मिथिला प्रदेश उपयुक्त नाम होइन

सञ्जय साह मित्र २०७५ मंसिर २० गते २३:२२ मा प्रकाशित

प्रदेशको नामकरणको चर्चा अहिले उत्कर्षमा रहेको छ । प्रदेश २ को नामकरण के हुनुपर्छ भन्ने विषयमा सामान्य नागरिकदेखि विशिष्ट अध्ययन गरेका बुद्धिजीवीहरुसमेतले आफ्नो तर्क दिइरहेको छ । विभिन्न सामाजिक संजालदेखि ग्रुपसम्म र चौकचौराहादेखि चियापसलसम्म औपचारिक तथा अनौपचारिक छलफल भइरहेको छ । कतिपय ठाउँमा त यस प्रकारको छलफलले झगडाकै रुप पनि लिने गरेको छ । विवाद र बहसले झगडाको रुप लिनुलाई राम्रो मान्न सकिँदैन । यो झगडा होइन, यो लेख मेरो निजी विचार हो । यसमा कसैको सहमति वा कसैको असहमति हुनसक्छ । विमति हुनु पनि स्वाभाविक हो र सम्मति हुनु पनि अस्वाभाविक होइन । कसैको चित्त दुख्ला, यसको लागि क्षमाप्रार्थी छु । कसैले आफूले आफ्नो तर्क राख्ने हो, कसैको चित्त दुखाउन खोजेको होइन । यस आलेखले जति हदसम्म कसैको चित्त दुखाउँछ, त्यत्ति हदसम्म म अग्रिम क्षमायाचना गर्दछु ।

मिथिला शब्द मिथिको नामबाट बनेको हो । वाल्मीकीय रामायणमा पनि मिथिलाको नामकरणको विषयमा यही भनिएको पाइन्छ । मिथि चाहिँ निमिका पुत्र हुन् । मिथिलाई मिथिलाको संस्थापक मानिन्छन् । मिथिलालाई विदेह पनि भन्ने गरिएको पाइन्छ । यसै कारण जानकीलाई वैदेही पनि भनिएको थियो ।

प्राचीनकालमा आर्यजनले आफ्नो गणराज्यको नामकरण राजन्यवर्गको कोही विशिष्ट व्यक्तिको नाममा गर्दथे । जसलाई विदेह भनिएको छ, यो विदेध नामबाट उत्पन्न भएको मानिन्छ । विदेध नै कालान्तरमा विदेह बन्न पुगेको हो ।

विदेह राजवंशको आरम्भ इक्ष्वाकुका पुत्र निमि विदेहबाट भएको मानिएको छ । उनी सूर्यवंशी थिए । सूर्यवंशीको गोत्र भारद्वाज र वंश चाहिँ सूर्य मानिन्छ । सूर्यवंशीहरु भारतको बुलन्दसहर, आगरा, मेरठ र अलीगढतिर बढी पाइन्छन् र यसै क्षेत्रमा सूर्यवंशीको उद्गम भएको एउटा अनुमान छ । एक स्रोतका अनुसार जानकीका पिता सीरध्वज जनक मिथिलाका पच्चीसौँ राजा थिए । वाल्मीकीय रामायणका अनुसार सीरध्वज बाइसौँ राजा थिए । बाइसौँ र पच्चीसौँ राजा मानिनुमा राजा हुनु तथा पुस्ता हुनुमा भिन्नता भएको हुन सक्छ ।

मिथिलामा जनक भनेको राजा बुझिन्छ । मिथिलाका संस्थापक मिथि हुन् अर्थात् यो शब्द कुनै व्यक्तिको नामबाट निस्केको हो भन्ने कुरो स्पष्ट छ ।
मिथिका पुत्र जनक थिए । मिथिपुत्र जनकलाई प्रथम जनक पनि भनिन्छ । मिथिपुत्र जनक चाहिँ आफ्ना प्रजालाई सन्तानसरह मान्दथे र प्रजाले पनि राजालाई पितासरह मान्दथे । यही सन्तान र पिताको नाता चाहिँ पदको रुप लिएको देखिन्छ । (नेपालमा यसको अर्को पनि उदाहरण पाइन्छ । आधुनिक नेपालमा राणाशासनका संस्थापक जंगबहादुर राणा हुन् । जंगबहादुर राणापछि उनका सन्तानले मात्र नभएर उनका भाइ–भतिजहरुले पनि जंगबहादुर राणा कहलिन थालेको देखिन्छ । विस्तारै के देखिन्छ भने जंगबहादुर राणाका पूर्वज वंशका मानिसहरुको बारेमा धेरैलाई थाहा छैन । केहीले जंगबहादुर राणा र केहीले छोटकरीमा जबरा धारण गरे । कुँवर लगभग लोप नै भइसक्यो ।) जनक प्रथमपछि नाम अरु नै भए पनि प्रजाले राजालाई जनक नै भनेको वा मानेको देखिन्छ ।
प्रथम जनकका पुत्र उदावसु उनीपछि राजा भए । उदावसुपछि नन्दिवर्धन, नन्दिवर्धनपछि सुकेतु, सुकेतुपछि देवरात राजा भए । देवराजपछि मिथिलाको राजा बृहद्रथ, बृहद्रथपछि महावीर, महावीरपछि सुधृति, सुधृतिपछि धृष्टकेतु, धृष्टकेतुपछि हर्यश्व, हर्यश्वपछि मरु, मरुपछि प्रतीबन्धक, प्रतीबन्धकपछि कीर्तिरथ मिथिलाको शासक बने । कीर्तिरथपछि देवमीढ, देवमीढपछि विबुध, विबुधपछि महीधक, महीधकपछि कीर्तिरात, कीर्तिरातपछि महारोमा र महारोमापछि स्वर्णरोमा मिथिलापति बनेका थिए । स्वर्णरोमापछि ह्रस्वरोमा मिथिला नरेश थिए, यहीँ ह्रस्वरोमापुत्र सीरध्वज थिए । सीरध्वज अयोध्याका राजा दशरथका समकालीन हुन् भन्ने कुरो सबैलाई थाहा छ ।

मिथिला भन्ने नाम मिथिको नामबाट उत्पन्न भएको हो भन्ने कुरो लगभग निर्विवाद छ । मिथिका पिता मानिएको निमिको शरीरबाट मिथिको जन्म भएको मानिएको छ । निमिको मृत शरीरलाई मथ्दा निस्केको पुरुषलाई मिथि नामकरण गरियो भन्ने उल्लेख पाइन्छ । यसरी मिथिला शब्द कुनै व्यक्ति वा तिनको वंश वा वंश परम्परालाई बुझाउने देखिन्छ । यसबाट यो अनुमान लगाउन पनि गाह्रो हुँदैन कि मिथिका वंशज कालान्तरमा मैथिल कहलिए ।
उसो भए मिथिलाको नामकरण हुनुभन्दा यस क्षेत्रको नाम के थियो त ?

मिथिलाको महात्म्यको विषयमा स्पष्ट पार्ने सबैभन्दा पुरानो ग्रन्थ वृहद्विष्णु पुराण हो । वृहद्विष्णु पुराणको मिथिला खण्डमा भनिएको छ कि गंगादेखि हिमालयको बीच पन्ध्र नदीले युक्त परम पवित्र तीरभुक्ति (तिरहुत) छ । यही तीरभुक्ति मिथिला सीताको निमिकानन हो, ज्ञानको क्षेत्र हो र कृपाको पीठ हो । जानकीको यो जन्मभूमि मिथिला निष्पापा र निरपेक्षा छन् । यो प्रयाग आदि तीर्थको पुण्य दिने छ तर रामको प्राप्ति गराउन समर्थ छैन । यो मिथिला हरेक प्रकारले निश्चित रुपमा रामलाई तुष्ट गर्ने किसिमको भएकोले यो विशेष छ । यो ठाउँ सीताको पवित्र जन्मस्थली हो । कतिपयले के दावी गर्दछन् भने मिथिला वेदकालीन भूमि हो ।

यथार्थमा सीताको जन्म र रामसित सीताको विवाह सम्पन्न भएपछि यस ठाउँको बारेमा धेरैले थाहा पाएका हुन् । मिथिलाको बारेमा सबैभन्दा स्पष्ट र सबैभन्दा आधिकारिक जानकारी दिने वृहद्विष्णु पुराणको मिथिला खण्डले मिथिलाको महात्म्य गाउँदा राम र सीतासम्म सजिलै पुगेको छ । यसबाट यो स्पष्ट हुन्छ कि वृहद्विष्णु पुराणको लेखन वा सम्पादन जानकीसीताको विहेपछि भएको हो वा अझ रामले लंका नरेश रावणलाई मारेर सीतालाई फर्काएर ल्याएपछि जुन रुपमा रामको प्रसिद्धि संसारमा व्याप्त भयो, त्यसपछि यस वृहद्विष्णु पुराणको लेखन भएको देखिन्छ ।

जब विष्णु पुराणलाई आधार मानेर मिथिलालाई पौराणिक सन्दर्भको भनी सबैको साझा भनिएको छ, त्यो होइन रहेछ । मिथिलाको पौराणिक आधार यही पुराणबाट साबित हुन्छ भने त्यही पुराणबाट यो पनि स्पष्ट हुन पुग्छ कि यो क्षेत्रको नाम मिथिला राखिनुभन्दा पहिले तिरभुक्ति वा तिरहुत थियो । यसै कारण निकैपछि यस क्षेत्रमा सिमरावन (सिम्रौनगढ) लाई राजधानी बनाई स्थापना गरिएको राज्यलाई तिरहुत पनि भनिएको थियो । तिरहुतको नामबाट यस प्रदेश २ को अन्य भागमा पनि फुलबारी छन् । तिरहुतिया गाछी प्रसिद्ध नै छ । सप्तरी जिल्लामा तिरहुत गाउँपालिका नै रहेको छ ।

