अनेसास बोर्ड अफ ट्रस्टीज् कार्यसमितिमा गीता खत्रीको अध्यक्षता ७ सदस्यीय समिति बन्ने सहमति ,खत्री द्वारा आभार प्रकट

इनेप्लिज २०७५ मंसिर १६ गते १३:०४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीजको २०१८–२२ का लागि बन्ने नयाँ कार्यसमितिमा गीता खत्रीको अध्यक्षता ७ सदस्यीय समिति बन्ने सहमति भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि पूर्व अध्यक्ष तथा तथा गुठीकि सह अध्यक्ष खत्रीले एक छापा बिज्ञप्ति जारी गर्दै पहिलो प्राथमिकतामा ५ वटा बुदाहरुमा कामको प्रारम्भ गर्ने जनाएकी छिन् ।

खत्रीले उक्त बिज्ञप्तिमा विगतमा जस्तै साथीहरूको भावना र सल्लाहलाई गहन रुपमा मनन गर्दै निर्वाचन प्रक्रिया भन्दा बाहिर रही अभिभावकीय भूमिका निर्वाह गर्न तत्पर रहेर नयाँ पुस्तालाई अनेसासको वृहत्तर विकासका लागि नेतृत्व गर्न उर्जा दिनुभएकोमा आदरणीय डा. श्याम कार्की प्रति आफू बोर्ड अफ ट्रस्टीजका सबै सदस्यहरूको तर्फबाट समेत विशेष आभार व्यक्त गरेकी छिन् ।

साथै उनले बोर्ड अफ ट्रस्टीजका अधिकांश सदस्यहरूको भावना, सल्लाह र रायलाई कदर गर्दै विभिन्न पदका लागि सम्भावित उम्मेदवारहरूको हालै भएको छलफलबाट यो सहमति भएको भनि समितिको नाम सार्बजनिक गरेकी छिन् ।

उक्त छापा बिज्ञप्तिको पूर्ण पाठ जस्ताको तस्तै :

बोर्ड अफ ट्रस्टीजका सबै सदस्य साथीहरूमा

बोर्ड अफ ट्रस्टीज् कार्यसमिति अध्यक्षको उम्मेदवार म गीता खत्रीको सप्रेम नमस्कार !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीजको २०१८–२२ का लागि ७ सदस्यीय नयाँ कार्यसमिति मेरो अध्यक्षतामा रुपमा गठन हुने सहमति भएको कुरा सबै ट्रस्टी सदस्यजनमा जानकारी गराउन चाहन्छु । बोर्ड अफ ट्रस्टीजका अधिकांश सदस्यहरूको भावना, सल्लाह र रायलाई कदर गर्दै विभिन्न पदका लागि सम्भावित उम्मेदवारहरूको हालै भएको छलफलबाट यो सहमति भएको हो । निर्वाचनप्रक्रिया संसारभरमै उपयुक्त प्रजातान्त्रिक प्रक्रिया भए पनि हालै विभिन्न चरणमा भएको छलफलले सानो संख्यामा सदस्यता भएको बोर्ड अफ ट्रस्टीजमा सम्पूर्ण सदस्यहरूको साझा भावना नै नेतृत्वचयनको उपयुक्त माध्यम हो भन्ने निष्कर्ष निकालेकाले यो सहमति सम्भव भएको हो ।

यस कार्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने बोर्ड अफ ट्रस्टीजका वर्तमान अध्यक्ष डा. श्याम कार्की, उपाध्यक्ष रोहिणी शर्मा, पुरस्कार समिति अध्यक्ष सीता पाण्डे, अनेसासका पूर्व अध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदीलगायत यस कार्यमा विभिन्न देशमा रहेर सहयोग गर्नुहुने सबै ट्रस्टी सदस्य साथीहरूप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

