अमेरिकाद्वारा प्रदान गरिने राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान पुरस्कार लालगोपाल सुवेदीलाई

इनेप्लिज २०७५ कार्तिक २८ गते १४:३७ मा प्रकाशित

राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान अमेरिकाद्वारा हरेक वर्ष प्रदान गर्ने पुरस्कारका लागि गत हप्ता गठित तीन सदस्यीय निर्णायक समितिले यस वर्षको लागि कवि लालगोपाल सुवेदीलाई घोषणा गरेको छ ।

साहित्यकार भारती गौतम, साहित्यकार गोवर्धन पूजा र संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले शैवको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली साहित्यमा तीस दशकदेखि निरन्तर सक्रिय कवि लालगोपाल सुवेदी अहिले भर्खरै सम्पन्न अनेसासको निर्वाचित् सचिव हुनभने बोष्टन च्याप्टरका अध्यक्ष पनि हुन् । एक दर्जन कृति प्रकाशित गरिसकेका सुवेदी छन्द कविता र गद्य कविता दुवैमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत छन्। नेपाली भाषा साहित्यमा राम्रो दख्खल भएका सुवेदीका बारेमा प्रायः सबै समालोचक एवं साहित्यकार परिचित छन् । यस राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानबाट यस अघि पुरस्कृत भारती गौतम, दीनेश राजभण्डारी र गोवर्धन पूजा बोष्टनमा बसेर नेपाली भाषा साहित्यका लागि सक्रिय व्यक्तित्व हुन् । बोष्टनमा बसेर नेपाली भाषा साहित्यमा सक्रिय व्यक्तिलाई प्रदान गरिने उक्त पुरस्कार अब विस्तारै बोष्टनभित्र र बोष्टन बाहिर गरी दुई व्यक्तित्वलाई सम्मान गर्ने योजना रहेको छ ।

साहित्यकार सुशील नेपाल तथा सुमन नेपालद्धारा स्थापित उक्त पुरस्कारको राशि नगद $251 र सम्मान पत्र छ । पुरस्कार हरेक वर्ष मोतीजयन्तीको सुअवसरमा अनेसास बोष्टनसंग संयुक्त रुपमा कार्यक्रम गरी प्रदान गर्ने पूर्व निर्णय अनुसार यस पटक अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा ज्यूको प्रमुख आतिथ्यमा आउने शनिबार ,09/08/2018 बिहान राजमित्र प्राङ्गणमा बिहान एघार बजे हुने भएको छ ।

यस कार्यक्रमका संयोजक समाजसेवी तथा यस संस्थाका उपाध्यक्ष यम पौडेलका अनुसार कार्यक्रम ठीक समयमा सुरू गरी दुई घन्टामै सकिनेछ र त्यसपछि शुद्ध नेपाली खाना हुनेछ ।

पुनः बोष्टनवासी तथा बोष्टन नजिकका राज्यहरूबाट पाल्नुहुने अतिथिलाई बस्नको समेत ब्यवस्था गरिएको कुरा भएकोले ढुक्कसँग पाल्नुहुन निमन्त्रणा छ । अनेसासका आजीवन सदस्यज्यूहरुलाई प्रमुख अतिथिज्युबाट प्रमाणपत्र र अनेसासको ब्याच प्रदान हुनेभएकोले उपस्थितिका लागि विशेष आग्रह पनि गरिन्छ।

प्रतिक्रिया