नेकपाको पार्टी कमिटी सर्वसम्मत

इनेप्लिज २०७५ मंसिर २२ गते ९:३६ मा प्रकाशित

चरिकोट, मङ्सिर  २२ गते ।   एकीकरण भएको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखा शाखाको नौ वटै स्थानीय तहको पार्टी कमिटीका पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका छन् ।

पार्टी कार्यदलको बैठकले जिल्लाका नौ स्थानीय तहमध्ये पाँचमा पूर्वएमालेका र चारमा पूर्वमाओवादी केन्द्रका सदस्यले नेतृत्व लिने गरी सहमति गरेको हो । चार सदस्यीय उक्त कार्यदलले पार्टीबाट आएको नाम र व्यक्तिका सम्बन्धमा लामो समयको छलफलपछि स्थानीय पार्टी कमिटीको नाम टुङ्गो लगाएको कार्यदलका सदस्य देवी खड्काले बताउनुभयो । कार्यदलमा पूर्वएमालेका तर्फबाट जिल्ला इन्चार्ज तथा सांसद पार्वत गुरुङ, जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल र पूर्वमाओवादी केन्द्रका तर्फबाट जिल्ला इन्चार्ज देवी खड्का र जिल्ला संयोजक गोपाल पाण्डे रहनुभएको थियो ।

पूर्वएमालेको भागमा भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका, मेलुङ गाँउपालिका, तामाकोशी गाँउपालिका र गौरीशङ्कर गाउँपालिका परेको छ भने पूर्वमाओवादी केन्द्रको भागमा जिरी नगरपालिका, वैत्येश्वर गाउँपालिका, कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिका परेको छ ।

कार्यदलले सर्वसम्मत रूपमा स्थानीय पार्टी अध्यक्ष र सचिवसहित ७५ सदस्यीय गाउँपालिकास्तरीय कमिटी र ८१ सदस्यीय नगरपालिकास्तरीय कमिटी पनि गठन गरेको छ ।

कार्यदलले सर्वसम्मत रूपमा चयन गरेको नामावली प्रदेश कमिटीमा पेश गर्ने र उक्त कमिटीले अनुमोदन गरेपछि जिम्मेवारी दिइने कार्यदलका अर्का सदस्य पार्वत गुरुङले बताउनुभयो ।

 

प्रतिक्रिया