बुधबार, माघ १२ २०७८
काठमाडौं ०२:१६
वासिङटन डिसी 15:31

महिला दुनाटपरी उद्योगतर्फ आकर्षित

इनेप्लिज २०७५ कार्तिक ३० गते ११:५८ मा प्रकाशित

बेझाड, कात्तिक २९ गते । ग्रामीण भेगका महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ काँसजरीस्थित चेतनामूलक आमा समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो ।

दुनापटरी उद्योग गाउँका महिलाका लागि आयआर्जन गर्ने माध्यम बनेको छ । जङ्गलमा खेर गएका सालको पातबाट उनीहरुले दुनापटरी बनाउँदै आएका छन् । महिलाले फुर्सदको समयलाई सदुपयोग गरी घरायसी कामकाजसँगै दुनापटरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् । “साँझ–बिहान घरको काम सकाएर दिउँसो फुर्सदमा दुनाटपरी बनाउन थाल्छु,” स्थानीयवासी सञ्जु मल्लले भन्नुभयो, “घरमा दिनभर टिभी हेरेर तथा छिमेकीसँग गफ गरेर समय बित्दथ्यो, अहिले सालको लाफा लगाउने र समूहलाई बिक्री गर्न पाइएको छ ।” सालको लाफा लगाएर छोराछोरीको पढाई खर्च, खाजाखर्च र घरायसी खर्च चलाउन सजिलो भएको उहाँको भनाइ छ । काँसजरी क्षेत्रका महिला अहिले सालको लाफा लगाउने कार्यमा कस्सिएका छन् ।

स्थानीयवासी सीता मल्लको दैनिकी पनि हिजोआज जङ्गल गई सालको पात टिप्ने र लाफा लगाउने कार्यमै बित्ने गरेको छ । यस व्यवसायबाट आयआर्जन गर्न सहज भएको उहाँ बताउनुहुन्छ । “विगतमा रोजगारी सिर्जना हुने खालको उद्योग नहुँदा निकै दुःख झेल्नु पथ्र्यो, अहिले गाउँमै आम्दानी गर्न सक्ने भएका छाँै,” मल्लले भन्नुभयो ।

तीन महीनाअघि यहाँ उद्योग सञ्चालनमा आएको हो । आमा समूहका सदस्यले पालैपालो आफैँ उपकरण चलाएर दुनाटपरी उत्पादन गर्ने गर्छन् । अहिले गाउँघरमा हुने शुभकार्य, विवाह, व्रतबन्धलगायत कार्यमा दुनाटपरीको माग बढ्न थालेको आमा समूहका अध्यक्ष शोभाकुमारी खड्काले बताउनुभयो । “गाउँघरमा भोजभतेरको समयमा प्लास्टिकका सामान प्रयोग हुने गरेकामा अहिले दुनाटपरीको प्रयोग हुन थालेको छ,” उहाँले भन्नुभयो । एक सय थान टपरी रु २५० तथा १२० थान दुना रु एक सयमा बिक्री हुँदै आएको छ ।

आमा समूहले रामपुर नगरपालिकालाई प्लास्टिकमुक्त नगर घोषणा कार्यक्रममा सघाउ पु¥याउने उद्देश्यका साथ सो उद्योग सञ्चालनमा ल्याएको हो । रु तीन लाख ५० हजारको लागतमा दुई उपकरण खरीद गरी दुनाटपरी उत्पादन थालेको आमा समूहका पूर्वअध्यक्ष सीमादेवी राना बताउनुहुन्छ । समूहमा आबद्ध महिलाले मात्र नभई अन्य महिलाले पनि सो कार्य गर्दै आएका छन् । महिला उद्योग–व्यवसाय चलाएर आफैँ उद्यामी बनेका छन् । सो उद्योगमा महिलाको आकर्षण बढ्दै गएको छ । उद्योगलाई निरन्तर सञ्चालन गर्न सकेमा महिलालाई स्वरोजगार बन्न मद्दत पुग्ने देखिन्छ ।

प्रतिक्रिया