मागेर कहिलेसम्म गुजारा चल्छ ?

बाबा राजेश्वरी थापा ढकाल २०७५ मंसिर ३ गते २:१७ मा प्रकाशित

“बनेको छ पहराले यो छाती मेरो।
बगेको छ पहराले रगतमा मेरो।
पखेरीमा जन्मी,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो।
खोसेको रोटीले मेरो पेट भरिन्न।
मागेको धोतीले मेरो लाज छोपिन्न।
घोटिएर हात पाऊ झरी जाओस ऐसा
तर कोहि अगाडी यी हात जोडिन्न”

हुन त यो गीत पुरानो भइसक्यो तर लोकप्रिय त्यत्तिकै छ, जति पहिले थियो । यो गीत सुनेपछि हरेक राष्ट्रभक्तको छाती गर्वले फुल्ने गर्छ । यो गीतलाई आज सम्झनु बिदेशमा नेपालीले अहिले बनाएको छवीको कारणलाई जोड्नको लागी हो।

हिजो नेपाललाई संसारको उच्च शिखर सगरमाथाको देश अनि बहादुर र इमान्दार गोर्खालीहरुको देश भनेर चिनिन्थ्यो। सगरमाथाको उचाईमा धावा बोल्ने त संसारमा कोही निस्केका छैनन् तर ब्रिटिश गोर्खा सैनिकले बनाएको इमान्दारिता र बहादुरीको पहिचान अहिले फेरिएको छ । नेपाल र नेपालीको बैदेशिक प्रतिष्ठा फेरिएको छ। कुनै बैदेशिक सभासमारोहमा ‘म नेपाली’ भनेर पहिचान दिएको केही समयपछि प्रतिक्रिया आउछ,’नेपाली त सार्है गरीब छन, त्यहा त भोकमरी छ, यस्तो छ, उस्तो छ’। गोर्खा सैनिकको बहादुरी, इमान्दारिता र सगरमाथाको उचाई भन्दा पनि गहिरो तिरस्कार सहनुपर्छ।

नेता र राजनितिज्ञहरुलाई दोष दिने जमातमा मेरो नाममा जोड्न चाहन्न। समाज र सामाजिक संरचनालाई दोष दिन्छु म।

दुई हप्ता अगाडी एउटा “नेपाल फर्क अभियान” सम्बन्धी एउटा लेख पढेर आफैलाई सोधेको थिए। “खाडी र अन्य मुलुकमा श्रम बेच्नेलाई नेपाल फर्क अभियानमा सहभागी गराउने कि नगर्ने ? जब जब रोग(ठुला) ले च्याप्छ, अप्ठ्यारो पर्छ तबतब चन्दा संकलन गर्न प्रवासी नेपालीको प्रयोग गरिन्छ अझ राम्रो भाषामा भन्नु पर्दा फेसबुके राजनीति, विज्ञापन गर्दा प्रवासीलाई गुहारिन्छ, अनि नेपाल फर्क अभियानले यो कार्य असर पर्दैन?”

त्यसै गरी अमेरिका बस्ने एकजना प्रतिष्ठित व्यक्तिले बिदेश पलायन भएका दक्ष जनशक्ति नेपाल फर्किनु पर्ने तीनवटा महत्वपुर्ण कारण दर्शाउनु भएको रहेछ, त्यसपछि उहाको फेसबुक हेरेको थिए, र देखे महाशयले आफ्नो जन्मोत्सवमा चन्दा संकलन गरेर कुनै एउटा विध्धालयलाई कम्प्युटर दान गर्ने योजना बनाउनु भएको रहेछ, बीस डलर सम्म मागिएको रहेछ।

चन्दा मागेर उन्नाइसबटा कम्पुटर दान गर्ने डाक्टरसाहेबको महानता भन्दा मलाई श्रद्धा जागेर आयो । खाडीको ५५ डिग्रीमा पोलिएर पनि रवि लामिछानेको कार्यक्रम हेरेर आफ्नो र परिवारको पेट काटेर दशबीस हजार रुपैया दु:खी र रोगीहरुलाई नेपाल पठाई दिने ती श्रमजीवी पौरखी हातहरुलाई।

अनि सम्मान जागेर आयो नेपाल सुन्दरी श्रींखला खतिवडा जो नेपालको प्राकृतिक सौन्दय विश्वसामु पुर्याउन र नेपाललाई सुन्दरीहरुको देश भनेर चिनाउन दिलो ज्यान दिएर लागेकी छन्। यही नव लाहुरेहरुको बिदेशीहरुसंग नेपालको नाम बेचेर चन्दा संकलन गरेर नेपालमा समाज सेवाको झ्याली पिट्ने व्यवहारले गर्दा नेपाल दिनप्रतिदिन अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम हुदै गइरहेकोछ।

नेपालमा दक्ष जनशक्ति छन र उनीहरुले आफ्नो स्थानबाट देश विकासमा सक्दो योगदान दिएकाछन। बिदेशमा दक्षता प्राप्त गर्ने बित्तिकै नेपाल फर्किएर देश विकासमा योगदान पुर्याउने, गरीबीको बाध्यताले बैदेशिक रोजगारीमा गएका र आफ्नो स्तर उकासी नेपाल फर्केर आफ्नो उद्धम गर्ने युवाशक्ति पनि प्रसंशाका पात्र हुन तर ताक परे तिवारी नत्र गोतामे को रोल खेल्ने चाही प्रसंशाका पात्र होइन, ती समाजका स्वार्थी भाइरस हुन।

नेपालमा दक्ष जनशक्ति छैनन्, देश विकास गर्न बिदेश पलायनभएका, विशेष गरी विलासिताको मोहमा फसेका( अति विकसित देशहरु अमेरिका, अष्ट्रेलिया, युरोप) हरुको जरुरत छैन भन्ने उदाहरण धुर्मुस सुन्तली फाउण्डेसनले भुकम्पपिडीतलाई घर बनाउने बेलामा देखाईसकेका छन्।

भुकम्पपिडीतको सहयोगको लागी एन आर एन को नाममा चन्दा उठाउन हरेक प्रवासीले आफ्नो ठाउबाट प्रयास गरे, बिदेशका सडक सडकमा उभिएर ‘हेल्प नेपाल’ लेखिएका व्यानरहरु समेत बोकेर चन्दा संकलन भयो। एन आर एन मा थुप्रै अनि अति दक्ष जनशक्ति र प्रशस्त रकम हुदाहुदै पनि नेपालमा भएका धुर्मुससुन्तलीले अग्रता लिए। नेपाल विकास गर्न बिदेशमा संकलन गरिएको चन्दा भन्दा पनि देशभक्तिको इच्छाशक्तिको जरुरत पर्छ भन्ने कुरा भ्रम होइन, तीतो सत्य हो।
If you give a man a fish, you feed him for a day.If you teach a man to fish you feed him for a lifetime“ – Confucius

कन्फुसियसको यो भनाई अनुसार,”यदि कुनै व्यक्तिलाई एउटा माछा दियो भने उसको पेट एकदिनलाई भरिन्छ तर उसलाई माछा मार्न सिकायोभने उसले पेट बांचुन्झेल भर्छ। नेपाललाई पनि एकछाक भोक टारिदिने होइन जीन्दगीभर आफ्नो भोक आफै मेटाउन सक्ने स्वाबलम्बी र स्वाभिमानीहरुको जरुरत छ। यता नभए उता, उता नभए यता भन्ने मानसिकता भएकाहरुले समाज धमिल्याउने काम मात्र गर्छन्।

बिदेशमा बसेर नेपालमा हिरो बन्न बिदेशीको पाऊ मलेर दुईचारजोर सुकिला कपडा र दुईचारवटा रंगीविरंगी सामान नेपाल पठाएर समाजसेवाको प्रचारप्रसार गर्नु सेवा होइन, सोख हो किनकी प्रवासमा जब रक्सीको मातचढ्छ अनि मात्र राष्ट्रीयताको पीडाले पोल्न शुरु हुन्छ।

प्रवासी नेपालीले केही गर्दैगरेका छैनन् भन्ने पटक्कै होइन, नेपाली चाडपर्व, कलासंस्कृतीको जगेर्ना योगदान पुराइरहेकाछन तर उनीहरुविना देशविकास हुदैन भन्ने भ्रम पाल्नु चाहि व्यर्थ हो। नेपालका बिरामीको उपचार गर्न क्यामब्रिज र अक्सफोर्डबाट एमबिबीस गरेका डाक्टर होइन, नेपाली माटोमा भिजेको डाक्टर चाहिन्छ किनकी नेपालका बिरामी अझै पनि बोक्सीले डसेको, नाग लागेको भन्ने जस्ता समस्या लिएर आउछन, झाक्री र धामीको शैलीमा बिरामीको मानसिक रोगको उपचार गर्ने क्षमता नेपाली माटोमा भिजेको डाक्टरसंग नै हु्न्छ ।दुई दिन हेलिकप्टर चार्ट्ड गरेर स्वास्थ शिवीर चलाएर रोगको निर्मुल हुदैन न त बिरामीको संख्या नै घट्छ।

यदि युवाशक्तिलाई देशविकासमा अग्रसर गराउने हो भने खाडी र अन्य मुलुकमा श्रम बेच्न जाने युवा शक्तिलाई रोक्नुपर्छ। हरेक आमाबाबुले छोराछोरीलाई अष्ट्रेलिया पठाउन बैंकबाट ऋण लिन बन्द गर्नु पर्छ, पी आर र भिषा छ भन्दैमा ठुलाबा र काकाको उमेरका व्यक्तिलाई ज्वाई बनाउनुहुदैन, अनि जो बैदेशिक कन्सल्टेंसी खोलर दलाली गरीरहेका छन, उनीहरु पनि इमान्दार बन्नुपर्छ।रेमिटान्स बढाउन खाडी र अन्य मुलुक श्रम बेच्ने प्रवासीहरुको ठुलो हात छ भने हुण्डी र अन्य माध्यमबाट नेपालमा रहेको आफ्नो सम्पति बेचेर अवैधरुपमा बिदेश लैजानेहरुको लागी कानुन बनाउने काम सरकारको हो।

नेपालमा रहेका रोजगारदाताले पनि कर्मचारी चयन गर्दा नेपालमै शिक्षा आर्जन गरेका जनशक्तिलाई पहिलो प्राथमिकता दिनुपर्छ। नेपाल फर्किनेहरुको ठुलो संख्या आफ्नो अप्रवासी निवेदन असफल भएकाहरुको हुन्छ।

अप्रवासी निवेदन सफल पार्न जुन तहसम्म पनि गिर्नेहरुको जमात पनि प्रशस्त छ र जसको कारण नेपालको अन्तराष्ट्रीय क्षेत्रमा बदनाम पनि भएको छ।यस सम्बन्धमा पनि सरकार र सरकारका कुटनीतिक प्रतिनिधिहरुको भुमिका गहन हुनु जरुरी छ।

बिदेश पलायन भएकाहरु नेपाल फर्किनुहुदैन भन्ने होइन। नेपाल फर्केर देशको अर्थतन्त्र बढाउने काममा लाग्नुपर्छ, आफुले सिकेका कुराहरुको सदुपयोग गर्नुपर्छ। समाजलाई सकारात्मक बाटो तिर लाग्ने कोशिस गर्नुपर्छ। अमेरिका र युरोपसंग दाजेर अमेरिकामा यस्तो छ युरोपमा उस्तो छ भनेर नकारात्मक उर्जा बढाउनेतिर लाग्नुहुदैन। न त आमा नराम्री हुदैमा नाता टुट्छ न त छोराछोरी नराम्रा हुदैमा माया कम हुन्छ। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।

 

प्रतिक्रिया