अनुदानको बीउ अपुग

इनेप्लिज २०७५ मंसिर ८ गते ६:२१ मा प्रकाशित

चितवन, मङ्सिर ८ गते । भरतपुर महानगरपालिकाले किसानलाई दिएको बीउहरू अपुग भएको छ । महानगरपालिकाको कार्यालयले किसानका लागि भन्दै ५० प्रतिशत रकम छुटमा बीउ अनुदान दिएको थियो ।
दिएको अनुदानको बीउ गरिब किसानलाई नपुगेपछि आफूलाई चाहिने भन्दै माग गरेका छन् । महानगरले गहुँ, तोरी, मुसुरोमा यस्तो अनुदान दिएको हो । गहुँ लगाउने समय अगावैदेखि बीउ खरिद गरेर किसानलाई दिन भन्दै तीनवटा सहकारीलाई रकम दिएको छ । भरतपुर महानगरपालिकाका लागि १३४ टन गहुँको बीउ आवश्यक छ । महानगरले भने २० टन बीउका लागि मात्रै अनुदान रकम दिएको छ ।
कात्तिकको दोस्रो हप्तादेखि गहुँ लगाउने सिजन शुरु हुन्छ । महानगरले २० टन गहुँको बीउ, साढे एक टन तोरीको बीउ, दुई टन मुसुरोको बीउमा अनुदान दिएको छ । किसानको माग अनुसार अनुदान रकम कम हँुदा सहुलियतमा बीउ खरिद गर्नबाट धेरै किसान वञ्चित छन् ।
महानगरको कृषि तथा पशुपन्छी व्यवसाय प्रबन्ध शाखाका प्रमुख विनोद लामिछानेले भन्नुभयो, रकम थोरै छ त्यसैले धेरै बीउमा अनुदान दिन सकिएन, १० लाख रुपियाँले तीनवटा बालीको बीउमा अनुदान दिएका छौँ । बीउ खरिद गरेर बाली लगाउन समस्या हुने किसानलाई थोरै भए पनि राहत हुन्छ भनेर यसो गरिएको उहाँले बताउनुभयो ।
अहिले गहुँको बीउ प्रतिकेजी ६३ रुपियाँ छ । चितवनमा गौतम र विजय जातका गहुँ लगाउने गरिएको छ । चाँडो पाक्ने भएकाले यी जातका बीउ सिफारिस गरिएको शाखाले जनाएको छ । किसानको सिफारिसमा उन्नत बीउविजन कृषक समूह, साइपाल बीउविजन कम्पनी र नेपाल एग्रोसिसमार्फत बीउ बिक्री भइराखेको छ । अनुदानमा पाएको बीउ सस्तो र राम्रो हुने भएकाले लिन आएको तर पाइएन, पटिहानीका हरिकृष्ण लामिछानेले भन्नुभयो ।
अनुदानको बीउ सहकारीले सकिएको भनेपछि उहाँ महानगरको कृषि शाखा कार्यालयमा आएर बीउ दिन अनुरोध गर्नुभएको थियो । किसानको मागलाई ध्यानमा राखेर अनुदानको रकम वृद्धि गर्नुपर्दछ, लामिछानेले भन्नुभयो, गरिब किसानले सस्तोमा किनेर लगाउन पाउने थिए । सहकारीले गत असोज ९ गतेबाट बीउ बिक्री गर्न थालेको थियो ।

किसानको लगत सङ्कलन गर्ने
भरतपुर महानगरपालिकाभित्रका किसान तथा कृषियोग्य जमिनको लगत सङ्कलन गर्ने तयारी भएको छ । महानगरको कृषि शाखाका अनुसार नगरभित्र कति कृषियोग्य जमिन छ, आवास गर्ने स्थान, कृषिमा आधारित किसान, पशु चौपायालगायतको विस्तृत विवरण लिनका लागि तथ्याङ्क सङ्कलन गर्ने तयारी गरेको हो ।
शाखा प्रमुख लामिछानेका अनुसार जिल्लाबाट स्थानीय पालिका अनुसार विकास निर्माणका काम हुने भएकाले नयाँ विवरण लिने तयारी गरेको हो । कृषिमा आधारित किसानको सङ्ख्या, पशुचौपायाको विवरण, कुनकुन मुख्य बाली, अन्य बाली, खेती हुने क्षेत्रफल, फल्ने अनुपातलगायत विस्तृत विवरण लिएर मात्र योजना निर्माण सहयोग पुग्ने भएकाले यस्तो तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
बेसलाइन सर्भे गर्ने गरी प्रश्नावली तयारी अवस्थामा रहेको छ । कार्यालयको योजनाअनुसार तोकिएको मितिबाट तथ्याङ्क सङ्कलन हुने भएकाले अहिले कुन बालीको उत्पादन कति भन्ने कुरा आउन नसक्ने जानकारी दिएको छ । जिल्ला कृषि विकास कार्यालय नभएकाले अब महानगरपालिकाले नै आफ्नो क्षेत्रको विवरण तयार पार्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया