आप्रवासी नेपालीको सरोकारलाई ध्यान दिनेछुः भण्डारी
–मधुकर अधिकारी
बाल्टिमोर, २७ कात्तिक । डेमोक्र्याट पार्टीबाट संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले आफ्नो जीतमा अमेरिकाका हरेक राज्यमा बस्दै आएका नेपालीको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
राजनीतिमा १० वर्षदेखि क्रियाशील नेपाली मूलका भण्डारी गत नोभेम्बर ६ मा सम्पन्न निर्वाचनमा विजय हासिल गरेर पहिलो नेपाली अमेरिकी बन्नुभएको छ । भण्डारी अमेरिका आएर नागरिकता लिएको सात वर्षमा नै उक्त पदमा पुग्न सफल हुनुभएको छ ।
रासससँगको कुराकानीका क्रममा भण्डारीले आगामी दिनमा आप्रवासी नेपालीका चासो र सरोकारका विषयमा आवाज उठाइने बताउनुभयो ।
भण्डारीको जीत सम्भव हुनुमा उहाँको निरन्तरको लगाव, कर्मशील छवि र मतदातासँग घुलमिल नै कारक रहेको डा उत्तम गौली बताउनुहुन्छ ।
उक्त डिस्ट्रिकका ८० हजार मतदातामध्ये नेपाली मूलका करीब १०० जनाले मात्र मतदानमा भाग लिएका थिए । गौलीले अगाडि थप्नुभयो, “अमेरिकाको विविधताको मजबुत आधारशिलाका कारण भण्डारीले हाउसमा विधायक भएर सेवा गर्ने मौका पाउनुभएको छ ।”
मेरिल्याण्डमा रहेका राजनीतिक पर्यवेक्षकले नेपालीले गरेको ‘फर्सीको मुन्टाको डिप्लोमेसी’ले पनि काम गरेको बताउँछन् । आफ्ना छिमेकीलाई आफ्नो करेसाबारीमा फलेको तरकारी र फलफूल दिएर आफ्नो बनाउन नेपाली निकै सिपालु देखिएका छन् ।
भण्डारी जिताउ अभियानमा सहभागी तरुण पौडेलले भण्डारीको जीतले अमेरिकामा रहेका नेपालीका लागि एउटा अलग्गै इतिहास रच्न सफल भएको बताउनुभयो । मेरिल्याण्डमा नै बसोबास गर्दै आउनुभएका नेपाल–अमेरिका पत्रकार सङ्घका पूर्वअध्यक्ष गौतम दाहालले भण्डारीको जीतले डायस्पोरामा रहेका नेपालीको धार नै परिवर्तन भएको बताउनुभयो ।
पर्वत जिल्लाको थापाथानामा पिता अम्मरबहादुर र आमा कान्तिकुमारीका कोखबाट विसं २०३४ मा जन्मनुभएका भण्डारी अमेरिकामा सन् २००५ देखि बसोबास गर्दै आउनुभएको छ । उहाँले मतदानको अधिकार सन् २०११ मा पाउनुभएको थियो । –रासस
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया