बुधबार, माघ ५ २०७८
काठमाडौं १६:०७
वासिङटन डिसी 05:22

नेपालको बृद्ध आश्रमको लागि नर्थ क्यारोलाइनाका नेपाली आमा समूहद्वारा देउसी भैलो कार्यक्रम

इनेप्लिज २०७५ मंसिर ६ गते १५:५२ मा प्रकाशित

 

नेपालको बृद्ध आश्रमको लागि नर्थ क्यारोलाइनाका नेपाली आमा समूहद्वारा देउसी भैलो कार्यक्रम गरेका छन् । अमेरिकामा भर्खरै गठन भएको नेपाली आमा समुहले यस बर्षको तिहारमा नेपाली कला संस्कृति जगेर्ना गर्ने उदेश्यको साथ् आयोजना गरेको ३ दिने देउसी भैलो कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

नेपाली भेषभुषामा सुसज्जित आमा समुहले प्रत्येक घरको देउसी भैलो कार्यक्रम राष्ट्रिय गान बाट शुरुवात गरेका थिए । त्यस पछि देउसी भैलो खेल्दै प्रवास मा लोपन्मुख हुदै गएको संगिनी, बालन र देउडा जस्ता नाचगान प्रस्तुत गरि देउसी भैलो खेलेका नेपाली घरमा भरपुर मनोरंजन प्रदान गरेका थिए ।

परदेशमा यसरी आमाहरु भेला भएर आफ्ना नाति नातिनिहरुलाई आफ्नो कला संस्कृति देखाउन पाउदा आफूहरु अत्यन्तै खुसि भएको यस समुहका एक आमा बिमला बोहराले बताउनु भयो ।

यस्तो कार्यक्रमले कला संस्कृतिको सम्बर्द्धन र प्रबर्द्धन हुनुको साथ् साथै यस कार्यक्रम बाट सङ्कलित सम्पूर्ण रकम नेपालमा बृद्ध आश्रममलाई प्रदान गर्ने बताइएको छ ।

आउदो जाडो मा बाआमाहरुको लागि न्यानो भर्ने उदेश्य भएकोले यसरी सहयोग गर्न पाउनु आमा समुहको लागि गौरबको कुरा रहेको अध्यक्ष बिष्णुमाया भारतीले बताउनु भयो ।

परदेशमा बिशेष गरेर अमेरिकामा प्राय जसो आमाहरुलाई चुलो चुलेसो र घरमा नाती नातिनि हेर्नको लागि मात्र सिमित भैरहेको बेलामा अमेरिकामा नेपालीहरुको साझा संस्थाको रुपमा परिचित नाशा संस्था र टियनसिसीका सांस्कृतिक कमिटि प्रमुख बिशाल भारतीको अगुवाइमा केही महिना पहिला नौ जना आमाहरुको समूह बनाइ कार्यसमिति बनाइएको थियो ।

जस अन्तर्गत अध्यक्षमा बिष्णुमाया भारती, वरिष्ठ उपाध्यक्षमा सावित्री घिमिरे,उपाध्यक्ष इश्वरी लामिछाने, महासचिबमा बिमला बोहरा, कोषाध्यक्षमा लक्ष्मीदेवी लम्साल समितिमा पर्नु भएको छ ।

यसै गरि मनोनित सदस्यमा मेनुका मिश्र, जमुना रानाभाट, सुनिता भट्टराई, पबित्रा खड्का र टिका पौडेल हुनुहुन्छ । यो समुहले महिनाको दुई चोटी एक ठाउमा भेला भइ नेपाली कला संस्कृति सम्बर्द्धन प्रबर्द्धन को साथै नयाँ पीडिलाई पनि आफ्नो संस्कृति प्रति झुकाव वृद्धि गर्न विभिन्न कार्यक्रमहरु भजन कृतन, संगिनी नाच , बालन नाच देउडा नाच र आमाहरुको जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु प्रस्तुत गर्दै आइरहेका छन् ।

प्रतिक्रिया