जतिखेर सीरध्वज जनक मिथिलाका राजा थिए, ठीक त्यसैवेला मुजफ्फपुरभन्दा दक्षिण वैशाली जिल्लाको वैशाली भन्ने ठाउँमा सुमति राजा थिए । राजा सुमति चाहिँ सीरध्वज र दशरथका समकालीन हुन् । जहाँ मिथिलाको बाइसौँ वा पच्चीसौँ राजाको रुपमा सीरध्वजको चर्चा पाइन्छ, उहीँ सुमतीलाई चौतीसौँ राजा उल्लेख गरिएको पाइन्छ । यहीँ सुमतीको दरबारमा एक रात रामले पनि बिताएका थिए । गुरु विश्वामित्रको नेतृत्वमा भाइ लक्ष्मणसहित राम पनि जानकी स्वयंवरमा आउने वेलामा सबैजना वैशाली नरेश सुमतिको आतिथ्य ग्रहण गरेका थिए । वैशालीलाई संसारको पहिलो गणतान्त्रिक शासन व्यवस्था भएको राज्यको रुपमा पनि लिइन्छ । इसापूर्व छैटौँ शताब्दीदेखि यहाँ लोकतान्त्रिक विधिबाट शासक चुनिन थालेको देखिन्छ । गौतम बुद्धको समयसम्म वैशाली अविछिन्न रहेको इतिहास पाइन्छ । यहाँका शासकलाई बज्जि शासक भनिएको पनि पाइन्छ । बज्जि गणतन्त्रमा अष्टकूलको उल्लेख पाइन्छ । यहीँ अष्टकूलमध्ये एक कूल मिथिला पनि हो । जानकीको विवाह अयोध्याका राजकुमार रामसित भएपछि र ४५ वर्षको उमेरमा राम अयोध्याको राजा भएर रामराज्यको स्थापना भएपश्चात् तत्कालीन पुराण रचइता वा कविहरुले रामलाई विष्णुको अवतार मानी मिथिलाको वर्णन गरेको देखिन्छ ।

मिथिला वा जनकपुरलाई चिनाउने शब्दका पौराणिक आधारबाहेक अरु केही छैन । धनुषाधामको धनुषको पनि वैज्ञानिक अध्ययन हुन सकेको छैन । यद्यपि रामले स्वयंवरमा भाँचेको धनुषको एउटा टुक्रा चाहिँ हो भन्ने लोकविश्वास रहेको छ । यसमा सत्यता हुन सक्छ । यसलाई पूर्णतया अस्वीकार गर्न सकिँदैन तर प्राचीन जनकपुरलाई चिनाउने कुनै पुरातात्विक आधारको अभाव छ । यद्यपि प्राचीन वैशालीलाई चिनाउने पुरातात्विक आधारको कुनै कमी छैन । मुजफ्फरपुरभन्दा करिब पचीस किलोमिटर दखिन र हल्का पछिममा पर्ने प्राचीन वैशाली खण्डहरहरुलाई त्यहाँको सरकारले सुरक्षित राखेको छ ।
अतः मिथिलाको विरोध जायज हो । यदि पौराणिक आधारलाई मान्ने हो भने त्यहीँ पुराणमा मिथिला हुनुअघि यस क्षेत्रको नाम तिरभुक्ति वा तिरहुत भनिएको छ । र अझ यसको विस्तृत भौगोलिक र पुरातन स्रोतलाई हेर्ने हो भने यसको वास्तविक नाम बज्जि थियो । यस अर्थमा यस प्रदेशको नाम बज्जि, तिरभुक्ति वा तिरहुत हुनु ऐतिहासिक तथा पौराणिक दृष्टिले उपयुक्त हुन्छ ।

यस प्रदेशको नामको सम्बन्धमा मधेस पनि धेरै चर्चामा छ । मधेस र मधेसी सबैको साझा पहिचान हो । यो हाम्रो वर्तमान हो । मधेस र मधेसीको वर्तमान पहिचानले नेपालमै यस क्षेत्र र यसको बासिन्दालाई चिनाएको छ । साथमा यसले अन्तर्राष्ट्रिय पहिचान पनि काम गरेको छ । यसकारण सबै जातजाति, भाषाभाषी, समुदाय, सम्प्रदाय सबैलाई समेट्ने साझा पहिचान बन्न पुगेको मधेस नै पनि यस प्रदेशको नाम हुनुलाई सबैको सम्मान बुझिनु पर्छ । वर्तमान परिवेशमा मधेस नाम हुँदा कसैलाई पनि आपत्ति हुँदैन ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया