शनिबार, असोज ९ २०७८
काठमाडौं ११:५७
वासिङटन डिसी 02:12

न्यूयोर्कमा जनसम्पर्क समितिको चियापान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ कार्तिक २७ गते १:११ मा प्रकाशित

न्यूयोर्क,अमेरिका,नोभेम्वर १२ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले न्यूयोर्कमा चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । दशैं,तिहार,नेपाल संवत,छठ पर्व लगायतका मूख्य चाडबाडको अवसरमा शुभकामना आदान-प्रदान गर्न चियापान कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।

मातृपार्टी नेपाली कांग्रेसको परम्परागत चियापान कार्यक्रमलाई अमेरिकामा पनि निरन्तरता दिने गरी यसरी समितिले चियापान र शुभकामना आदान-प्रदान कार्यक्रम गरेको कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका समितिका सभापति आनन्द विष्टले जानकारी दिएका छन् ।


आइतवार आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा न्यूयोर्क वरपर रहेका कांग्रेस र जनसम्पर्क समितिमा आवद्ध सदस्य र अन्य संघ,संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

‘आपसी भेटघाट,शुभकामना आदान-प्रदान र सौहार्द्रता कायम गर्नका लागि समितिले आयोजना गरेको चियापानमा सबैजना आउनु भो’,हामी सहभागी हुनु भएका सबैलाई धन्यवाद दिन चाहन्छौं’समितिका सभापति विष्टले चियापानपछि संक्षिप्त टेलिफोन कुराकानीमा भने ।

चियापानमा सहभागीहरुलाई समितिका सभापति विष्ट,महासचिव मुनिन्द्र नेम्वाङ्ग,समितिका न्यूयोर्क च्याप्टरका पदाधिकारी र सदस्यहरुले स्वागत गरेका थिए । सहभागीहरुलाई धन्यवाद दिने क्रममा महासचिव नेम्वाङ्गले संचालन गरेको संक्षिप्त कार्यक्रममा समितिका सभापति एवं कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य विष्टले समिति अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा बढी सदस्य भएको ठूलो संस्था रहेको भन्दै समितिले अमेरिकामा रहेका नेपालीहरुको हक,हितका लागि निरन्तर काम गरिरहेको चर्चा गर्नुभयो ।

‘विदेशमा रहेका हामी नेपालीहरु मुलुकको हित र सम्वृद्धिका लागि एक हुनुपर्छ,सबैभन्दा ठूलो मुलुक हो,पार्टी र विचारभन्दा ठूलो राष्ट्र हो,त्यसैले हामी सबैले मिलेर हातेमालो गर्दै मुलुकको हितका लागि काम गर्नुपर्छ’ भन्दै विष्टले अमेरिकामा रहेका नेपालीहरु यहाँको मूलधारको राजनीतिमा पनि क्रियाशील हुनु आवश्यक छ भन्नुभयो । विष्टले भन्नुभयो,-‘अब हामी यहाँको मूलधारमा पनि समाहित हुनुपर्छ,विस्तारै नेपालीहरुले पहल गर्दै पनि हुनुहुन्छ,त्यस्ता नेपालीहरुलाई समिति सधैं प्रोत्साहित गर्छ ।’

सभापति विष्टले आपसी मतभेदलाई त्यागेर हातेमालो गरी एकताबद्ध भएर अघि बढ्न सबै पक्षलाई अनुरोध समेत गर्नुभयो । चियापानमा हाल अमेरिका भ्रमणमा रहेका कांग्रेस नेता हरिबोल भट्टराई,कोरियाका लागि नेपाली राजदूत अर्जुनजंगबहादुर सिंह,न्यूयोर्कस्थित महावाणिज्यदूत पुष्प भट्टराई,झापाका कांग्रेस नेता खड्गप्रसाद प्रसाई,समितिका पूर्व संयोजक एवं एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीसी,मृदुला कोइराला,डाक्टर तारा निरौलालगायत स्थानीय संघ,संस्थाका प्रतिनिधि र टेक्सास,बोष्टन,न्यूजर्सी,मेरिल्याण्डलगायतका राज्य र शहरबाट न्यूयोर्क आइपुगेका कांग्रेस सदस्य एवं शुभेच्छुकहरुको सहभागिता थियो ।

सहभागीहरुले समितिले पहिलोपटक यस्तो सभ्य र भव्य कार्यक्रम गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया