो एकीकरण लामो समय नटिक्ने बताउँदै सरकार र पार्टीका नेता बीच सुरु भएको आरोप प्रत्यारोपले त्यही सङ्केत गरिरहेको दाबी गरे । लोभीपापीहरू मिलेर एकीकरण भयो यो दीर्घकालिक हुँदैन ,थापाको भनाई थियो । अब सरकारको आलोचना नारायण काजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र भीमबहादुर रावलले गर्ने उल्लेख गर्दै थापाले भने–सरकारमा बस्दा असल ब्यवहार देखाउने तत्कालीन एमालेका नेताहरू सरकारबाट बाहिर हुना साथ बरालिन थाल्छ । यो पुरानै रोग हो ।
काङ्ग्रेस हार्ने बुझ्दा बुझ्दै पनि देशलाई हार्न नदिन काङ्ग्रेसले २०७४ मा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गराएको उल्लेख गर्दै नेता थापाले निर्वाचन हार्दा काङ्ग्रेस हारे पनि निर्वाचन हुँदा देशले जितेको बताउनु भयो । सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै दुई तिहाईको बलले बनेको सरकार आफ्नै कारण कमजोर हुने थापाको धारणा थियो । योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम काङ्ग्रेस सरकारको पालामा सुरु भएको बताउँदै उनले करोडौं खर्च गरेर पोल पोलमा सरकार देखाउनु लज्जाको विषय भएको बताए ।
नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले सर्वहाराको नारा दिने कम्युनिष्टहरू खोल ओढेर घ्यु खान थालेको बताए ।

उनले कम्युनिष्टहरू सर्बहारा गरिव र विपन्न हुन्छन् भन्दै गरिव सुकुम्वासीका मत बटुल्नेहरू अहिले राता रात सम्पति कमाउने प्रतिस्पर्धामा रहेको बताए ।उनले भने – भाषणमा विपन्नलाई उराल्ने र ब्यबहारमा सम्पति कमाउनेहरू कम्युनिष्ट हुँदैनन ।

नेपाल महिला सङ्घ मोरङ १ का क्षेत्रीय सभापति गोमा नेपालले महिला दिदी बहिनीलाई सुरक्षा दिन नसक्ने सरकारले समृद्धिका कुरा गर्न नसुहाउने बताइन । उनले निर्मला पन्तका परिवारलाई न्याय दिन नसक्ने सरकारले मुलुकको विकास गर्न नसक्ने उल्लेख गरिन ।

नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिका सभापति वीरबल थापाको सभापतित्वमा भएको सभामा नेपाली कांङ्ग्रेस मोरङका पूर्व सचिव बाबुराजा ओझाले पनि बोल्नु भएके थियो ।सभामा तत्कालिन नेकपा माओवादी र नेकपा एमालेका ७७ जना (पीएम) पार्टीका सदस्यहरू सहित १९७ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । काङ्ग्रेस प्रवेश गर्नेहरूलाई प्रमुख अतिथि गगन थापा र विशिष्ट अतिथि क्षेत्रीय सभापति खड्ग फागोले फूल माला लगाएर स्वागत गरे ।रतुवामाई खबरका सम्पादक तथा प्रकाशक खड्ग वेदना (ठटाल) मङ्गलबार नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । उनलाई काङ्ग्रेस केन्द्रीय सदस्य गगन थापा र क्षेत्रीय सभापति खड्ग फागोले माला र अविर लगाएर पार्टीमा स्वागत गरे। लामो समय वाम राजनीतिमा क्रियाशील वेदनाले बामपन्थीले दुई तिहाईको सरकार बनाउँदा पनि विपन्न र गरिवको मुक्तिका लागि माखो मार्न नसकेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया