एचआइभी रोक्न सचेतना र स्कुल शिक्षामा जोड

इनेप्लिज २०७५ मंसिर १५ गते ११:४० मा प्रकाशित

काठमाडौँ, मङ्सिर १५ गते । एचआइभी सङ्क्रमण न्यूनीकरणका लागि सामाजिक सचेतना र स्कुल शिक्षामा जोड दिनुपर्ने आज ललितपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपा, ललितपुरको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै सहभागीले बेरोजगारी, बढ्दो शहरीकरण, अशिक्षा र दुव्र्यसनका कारण एचआइभी सङ्क्रमण बढ्ने गरेको बताएका छन् ।

विश्व एड्स दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी सदस्य पम्फा भुषालले एचआइभी भनेको आयातित समस्या भएको भन्दै सङ्क्रमण दर घट्दै जानु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

शहरीकरण र बेरोजगारीका कारण रोग सङ्क्रमण हुने गरेको भन्दै उहाँले प्रभावित क्षेत्रमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि सचेतना कार्यक्रमलाई प्रभावकारी बनाए शून्यमा झार्न सकिने अवस्था रहेको उहाँको भनाइ थियो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले एचआइभी सङ्क्रमणको वास्तविक तथ्याङ्क आएमा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न सहज हुने औँल्याउँदै यौनजन्य क्रियाकलाप र रगतको माध्यमबाट रोग सर्ने भएकाले यस्ता गतिविधिमा सचेतना अपनाउन र स्कुलमा पुगेर अभियान चलाउनुपर्र्नमा जोड दिनुभयो ।

महानगरपालिका–२ का वडाध्यक्ष राजेश महर्जनले एचआइभी रोक्न सामाजिक सचेतना र स्कुल शिक्षा महत्वपूर्ण हुने भन्दै श्रम क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र सानेपा ललितपुरका अध्यक्ष दानबहादुर थापामगरले सामाजिक सचेतनाका विभिन्न अभियानमध्ये एचआइभी न्यूनीकरणमा समेत केन्द्रले काम गर्दै आएको बताउनुभयो । उहाँले समुदाय र प्रहरीसँगको सहकार्यमा केन्द्रले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जानकारी गराउनुभयो ।
‘एचआइभी जाँच गराऔंँ, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नाराका साथ दिवसको सन्दर्भमा आय यहाँ कार्यक्रम गरिएको हो । कार्यक्रममा हेल्थ केयर फाउण्डेसनका राष्ट्रिय निर्देशक दीपक ढुङ्गेल, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका रणनीतिक सूचना अधिकृत वीरबहादुर रावल लगायतले एचआइभीको अवस्था र न्यूनीकरणका उपाएका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया