अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसमा ‘नेपाली संस्कृति र सद्भावना राजदूत’ को उपाधिले सम्मान गरिने

इनेप्लिज २०७५ मंसिर १६ गते १२:०६ मा प्रकाशित

ईस्वी सन् नयाँ बर्ष २०१९ अर्थात् जनवरी १,२०१९ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ । बिदेशमा बस्ने नेपालीहरुका लागि सम्झन सजिलो हुने र बिदाको दिन पनि भएकोले बिगत ६ बर्ष देखि चलिरहेको परम्परालाई निरन्तरता दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसलाई सफलताका साथ सम्पन्न गर्न नेपाली टोपी लगाएर खिचेका आफ्ना तस्बिर सन्जालका बिभिन्न संचार माध्यम मार्फत सार्वजनिक गर्न अनुरोध गरेको छ ।

नेपाली टोपी प्रतिष्ठानका तर्फबाट रोमानियाका नवराज पोखरेलले उक्त जानकारी भाईबर समूह मार्फत उक्त जानकारी दिनु भएको छ । संस्थापकद्वय डा. लेखनाथ काफ्ले, शंकर बन्जाडे र टोपी परम्पराको थालनी गर्नु हुने मित्र डा. गोविन्द रावत टोपी अभियानका अग्रज हुनु हुन्छ । यस अभियानमा पोखरेलले नवराज आफ्नो संलग्नता केही बर्ष अघि देखि रही आएको जनाउनु भएको छ ।

क्यानडाबाट २०१० नोभेम्बर देखि टोपी इभेन्ट (टोपी कार्यक्रम) को नामबाट कार्यक्रममा अनिवार्य टोपी लगाएर उपस्थित हुने परम्पराबाट शुरू भएता पनि सो क्रमलाई निरन्तरता दिन सकिएको थिएन भनि जनाइएको छ ।

नेपाली संस्कृतिको जगेर्ना र नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा स्थापित गर्नु हाम्रो उद्धेश्य हो । नेपाली टोपीले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपाली मूलभाषीको मात्र पहिचानका रुपमा नरहेर यसले सम्पूर्ण नेपालीहरुको साझा र मौलिक पहिचानको प्रतिनिधित्व गर्छ भनि भाईबर समूहमा नवराज पोखरेलले उक्त कुरा जनाउनु भएको छ ।

साथै जनवरी १, २०१९ का दिन आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं, तस्बिर (फोटो)खिचौं अनि गत बर्ष झै चौतारीमा र नेपाली टोपी प्रतिष्ठानमा अपलोड (उपारोपण)गरौं भनि अनुरोध गरिएको छ ।

प्रथम स्थान प्राप्त गर्ने तस्बिर (फोटो) पठाउने नेपालीलाई नेपाली टोपी प्रतिष्ठानका तर्फबाट ‘नेपाली संस्कृति र सद्भावना राजदूत’ को उपाधिले सम्मान गरिनेछ।

यस बर्षको शुरुमा अर्थात २०१८ को जनवरी १ तारिखमा चौतारीमा भएको पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिबसको अवसरमा नेपाली टोपी लगाई खिचिएको तस्बिर प्रतियोगितामा प्रथम स्थान ईटली निवासी नेपाली मित्र दिनेश बाला श्रेष्ठले प्राप्त गर्नु भएको थियो ।

चौतारी र नेपाली टोपी प्रतिष्ठानका तर्फबाट दिनेश बाला श्रेष्ठलाई २०१८ को ‘नेपाली संस्कृति र सद्भावना राजदूत’ को उपाधिले सम्मान गरिएको छ ।

नेपाली हुनुमा गर्व गरौं। २०१९ को लागि तस्बिर प्रतियोगिता शुरु भएको छ भने नेपाली टोपी लगाएर खिचिएको फोटो( तस्बिर) पठाउन अनुरोध गरिएको छ । जनवरी महिनाको १ तारिखसम्म प्राप्त तस्बिहरुहरु प्रतियोगितामा समावेश हुने छन भनि नवराज पोखरेल द्वारा जारी गरिएको वक्तब्यमा जनाइएको छ ।

 

प्रतिक्रिया