बहुउद्देश्यीय सामुदायिक भवन बनाउँदै चितवनको जमुनापुर हेल्प सोसाइटी

शिशिर सिंखडा २०७५ मंसिर ८ गते १९:४६ मा प्रकाशित

रत्ननगर, चितवन, ८ मंसिर ।
पूर्वी चितवनको रत्ननगर १२ जमुनापुरमा रहेको जमुनापुर हेल्प सोसाइटी चितवनले बहुउद्देश्यीय भवन निर्माण गर्ने भएको छ । २०६४ सालमा स्थापना भएको संस्थाको २ कठ्ठा जग्गा रहेको छ । सो जग्गामा सुविधा सम्पन्न ३ तले भवन निर्माण समेत शुरु गरिएको छ ।

एम्बुलेन्स सहितको निशुल्क क्लिनिक, सामुदायिक इ–पुस्तकालय, सामुदायिक सभाहल तथा सामुदायिक सीपमूलक तालिम कक्षा समेत सो भवनमा सञ्चालन हुनेछ । यस्तै सोही भवनमा सूचना केन्द्र, अतिथि गृह, सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था र शिवधारा दुग्ध उत्पादक सहकारी संस्थाको कार्यालय समेत रहने संस्थाका सचिव बिनोद अधिकारीले जानकारी दिए । भवनको हाल निर्माण कार्य भइरहेको र करिब १ करोड ४० लाख रुपैया खर्च भइसकेको छ भने भवन निर्माण सम्पन्न गर्न करिब ३ करोड खर्च हुने अधिकारीले बताए । २०७३ सालमा तत्कालिन सहकारी विकास मन्त्री अर्जुननरसिंह के.सी. ले सो भवनको शिलान्यास गरेका थिए ।

संस्थाको आज आयोजित चौथो वार्षिक साधारण सभा तथा अधिवेशनमा बोल्ने वक्ताहरुले संस्थाले अवलम्वन गरेको उद्देश्य पुरा गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष रविन्द्र जङ्ग थापाको अध्यक्षतामा भएको कार्यक्रममा उनले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव बिनोद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष रमेश बाबु कट्टेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका उपमेयर बिमला दुवाडी, कालिका नगरपालिकाका कार्यवाहक मेयर बिनोद रेग्मी, चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडी, वडा सदस्य बिमला खड्का, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भिष्मराज पौडेल, पूर्व अध्यक्ष ऋषिराम वाग्ले, संस्थाका सल्लाहकार, जनता बैंकका संचालक एवम् रोटरी क्लव अफ काठमाडौं नर्थका उपाध्यक्ष गौतम प्रसाद खनाल, संस्थाका संरक्षक राजेन्द्र बहादुर थापा, संस्थाका सल्लाहकार कपिलदेव सुवेदी, आर्थिक संकलन समितिका संयोजक शिवराम केसी, महिला सहकार्य समाज नेपालकी सचिव रिता अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा योग गुरु खडानन्द सुवेदी र महिला स्वयम्सेविका विष्णुमाया भट्टराई तथा संस्थामा आर्थिक तथा महत्वपूर्ण योगदान गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

इ–पुस्तकालय र सामाजिक विकासको लागि आर्थिक सहयोग प्राप्त

सो अवसरमा संस्थाको इ–पुस्तकालय संचालनको लागि लाग्ने खर्च रु. ६ लाख २१ हजार रुपैया रोटरी क्लव अफ काठमाडौं नर्थको तर्फबाट सहयोग गर्ने उपाध्यक्ष गौतम प्रसाद खनालले जानकारी दिए । यस्तैगरी जनता बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक विकासको लागि सो सोसाइटीलाई रु. १ लाख ५० हजार रुपैया आर्थिक सहयोग गरिएको थियो । सो रकम बैंकका संचालक गौतम प्रसाद खनाल तथा बैंकका रत्ननगर प्रमुख सुनिल पौडेलले संस्थाका कोषाध्यक्ष सुजिन्द्र थापालाई संयुक्त रुपमा हस्तान्तरण समेत गरेका थिए ।

पुनः अध्यक्षमा रविन्द्र जङ्ग थापा चयन

चौथो वार्षिक साधारण सभा तथा अधिवेशनबाट पुन रविन्द्र जङ्ग थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । सो समितिको उपाध्यक्षमा रमेश बाबु कट्टेल, सचिव बिनोद अधिकारी, कोषाध्यक्ष सुजिन्द्र बहादुर थापा, सहसचिव शान्ति वाग्ले चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा चन्द्र प्रसाद शर्मा पौडेल, दिप बहादुर भण्डारी, रामकृष्ण विक र पुनम गुरुङ्ग चयन भएका छन् । सो संस्थाको निर्वाचन कार्यक्रमको लागि निर्वाचन संयोजक मथुरा थापा र सदस्यहरु अशोक राज वाग्ले तथा विश्वहरि आचार्य रहेका थिए ।

प्रतिक्रिया