विगतमा जस्तै साथीहरूको भावना र सल्लाहलाई गहन रुपमा मनन गर्दै निर्वाचन प्रक्रिया भन्दा बाहिर रही अभिभावकीय भूमिका निर्वाह गर्न तत्पर रहेर नयाँ पुस्तालाई अनेसासको वृहत्तर विकासका लागि नेतृत्व गर्न उर्जा दिनुभएकोमा आदरणीय डा. श्याम कार्कीज्यूप्रति म बोर्ड अफ ट्रस्टीजका सबै सदस्यहरूको तर्फबाट समेत विशेष आभार व्यक्त गर्दछु । मेरो नेतृत्वमा गठन हुने नयाँ कार्यसमितिले आगामी चार वर्षमा देहायका क्षेत्रमा तुरन्तै कार्य प्रारम्भ गर्ने कुरा म यहाँहरुलाई विश्वास दिलाउँदछु ।

१. झण्डै तीन दशक लामो समयदेखि अविच्छिन्न रुपमा डायस्पोरामा नेपाली भाषासाहित्यको विकासविस्तारमा लागिरहेको यस संस्थाको केन्द्रीय कार्यालयलगायतका भौतिक अचल सम्पत्ति हालसम्म नभएकाले यसका लागि भवन र जमीनको खरिद गर्ने कार्य नयाँ कार्यसमितिको पहिलो प्राथमिकतामा रहेको तथ्य म प्रस्ट पार्दछु ।

२. अनेसासले हरेक दुई वर्षमा प्रदान गर्ने गरेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि विश्वभरिका नेपाली लेखकहरुबाट पुस्तक संकलन गरी मूल्याङ्कनप्रव्रिmयालाई पारदर्शी बनाउँदै निर्धारित समयमा पुरस्कारको घोषणा र वितरण गरी पुरस्कारको व्यापक सुधार एवं प्रभावकारिताका लागि तुरन्त कार्यारम्भ गरिनेछ ।

३. बोर्ड अफ ट्रस्टीज कार्यसमितिले अनेसास केन्द्रीय समितिलाई केन्द्र र च्याप्टरका गतिविधिहरूलाई थप व्यवस्थित गर्नेछ । आधुनिक सूचना र प्रविधिको उपयुक्त प्रयोग गरी सबै अभिलेखहरू अद्यावधिक गर्न केन्द्रीय कार्यसमितिसित सहकार्य गर्नेछ ।

४. अनेसासको विधानले निर्देश गरेको बोर्ड अफ ट्रस्टीजको कार्यक्षेत्रलाई पूर्ण रुपले पालन गर्दै यसलाई आगामी कार्यसमितिले विधानले निर्देश गरेको कार्यसीमालाई सव्रिmय भएर कार्यान्वयन गर्नेछ ।

५. अनेसास विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपालीहरूको साझा र विशुद्ध साहित्यिक संस्था हो । डायस्पोरामा नेपाली भाषासाहित्यको विकास तथा विस्तार गर्दै नेपाली भाषासाहित्यका माध्यमबाट नेपाली जनजीवन र नेपाली संस्कृतिसमेतलाई विश्वमाझ अस्तित्वमा ल्याउने अभियान गरिरहेको यस संस्थाका गतिविधिहरूलाई अझ विकासविस्तार गर्न बोर्ड अफ ट्रस्टीजको नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालेलगत्तै सबै ट्रस्टी सदस्यहरुको सुझाव सल्लाहसमेतलाई लिएर यसका थप कार्ययोजनाहरू सार्वजनिक गरिनेछ ।

पुनः यहाँहरूको प्रयासबाट सफल भएको कार्यसमितिको पदाधिकारी चयन प्रक्रियाको पहलप्रति यहाँहरू सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । मेरो समूहबाट कार्यसमितिमा निम्न सदस्यहरु रहनु भएको व्यहोरा जानकारी गराउन चाहन्छु ।

१) गीता खत्री -अध्यक्ष

२) पदम विश्वकर्मा -सहअध्यक्ष

३) पुरुषोत्तम सुवेदी -सहअध्यक्ष

४) शिव लामिछाने -सचिव

५) राम लामा अविनाशी -कोषाध्यक्ष

६) तीर्थराज अधिकारी -सदस्य

७) प्रा.डा. गोपी उप्रेती अध्यक्ष, पुरस्कार समिति

भवदीय,

गीता खत्री

अध्यक्षको उम्मेदवार अनेसास बोर्ड अफ ट्रस्टीज् कार्यसमिति २०१८–२०२२

प्रतिक्रिया