मत्स्य विकासको क्षेत्रमा प्रदेश आत्मनिर्भरतातर्फ : राज्यमन्त्री यादव

सञ्जय साह मित्र २०७५ मंसिर ६ गते ०:५२ मा प्रकाशित

प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगन्द्र यादवले माछा उत्पादनमा प्रदेश आत्मनिर्भरतातर्फ उन्मुख रहेको बताएका छन् । अन्तर्राष्ट्रिय माछा दिवसको अवसरमा मत्स्य व्यावसायी संघ रौतहटद्वारा गरुडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले चालू आर्थिक वर्षमा तीन सय हेक्टरमा थप पोखरी खनेर माछापालनलाई प्रोत्साहित गर्न प्रति कठा दश हजार रुपैयाको दरले कृषकलाई अनुदान दिने बजेट निकासा भइसकेको तथा पुरानो पोखरीको मरम्मत गर्न, माछाको भुरा उत्पादनको लागि उद्योग स्थापना गर्न प्रदेशले ठूलो लगानी गरिरहेको स्पष्ट पारेका छन् ।

मत्स्यपालन व्यवसायलाई परम्परागतरुप भन्दा आधुनिक स्वरुपमा ल्याउन प्रदेश सरकारले योजनाबद्ध किसिमले काम गरिरहेकोले मत्स्यपालन व्यवसायमा लागेकाहरुले निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

संघका रौतहट अध्यक्ष तुलसीराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद शेख फूलबाबुले प्रदेश सरकारको नीति नै कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेशलाई आत्मनिर्भर बनाउने बताएका छन् । जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख राजनारायण यादवले देशको सातौँ ठूलो माछा उत्पादक जिल्ला रौतहट निकट भविष्यमै तेस्रो स्थानमा उक्लिने सम्भवना रहेको बताएका छन् ।

कार्यक्रममा करिब दुई सय व्यावसायीको सहभागिता रहेको थियो ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया