बुधबार, माघ ५ २०७८
काठमाडौं १६:४१
वासिङटन डिसी 05:56

हिमालयखबरको आयोजनामा शूभकामना कार्यक्रम

इनेप्लिज २०७५ मंसिर ४ गते ०:५६ मा प्रकाशित


ड्यालस (टेक्सस) – नेपाली समुदायका तीन मुख्य पर्वहरुको बिदाई तथा अमेरिकी समुदायको सन्निकट पर्वको अवसरमा हिमालय खबरले आइतबार युलेसमा शूभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

आइतबार दिउँसो स्थानीय फिस्टेलमा आयोजित कार्यक्रममा अमेरिकी तथा नेपाली समुदायका अगुवाहरुले शूभकामना आदान प्रदान गर्दै पर्वहरुले मानिसहरुलाई जुटाएर राख्ने धारणा व्यक्त गरे । प्रमुख अतिथीको रुपमा युलेस सिटीकी मेयर लिण्डा मार्टिनले आफ्ना अभिभावकहरु इस्टोनियाबाट खेदिएको र जर्मनको शरणार्थी शिविरमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै अझै पनि इस्टोनियाको संस्कृति, चाडपर्वहरुलाई मान्दै आएको उल्लेख गरिन् । उनले आफु पनि अमेरिकाको नेचुरलाईज सिटिजन भएको बताइन् ।

‘साँढे पाँच वर्षको उमेरमा म अमेरिका आएको हुँ, अहिलेसम्म पनि हामीले इस्टोनियाको संस्कृति, चाडपर्वहरुलाई मानिरहेका छौँ । चाडपर्वहरुले हामीलाई एक आपसमा निकट गराउन र जोड्न मद्धत गर्छ,’ उनले भनिन् ।

आफु युलेस जस्तो वहुजातीय, बहुभाषिकहरुको बसोबास भएको क्षेत्रको मेयर हुन पाएकोमा खुशी व्यक्त गर्दै मेयर लिण्डाले कडा मेहनत गर्ने र इमान्दारिता प्रस्तुत गर्ने हरेक आप्रवासीका लागि अमेरिकामा जुनसुकै क्षेत्रमा पनि सफल हुन गाह्रो नभएको बताइन् ।

मेयर मार्टिनले सबैले आफ्नो संस्कृतिलाई सम्मान गर्दै बचाएर राख्दानै आफ्नो पहिचान जोगाउन सकिने धारणा राखिन् । उनले नेपाली चाडपर्वका अवसरमा शूभकामना समेत व्यक्त गरेकी थिइन् ।

त्यस अवसरमा हालै युलेको पार्क एण्ड लिजर बोर्डमा नियुक्त नेपालीमुलकी इशा शर्माले युलेसका सार्वजनिक पार्कहरुलाई अझै राम्रो बनाउन के गर्नुपर्छ भन्ने बारेमा सुझावको अपेक्षा राखेको बताइन् । शर्मालाई केही साता अघिमात्र युलेस सिटी काउन्सिलले पार्क एण्ड लिजर बोर्डमा मनोनयन गरेको थियो ।

युलेस सिटी तुलनात्मक रुपमा सानो भएपनि १६ वटा पार्कहरु छन् । तीनसय एकड जमिन पार्कले ओगटेको छ । यिनमा १४ एथलेटिक्स फिल्ड, ४ वटा टेनिस कोर्ट, चार भलिबल ग्राउण्ड, पाँचवटा स्टेज सहितका पार्कहरु छन् । यी पार्कहरुलाई व्यबस्थित गर्नका लागि सिटीमा अलग्गै समिति कृयाशील छ ।

कार्यक्रममा नेपाली समुदायका तर्फबाट धारणा राख्दै गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाज क्षेत्रका संयोजक गौरीराज जोशीले डिएफडब्लु नेपाली समुदायको सबैभन्दा द्रुत गतिमा संख्या बढ्दै गएको स्थान रहेको उल्लेख गरे । ‘त्यसमध्य पनि युलेस नेपालीहरुको सर्वाधिक आकर्षणको स्थान भएको छ,’ जोशीले भने ।

उनले अमेरिकामा भाषाको, शीपको अभावले पछि परेपनि धेरै नेपालीहरुले प्रगति गरेको उल्लेख गर्दै हामीलाई के दियो भन्ने भन्दा पनि हामीले के दिन सक्यौ भन्ने बारेमा पनि अब सोच्नुपर्ने बताए ।

कार्यक्रममा युलेस सिटीका काउन्सिल मेम्बर सलमान भोजनीले नेपाली समुदायको सकृयता र चासोसँगै हरेक त्रैमासिकमा समुदायसँग बैठक भैरहेको जानकारी दिए । ‘त्यसका लागि सिटीले फोकल पर्सनका रुपमा सिर्जना शर्मा पोखरेललाई तोकेको छ, हामीले नियमित रुपमा बैठक गरिरहेका छौं । समुदायका केही कुराहरु छन् भने उहाँ (सिर्जना) मार्फत वा सिटी अफिसमा आएर सिधै राख्नसक्नुहुन्छ,’ उनले भने ।

गत वर्षको निर्वाचनमा निर्वाचित भोजनीको विजयमा नेपाली समुदायको निकै ठूलो सहयोग थियो ।

कार्यक्रममा नेपाली समुदायका अगुवा प्रभात दीक्षितले धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले अमेरिकी र नेपाली समुदायलाई एक आपसमा निकटता ल्याउन मद्धत गर्ने धारणा राखेका थिए ।

हिमालयखबरका प्रधान सम्पादक विजय घिमिरेको स्वागत मन्तव्य तथा भीषण न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा अमेरिकी राजनीतिमा कृयाशील व्यक्तित्वहरुले नेपाली समुदायलाई राजनीति, सामुदायिक गतिविधिमा कृयाशीलत हुन अपिल गरेका थिए ।

त्यस अवसरमा नृत्य एकेडमी मण्डलाको संयोजनमा साना नानीहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै चाहना खरेल र ओजस्वी अर्यालले समेत नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया