दिगो विकास र शान्तिका लागि सहकार्य – सु की

इनेप्लिज २०७५ मंसिर १५ गते ११:०६ मा प्रकाशित

काठमाडौँ, मङ्सिर १५ गते । म्यान्माका स्टेट काउन्सिलर आङसाङ सु कीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिनुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ लाई सम्बोधन गर्दै उहाँले हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने बताउनुभएको हो ।

दिगो विकास, समृद्धि र शान्ति सँगसँगै स्थापित हुनुपर्ने बताउँदै उहाँले पारस्परिक समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरीबी, अशिक्षाजस्ता एशिया प्रशान्त क्षेत्रका साझा समस्याको समाधान गर्न सकिने उल्लेख गर्नुभयो ।

सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले पनि सम्बोधन गर्नुभयो । नेता जोलीले आफूले हरेक पटक नेपाल भ्रमणमा आउँदा भ्रातृत्वको सन्देश पाउने उल्लेख गर्दै भारत विश्वव्यापी शान्ति र विकासका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन (युपिएफ) अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जी वास्लले स्वागत गर्दै सम्मेलनले दिगो विकासका लक्ष्य र शान्ति तथा सहकार्यका लागि सन्देश दिने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै सम्मेलन शुरु भएको थियो । सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना सहभागी हुनुहुन्छ । यस प्रकारको सम्मेलन नेपालमा पहिलोपटक भएको हो ।

प्रतिक्रिया